दुर्गा प्रसाईंलाई मेची पुलबाट कसरी नेपाल छिराइयो ?

राजसंस्था पुनर्स्थापनाको नाममा बैंकको ऋण मिनाहा अभियान चलाउँदै हिँडेका पात्र हुन् दुर्गा प्रसाईं । दुई वर्ष अघिसम्म नेकपा एमालेको केन्द्रीय सदस्य रहेका उनी त्यसपछि 'नागरिक बचाऊ महाभियान' को ब्यानरअन्तर्गत राजा फर्काउने अभियानमा लागे । उनै प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहको इशारामा चैत १४ गते बिहान ११ बजे निर्मल निवास छिरी १२:३० बजे राजा फर्काउने आन्दोलनको कमाण्डर बनेर निस्किए । र, त्यसको भोलिपल्ट तीनकुनेमा हिंसा मच्चाएर भागेका उनी १५ दिनपछि प्रहरी हिरासतमा पुगेका छन् ।
दुई जनाको ज्यान जानेगरी भएको तीनकुनेको हिंसात्मक प्रदर्शनपछि प्रहरीको आँखा छल्दै भागेर पूर्वी नाका काकडभिट्टा हुँदै भारत छिरेका उनी हिजोराति आसाममा पक्राउ परेका थिए । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले नियन्त्रणमा लिई आज सोही नाका हुँदै काठमाडौँ ल्याएको हो।
सुरक्षा निकायलाई छकाउँदै सीमापारी पुगेका प्रसाईं आखिर कसरी पक्राउ परे ? उच्च प्रहरी स्रोतका अनुसार भारतीय प्रहरीको विशेष सहयोग र समन्वयमा यो सम्भव भएको हो । तीनकुनेमै प्रहरी नियन्त्रणमा रहेका उनी छुटेपछि आलोचना खेप्दै आएको प्रहरीले विशेष रणनीति बनाएको थियो । सो रणनीतिअनुरुप विशेष ब्युरो र उपत्यका अपराध अनुसन्धान महाशाखाका पाँच जना आसाम पुगेका थिए । त्यसपछि आफू प्रहरी घेरामा परेको बुझेका प्रसाईंले हिजो त्यहाँको प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रचारसमेत गराए ।
हिजो राति नियन्त्रणमा परेका उनलाई भारतीय प्रहरीले रातभर कुदाएर बिहान ९ बजे पूर्वी नाका ल्याइपुर्याएको थियो । काठमाडौँबाट गएको विशेष ब्युरोको टोली बिहानैदेखि मेची पुलपारी तम्तयार थियो ।काकडभिट्टाका डिएसपी राजन लामा नेतृत्वको अर्को एउटा टोली नेपालपट्टि कुरेर बसेको थियो ।
यो अप्रेशनमा खटिएका एक प्रहरी अधिकृतका अनुसार नेपाली समय ठीक ९ बजे भारतीय प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेपछि डिएसपी लामाको नेतृत्वमा नेपाल ल्याउने प्रक्रिया अघि बढाईयो । शुरुमा पक्राउ पर्दा प्रसाईंले कुनै प्रतिक्रिया जनाएनन् । काकडभिट्टामा पत्रकार र आफन्त देखेपछि पनि आवेशमा नआएका उनी भद्रपुरमा जहाज चढाउने बेला भने एकछिन कुर्लिएका थिए ।
प्रहरीका अनुसार केहीबेर फ्लाइट डिले भएपछि प्रहरीले भित्रै सुरक्षित राखेको थियो । तर,विमान चढाउने बेला भने पत्रकारको हुल देखेर हौसिएका प्रसाई कराउन थालेपछि डिएसपी लामाले लतार्दै जहाजसम्म पुर्याए । आफू पक्राउ परेको नभई गिरफ्तारी दिएको प्रष्टीकरण दिएका उनले 'म डराएको छैन,तस्करविरुध्द लड्छु' भन्दै थिए । तर,प्रहरीले तानेर जहाजसम्म पुर्याएको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
"हिजो राति नियन्त्रणमा परेका उनलाई भारतीय प्रहरीले रातभर कुदाएर बिहान ९ बजे पूर्वी नाका ल्याइपुर्याएको थियो । काठमाडौँबाट गएको विशेष ब्युरोको टोली बिहानैदेखि मेची पुलपारी तम्तयार थियो ।काकडभिट्टाका डिएसपी राजन लामा नेतृत्वको अर्को एउटा टोली नेपालपट्टि कुरेर बसेको थियो ।"
प्रसाईं पक्राउ परेको खबर हिजै बाहिर आएको थियो । तर,प्रहरी मुख्यालयले तत्काल वक्तव्य निकालेर त्यसको खण्डन गर्यो । पहिले नै जानकारी गराउँदा युट्युबरहरुको भीड लाग्ने भएकाले सुटुक्क काठमाडौँ ल्याउने प्रहरीको योजना थियो । तर,प्रसाईंको तर्फबाट परिवारका सदस्यले फेसबुकमा लेखेपछि प्रहरीले सोचेजस्तो भएन ।
भारतीय प्रहरीबाट बुझेर काकडभिट्टा ल्याईपुर्याउँदा पत्रकार र परिवारका सदस्य गरी ५० जना भेला भएका थिए । तर,त्यहाँ कुनै अवरोधको प्रयास भने भएन । काठमाडौँ ल्याएपछि पनि विमानस्थल बाहिर युट्युबरको घुइँचो लागेको थियो । तर,प्रहरीले उनीहरुलाई छल्दै बैकल्पिक मार्गबाट बाहिर निकाल्यो । प्रसाईंलाई लिन रन-वेको छेउमै पुगेको प्रहरीको भ्यान आयल निगमको गेटबाट निस्किएको थियो ।
विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसरको हिरासतमा पुर्याइएका प्रसाईंलाई केहीबेरमै म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यहाँबाट जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
राज्यद्रोहविरुध्दको कसुर र संगठित अपराधको कसुरमा अदालतबाट म्याद थप भएकोमा आपराधिक उपद्रो र ज्यान केशमा पनि मुद्दा चलाउनेगरी अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू