माघमै भएको थियो शिक्षा ऐन ल्याउन नसके पदबाट राजीनामा दिने उद्घोष
विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले आन्दोलन चर्काएको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामा आएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएको र साँझ बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको राजीनामा स्वीकृत गर्ने अनुमान छ ।
नेकपा (एमाले)को कोटाबाट मन्त्री बन्नुभएकी भट्टराईले गत माघ १७ गते नै शिक्षा ऐन ल्याउन नसके पदबाट राजीनामा दिने उद्घोष गर्नुभएको थियो । त्यतिबेला पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभएको थियो, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु, विधेयक ल्याउने भनेर बसेको हो, सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ ।’
विश्वविद्यालयकी पूर्व प्राध्यापक भट्टराईमाथि ‘केशरजंग बराल फ्याक्टर’ले पनि दबाब सिर्जना गरेको जानकारहरु बताउँछन् । गत साउनमा मन्त्रीको सपथ लिएपछि उहाँले काम गर्न नसके पद छाड्ने बताउनुभएको थियो । ‘म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको होइन। कमाउँछु भनेर बसेको होइन । समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु ।’
टिप्पणीहरू