पिएहरूबाट जोगाऊँ गणतन्त्रलाई

पिएहरूबाट जोगाऊँ गणतन्त्रलाई

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालयमा हाजिर हुनबाट रोक्न उद्यत बालेन साहका स्वकीय सचिव भूपदेव साहले उहाँविरुद्ध अख्तियारमा उजुरी परेको छ, भोलि जेल जान सक्नुहुन्छ । उहाँलाई आज समर्थन गर्ने वडाध्यक्षलगायत सबै जनप्रतिनिधि सँगै सती जान तयार हो ? भन्दै थर्काए । कोहीविरुद्ध उजुरी पर्नेबित्तिकै ऊ दोषी सावित हुँदैन भन्ने कुराको सामान्य ज्ञानसमेत नभएका पात्रलाई संघीय राजधानीमा सेनापति र मुख्यसचिव सरहका मेयरको पिए पाउनु काठमाडौँवासीका निम्ति गर्व या विष्मात् कस्तो विषय होला ! उनकै भनाइलाई आधार मान्ने हो भने बालेन साहविरुद्ध पनि अख्तियारमा टन्नै उजुरी परेको छ ।

अरु त के कुरा नेपालका ९० प्रतिशत कर्मचारीविरुद्ध यस्ता उजुरीको चाङ लागेको छ । अभियोग, अनुसन्धान र अदालतबाट दोषी ठहर भएपछि मात्रै कोही पनि दोषी वा अपराधी करार हुने हो । उजुर परेको वा मुद्दा लागेकै भरमा कसैलाई भ्रष्टाचारी, अपराधी, हत्यारालगायत विशेषण झुण्ड्याउन वा त्यस्ता शब्द प्रयोग गर्न पाइँदैन ।

गुरागाइँलाई बालेनका पिएले पहिले नै कानुन हातमा लिएर, नपाएको पगरी गुथेर जुन रुपमा तवरले रोक्न खोजे त्यो उनको नादानीपन नै हो । बालेनप्रतिको अन्धभक्ति नै हो । उनले कुतर्कका बलमा नुनको सोझो गरेकै हुन् । अर्कोतर्फ बालेन आफैंले बनाएको छानबिन समितिले गुरागाइँविरुद्ध रिपोर्ट दिन सकेको छैन । यस्तो बेला गुरागाइँलाई ठाडै अपराधी करार गरी हाजिर हुनबाट रोक्ने प्रयत्न आफैंमा गैरकानुनी कदम हो ।

संविधानतः स्थानीय तहमा कार्यकारी प्रमुख पठाउने काम संघीय सरकारले गर्छ । जबसम्म स्थानीय तहको निजामती सेवा ऐन बनेर आउँदैन तबसम्म ७५३ वटै पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमासंघीय सरकारले नै पठाउने हो । प्रदेश लोकसेवा आयोग गठन गरी उसैले जाँच लिएर पठाएका कर्मचारीलाई पालिकाहरूले जिम्मेवारी दिन सक्छन् । तर यस्तो जनशक्ति तथा पूर्वाधार नभएको, संक्रमणकालीन अवस्थामा भने संघीय सरकार नै सर्वेसर्वा मानिन्छ ।

त्यसरी खटाइएको अधिकृतलाई म हाजिर गराउँदिन भन्ने अधिकार स्थानीय तहलाई छैन । कुनै गाउँपालिका वा नगरप्रमुखले म फलानोलाई हाजिर गराउँछु वा गराउँदिन भन्न थाल्ने हो भने कानुनी अराजकता फैलने खतरा हुन्छ । यसले राज्यलाई ‘स्टेट फेलियर’ अर्थात् असफल राज्यतर्फ लैजान्छ । राज्य असफल बनाउनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने दिशातर्फ अघि बढ्नु हो । अख्तियारमा उजुरी जो–कोहीविरुद्ध पनि पर्न सक्छ । जबसम्म दोषी प्रमाणित हुँदैन वा निलम्बित हुँदैन ऊ नेपाल सरकारको अधिकारप्राप्त अफिसर हो जसलाई रोक्ने अधिकार कसैलाई पनि हुँदैन । 

बालेनको अर्घेल्याइँ र चतुर्‍याइँ कहाँसम्म भने पिएलाई पत्र लेख्न लगाउँछन्, आफू हस्ताक्षर गर्दैनन् । कानुनले कुनै पनि जनप्रतिनिधि चाहे त्यो प्रधानमन्त्रीकै किन नहोस्, उनीहरूका पर्सनल असिस्टेन्ट (पिए)लाई चिन्दैन । यस्तो अवस्थामा निजी सहायकले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनबाट रोक्न खोज्नु बलमिच्याइँबाहेक अर्थोक केही हुनै सक्दैन । यहाँनेर पिएले पिएको अर्थ नबुझेको देखिन्छ । उनको त मेयरलाई भेट्न आउने–जानेबारे जानकारी लिने र समय मिलाउने मात्रै हो । ऊसँग कानुनी रूपमा मन्त्रालय वा पालिकाको काम गर्ने, पत्र लेख्ने लेखाउने वा कसैलाई काममा पठाउने वा अह्राउने कुनै अधिकार हुँदैन ।

जनप्रतिनिधिले बनाएको सचिवालयले कामकुरामा समन्यव गर्ने तर पत्राचारलगायत काम सम्बन्धित विभाग, महाशाखा वा शाखा प्रमुखहरूले गर्नुपर्ने कानुनी व्यवस्था छ । सदर बदरको काम भने मन्त्री, मेयर वा उपमेयर र अध्यक्ष वा उपाध्यक्ष आफैँले गर्ने हो । पिएको काम र हैसियत चिठीपत्र काट्ने र हस्ताक्षर गर्ने होइन । यो काम कसैले गरेको अवस्थामा अख्तियार दुरूपयोग ठहरिन्छ । पाउँदै नपाएको अधिकार प्रयोग गर्नेलाई अख्तियारले गर्ने उपचार के हो ? नपाएको पगरी गुथेर चालु सबै खाले पिएबाट सचेत हुन जरुरी छ ।

यस्ता पिए कामलाई सहज हैन जटिल बनाउन र व्यवस्थाप्रति नै वितृष्णा जगाउन सहायकसिद्ध हुन सक्छन् । तसर्थ पिए नियुक्ति गर्नुअघि तिनीहरूलाई प्रशिक्षित र अभिमुखीकरण गर्न आवश्यक छ किनकि उसमाथि जनताको कर र राज्यको भार थपिएको हुन्छ । त्यसो गर्न सकेमा मात्रै पिएहरूले मन्त्री, मेयर वा अध्यक्षहरूलाई उकास्नेभन्दा कानुनसम्मत कामका लागि प्रेरित गर्न सहयोग पुग्नेछ । 

टिप्पणीहरू