गाउँपालिका अध्यक्षद्वारा बलात्कृतको गोपनीयता भंग

गाउँपालिका अध्यक्षद्वारा बलात्कृतको गोपनीयता भंग

सामुहिक बलात्कार घटनामा मुछिएका कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बलात्कृत युवतीको गोपनीयता भंग गरेका छन् । उनले समाचारको विषयमा गाउँपालिका कार्यालयमै पत्रकार सम्मेलन गरी युवतीको विवरण मात्रै होइन ठेगाना सम्म खुलाइदिएका छन् । अस्ति बुधवार कार्यकक्षमै पत्रकार सम्मेलन गरी घटना आरोपीसमेत रहेका पालिका अध्यक्ष चौधरीले फेसबुक लाइभ तथा विभिन्न मिडियाअगाडि नै युवतीका बाबु र उनको नाम सार्वजनिक गरेका थिए । 

राजनीतिक दवाबकै कारण फागुन २५ गते ईलाका प्रहरी कार्यालय,बुटवलमा दर्ता भएको मुद्धा प्रक्रिया रोकिएर पीडित बनेकी युवतीको सम्पूर्ण विवरण सार्वजनिक भएपछि उनी थप हिंसामा परेकी छन् । “मलाई न्याय दिनु त कहाँ हो कहाँ थप बदनाम गरिरहेका छन्” पीडित भैरहवा १५ ले भनिन् । आफूहरुको नाम सामाजिक सन्जालभरि आइरहेको र विभिन्न टिकाटिप्पणीले विक्षिप्त बनेको बताइन् । पीडितको गोपनीयता भंग भएपछि उनका बाबुले बिहिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी लिएर गएको बताएका थिए । “भैरहवाले जाहेरी लिन मानेन,कपिलवस्तु पठायो । कपिलवस्तुले पनि लिन नमान्दा शुक्रबार हुलाकमार्फत पठाएको छु” उनले भने । न्यायिक कानूनी लडाइँमा आफू र आफ्नी छोरीलाई विभिन्न धाकधम्की आइरहेको समेत उनले बताए ।“दोषीलाई सजाय र पीडितले न्याय पाइएन भने हामी घर छोडेर हिंड्नुपर्छ” उनले आँशु झार्दै भने । 

पीडित बालिकाका अधिवक्ता शैलेन्द्र अम्बेडकर सार्वजनिक पद धारण गरेका र अझ घटनामा आरोपी रहेका पालिका अध्यक्षले पीडितको विवरण सार्वजनिक गर्न नमिल्ने बताउँछन् । बलात्कार मामुछिएका पालिका अध्यक्ष चौधरी माथि पीडितको गोपनीयता भंग गरेको कसुरमा अर्को मुद्धा दर्ता गरिने पनि उनैले बताए । उनीमाथि फौजदारी कसुर संहिता २०७४ अनुसार धारा २२६,२२७ र २२८ अन्तर्गत १ बर्षसम्म कैद वा १० हजारसम्म जरिवाना हुन सक्छ । 

प्रहरीले समयमै मुद्धा अनुसन्धान प्रक्रिया अघि नबढाएको र आरोपीलाई अनुसन्धानको दायरामा नल्याउँदा आफूहरु थप असुरक्षित बन्दै गएको पीडित परिवारले बताएको छ । पीडकका आफन्तहरुले दिनहुँ मुद्धा फिर्ता लिन डर धाक धम्की दिइरहेको युवतीका बाबुले बताए । जाहेरी सनाखत गरेको १ महिना नाघिसके पनि प्रहरीले दुबै आरोपीलाई पक्राउ गरेको छैन । यता पीडक कमलेशशरण चौधरीले आफू सरकारी वकिल कार्यालयबाट मुद्धा नचल्ने गरी छुट्ने दाबी गर्दै हिंडेको पीडित युवतीको आरोप छ । यससम्बन्धमा पालिका अध्यक्ष कमलेशशरण चौधरीले आफूलाई राजनीतिक हतकण्डा लगाएर फसाउन खोजिएको आरोप लगाउँदै आएका छन् । पत्रकार सम्मेलनको क्रममा झुक्किएर नाम निस्किएको दाबी गर्दै आफू निर्दोष रहेको दाबीसमेत गरेका छन् ।

टिप्पणीहरू