ओली-विन्दाबीच रोचक सवाल जवाफ

ओली-विन्दाबीच रोचक सवाल जवाफ

आफ्नो स्वभाविक बानीविपरित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बनको कारवाही भोगिरहेकी स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेसँग लामो कुराकानी गर्नुभएको छ । 

हिजो आफैँले फोन गरेर बोलाउनुभएका प्रम आज दिउँसो दुईदेखि तीन बजेसम्म पाण्डेसँग बालुवाटारमा गफिनुभएको हो । एक घण्टा लामो एकल भेट आपसी अविश्वास हटाउनेमा केन्द्रित रहेको र अध्यक्ष ओलीले निलम्बन कार्यान्वयनमा नगएको संकेत गर्दै पार्टीमा सक्रिय रहन आग्रह गरेको बताइएको छ ।

पाण्डेसहित तत्कालीन पूर्वउपाध्यक्ष भीमबहादुर रावल र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाले भाटभटेनी सुपरस्टोरका साहु मीनबहादुर गुरुङसँग दान लिएर पार्टी कार्यालय भवन बनाउने निर्णयको फेसबुकबाट विरोध गरेका थिए । त्यसलाई पार्टी हितविपरितको कदम ठहर्याउँदै ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले भीमबहादुरलाई पार्टीबाट निकाल्ने अनि नेतृद्वयलाई ६ महिना निलम्बनमा राख्ने निर्णय गरेको थियो ।

दुई दलीय प्रणालीको व्याख्या गर्दै हिँडेका शंकरले आत्मालोचना गर्न पर्छ कि पर्दैन ? भन्ने पाण्डेको प्रश्नमा भने ओलीले जवाफ नदिएको बताइएको छ । 

सचिवालयका बहुमत सदस्य कारवाहीको विपक्षमा रहँदा रहँदै ओली, शंकर पोखरेल र विष्णु रिमालको जोडबलमा गरिएको कारवाहीको औपचारिक पत्र अहिलेसम्म दिइएको छैन । आजको बालुवाटार भेटमा पाण्डेले यसबारे कुरा राख्दा अध्यक्ष ओलीले प्रष्ट जवाफ नदिएको बताइएको छ । 

कम्युनिष्ट पार्टीको सचिवालय बैठकको निर्णय कार्यावन्यनमा देखिएको यस्तो गाईजात्रे पाराबारे नबोल्नुभएका उहाँले भन्नुभयो, 'जे-जे भयो भयो अब पार्टीविरुद्ध नलाग्नुस् !' जवाफमा पाण्डेले कहिल्यै पनि पार्टी हितविरुद्ध नरहेको बताउँदै जग्गा-दान प्रकरणमा आफ्नो अडानको बचाऊ गरेको उनीनिकट स्रोतको भनाई छ । 

अध्यक्ष ओलीले दान लिएर पार्टी कार्यालय भवन बनाउने निर्णयलाई अन्यथा लिन नहुनेमा जोडसमेत दिनुभयो । 'पहिला दुई-चार जनाले बनाइदिएका थिए,अहिले एक जनाले बनाइदिन्छु भनेका छन् त के बिग्रियो ?', अध्यक्षको यस्तो भनाईमा पाण्डेले नेता-कार्यकर्ताको अपनत्व रहनेगरी सबैले मिलेर बनाउनुपर्ने धारणा राखेकी थिइन् । 

निलम्बनको पत्र नदिएको प्रसङ्गसँगै पाण्डेले महासचिव शंकर पोखरेलको कार्यशैलीमाथि पनि प्रश्न उठाइन् । 'तपाईंको महासचिव यस्तै छन्' भन्दा ओलीले 'खै कस्तो कार्यालय हो,के विधि हो,के प्रक्रिया हो' भन्दै महासचिवमाथि दोष थोपर्नुभयो । 

दुई दलीय प्रणालीको व्याख्या गर्दै हिँडेका शंकरले आत्मालोचना गर्न पर्छ कि पर्दैन ? भन्ने पाण्डेको प्रश्नमा भने ओलीले जवाफ नदिएको बताइएको छ ।

टिप्पणीहरू