के–के कमजोरी भएछ तीनकुने काण्डमा ?

के–के कमजोरी भएछ तीनकुने काण्डमा ?

चैत १५ गतेको तीनकुने काण्डलाई लिएर सामाजिक सञ्जाल र छापाहरूमा दुर्गा प्रसाईंलाई निशाना बनाइएको छ । आमजनसमुदाय वा बुद्धिविलास गर्नेहरूलाई यो घटनाको अन्तर्य वा गहिराइमा पुग्ने कुनै चाहना वा मतलव नै छैन भन्दा हुन्छ । 

दुर्गा प्रसाईं भर्सेज गणतन्त्र

जनयुद्धताका ६ महिना जेल परेका मात्रै होइन, माओवादी सशस्त्र विद्रोहका कमाण्डर प्रचण्डसँग नजिक सम्बन्ध बनाएर कालान्तरमा नेकपा एकीकरणअघि ‘मार्सी चामल’ को प्रयोगवादी सिद्धान्तलाई आफ्नै भान्सामा ज्यूनार गराउने पात्र हुन् । 

सामान्य शिक्षा हासिल गरेका दुर्गा प्रसाईंजस्ता मान्छेहरू कसरी केपी ओली र प्रचण्डजस्ता शक्तिशाली राजनीतिज्ञसँग नजिकिन पुगे ? त्यो अत्यन्तै रहस्यमय र चासोको विषय हो । क्यान्सर रोगबाट पीडित भनिए पनि उनको व्यवहार कुनै सामान्य मान्छेको झैँ लाग्छ । कि त शरीर विज्ञानले भनेझैँ उनमा अस्वाभाविक शारीरिक क्षमता/रोगसँग लड्न सक्ने तागत/क्षमता छ, अन्यथा उनले केही वर्षयता गरेको हर्कत (गतिविधि) हाम्रालागि अस्वाभाविक नै देखिन्छ । गत साल २०८० मंसिर ७ गते पनि यिनैले राजतन्त्र स्थापना र गणतन्त्र अन्त्यको नारा दिँदै बल्खुमा आन्दोलनको शंखनाद गरेका थिए, चैत्र १४ गते निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँग आन्दोलनका विषयमा सल्लाह गरेपश्चात् राजसंस्था स्थापना आन्दोलनका कमाण्डर नवराज सुवेदीलाई तीनकुने मोर्चाको कमाण्ड नदिएर यिनै दुर्गा प्रसाईंलाई अघि सारिएबाटै यसको स्वरूप कस्तो हुनेछ भन्ने सहजै आकलन गर्न सकिन्थ्यो । तर, यो कुराको भेउ नपाउँदा तीनकुने घटनामा सुरक्षा संयन्त्र पूरै कमजोर सावित भएको छ ।

कहाँ चुक्यो प्रहरी ? 

संघीय राजधानी काठमाडाँैको समग्र सुरक्षा जिम्मेवारी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको हुन्छ । र, काठमाडाैँको सुरक्षा प्रबन्ध जिल्ला प्रहरी परिसरको हातमा छ । विगतमा पनि सबै हिसाबले उपयुक्त पात्र छनोट गरेर पठाइन्थ्यो तर यसपटकको छनोट नै निवर्तमान आइजिपी वसन्त कुँवरको सर्वथा गलत र अदूरदर्शी निर्णय सावित भएको छ । यथार्थमा विश्व अधिकारी फिल्ड कमाण्डमा अत्यन्तै कमजोर भएकै कारण २०७९ को आमनिर्वाचनमा धनगढीबाट ५ महिनामै झिकिएर बदलामा सोमेन्द्रसिंह राठौरलाई खटाइएको थियो । रवि र बालेन स्टाइलमा युट्युबर बटुलेर २–४ दिन, टिकटक र फेसबुकमा रमेश खरेल र सर्वेन्द्र खनालपछि सबैभन्दा खतरा अर्थात् सिंघमको अर्को रूप भन्ने व्यापक प्रचारप्रसारबीच आइजिपी वसन्तले एक दिन मुखै फोडेर ‘काममा ध्यान दे है, प्रचार–प्रसारमा रमाउनुभन्दा’ भनेबाट पनि स्वभाव र शैली सजिलै अनुमान लगाउन सकिन्छ ।

माथिल्लो तालुक कार्यालयलाई थाहै नदिएर अपरेसन नाइनको तमाशा उनले कमाण्ड सम्हाल्नेबित्तिकै शुरु भयो, जुन अहिले पनि निरन्तर छ । काठमाडौँँ परिसरको फेसबुक पेज हेर्ने हो भने ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ गर्ने हिसाब देखिन्छ । त्यति मात्र होइन, कहिल्यै काठमाडौँँको कमाण्ड नगरेको आफू र आफ्नो कार्य अधिकृत डिएसपी पनि रोजे । अन्य सुरक्षा निकाय सशस्त्र र राष्ट्रिय अनुसन्धानलाई समेत समन्वयकारी भूमिकासहित परिचालन गर्नुपर्नेमा काठमाडौँका सिडिओ पनि यस घटनामा नराम्रोसँग चुकेका छन् । प्रहरी प्रवक्ताको पत्रकार सम्मेलनमा प्रस्तुत आजसम्म गोप्य राखिएका सूचना निश्चय पनि डरलाग्दा र गम्भीर छन् । २० जना मानिस गोली लागेर घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्, घाइतेको संख्या सयौँ छ । ८६८ राउण्ड अश्रु ग्यास, त्यसैगरी ८१ राउण्ड लाइभ राउण्ड गोली र सर्टगनबाट समेत २०१ राउण्ड गोली चल्नु एकदमै असामान्य अवस्था हो । 

फिल्डमा के–के देखियो ?

तीनकुनेदेखि १०० मी. को दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल छ, ३०० मी. को दूरीमा संघीय संसद छ, आयल निगमको तेल डिपो÷कान्तिपुर र अन्नपूर्ण ग्रुपको कर्पोरेट कार्यालय, माओवादी केन्द्र र एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, सपिङ कम्प्लेक्सलगायत भीडभाड त्यतै छ । उक्त दिन ४–५ हजारको संख्यामा आन्दोलनकारी रहेका थिए भने प्रहरी पनि त्यत्तिकै संख्यामा खटाइएको थियो, अर्थात् स्थिति १–१ थियो, अझ प्रहरी त भीड नियन्त्रणका निम्ति आवश्यक स्रोत–साधनले सुसज्जित थिए । अहिले चारैतिर प्रश्न उठिरहेको छ, यस्तो अवस्थामा पनि त्यहाँ प्रहरीको कमाण्ड, भीड नियन्त्रणमा देखाउनुपर्ने सतर्कता र सिलसिलेवार बल प्रयोग सबैमा प्रहरीको निरीहता र सर्वत्र कमजोरी किन रहन गयो ? 

सो दिनको प्रहरी परिचालनमा न कमाण्ड देखिन्थ्यो न त्यहाँ खटिएकालाई के गर्ने भन्ने पर्याप्त ब्रिफिङ नै ! १ बजे आसपास आन्दोलनकारी ३–४ हजारको संख्यामा जम्मा हुँदै गए, केही संघीय संसदतिर बढ्न खोजे, प्रहरीले रोक्न खोज्दासम्म स्थिति काबुमै थियो तर जव दुर्गा प्रसाईं गाडी हुइँक्याएर मान्छेलाई नै किच्ने गरी अगाडि बढ्दा प्रहरीको काँढेतारवाला ब्यारिकेड थियो, न यस्तो अवस्थामा कसले के गर्ने भन्ने योजना ! जसोतसो त्यो समूहलाई संसदमा पुग्नबाट रोके पनि त्यताबाट डिसपर्स भएको भीडले तीनकुने क्षेत्र वरपर रहेका घरमा ढुंगा बर्साउने, आगो लगाउने, सरकारी गाडी जलाउनेजस्ता विध्वंश मच्चाउन थाल्नासाथ कारबाही गरेको भए बढी क्षति पक्कै पनि हुने थिएन । के यस प्रकारको आन्दोलन काठमाडौँमा पहिलो पटक भएको हो ? तिनमा यस्तै सुरक्षा प्रबन्ध हुन्थ्यो ? ३–४ घण्टासम्म चारदेखि पाँच हजार आन्दोलनकारीले प्रहरीलाई मुसाझैँ खेलाउन पाउँथे ?
 

टिप्पणीहरू