भारत भ्रमणको कुरा आउँदा प्रधानमन्त्री भरङ्ग
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण लगभग टरेको छ । झापा पुगेर ‘अब तुरुन्तै भारत जाँदैछु’ भन्ने घोषणा गरेका प्रधानमन्त्री अहिलेसम्म पनि निम्ता नआएपछि त्यो विषय आउनासाथ निकै आक्रोशित बन्ने र अरूलाई थर्काउने चरणमा पुगेका छन् । कसैले ‘भारत भ्रमणबारे के हुँदैछ ?’ भनेर प्रश्न गरेको खण्डमा आफूलाई जिस्क्याएको रूपमा लिन थालेको एमाले सचिवालयकै एक सदस्यले बताए । स्रोतका अनुसार हालै सम्पन्न सचिवालय बैठकमा त्यस्तै भएको थियो ।
ओलीको किचेन क्याबिनेटका सदस्य भनेर चिनिनेहरूले लगभग भारत भ्रमण टरेको भन्न थालेपछि त्यसप्रति सबैको चासो छ । जसबारे प्रश्न उठ्दा बैठकमा ओलीले भनेका थिए, ‘यसलाई किन ठूलो विषय बनाउँदै हुनुहुन्छ ? बोलाए गइन्छ, नत्र नजाँदाचाहिँ के हुन्छ ?’ बैठकमा सचिव रघुवीर महासेठले ओलीलाई प्रश्न गरेका थिए, ‘खासमा भारत भ्रमणबारे के हुँदैछ ? राजन भट्टराई भारतको निम्ता नआई प्रधानमन्त्रीले जान्छु भन्नुहुन्छ र ? निम्ता आएरै त तयारी शुरु गरेको हो नि भन्दै अन्तर्वार्ता दिनुहुन्छ । पार्टीको विदेश विभाग प्रमुख म । मलाई नै मानिसहरूले सोध्छन् । अनि मैले यसबारे कुराकानी बुझ्न खोज्दा तपाईं फोन उठाउनुहुन्न । भेट पनि हुँदैन । के जवाफ दिने ? मलाई यसरी किन कार्टुन बनाउनुहुन्छ ?’
बाग्मती इञ्चार्ज राजन भट्टराईले ऋषि धमलालाई रेडियो अन्तर्वार्ता दिँदै भारतबाट निम्ता आइसकेको हुनाले प्रधानमन्त्री तयारीमा लाग्नुभएको बताएका थिए । त्यसैलाई समाचार बनाएर कतिपय अनलाइनले निम्ता आइसकेको समेत लेख्न भ्याए । यसरी उत्पन्न अन्योल र अस्पष्टताबारे महासेठले सोधेको प्रश्नमा ओलीको जवाफ थियो, ‘मलाई सोध्नुस् न किन राजन भट्टराईको कुरा गर्नुहुन्छ ? तपाईंले सोधेको बताइदिने गरेकै छु । अरू–अरू कुरा त भेटमा सोध्नुहुन्छ । यसबारे चाहिँ मलाई नै सिधै किन नसोध्नुभएको ? कुरा के हो भने निम्ता आएको छैन । आयो भने गइन्छ, नत्र मरिहत्ते गर्नु जरुरी छैन ।’
स्रोतका अनुसार एमाले सचिवालय बैठकमा केपी ओलीले प्रदीप ज्ञवालीलाई चाहिँ निकै ठुँग्ने गरेका छन् । एक जना सचिवका अनुसार ज्ञवाली एमालेभित्र तर्कसंगत कुरा गर्छन् । उनी ओलीका बहुलठ्ठी प्रस्ताव र निर्णयहरूलाई विवेकहीन बनेर स्वीकार गर्दैनन् । ओलीले संसद विघटन गर्ने प्रस्ताव क्याबिनेटमा राखेका बेला परराष्ट्रमन्त्रीको हैसियतमा रहेका उनले त्यसो गर्न नहुने अडान लिएका थिए । उनलाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले समर्थन गरेको त्यसबेलाका अन्य मन्त्रीहरू बताउँछन् । संसद विघटनको विषयमा उनीहरूबीचको मतभेद जारी नै छ । त्यसो त ओलीले त्यसैबेला पनि उनलाई निकै अपमानित गरेका थिए । इ–पासपोर्टसम्बन्धी एउटा फाइल त क्याबिनेट बैठकमा हुत्याइ नै दिए । जसलाई तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीले भुइँबाट टिपेर सम्हाल्नुपरेको थियो ।
प्रदीप ज्ञवालीको अरू नेताभन्दा फरक सोच हुनुको कारण के हो भने उनी राष्ट्रव्यापी रूपमा भ्रमण गर्ने र कार्यकर्ताको मनोभावनालाई बोकेर हिँड्ने व्यक्तिका रूपमा चिनिन्छन् । अरू नेताहरू भने ‘कमरेड, ठीक छ । राम्रो छ । सही छ । सब तपाईंको पक्षमा छन् । नेता–कार्यकर्ता सबै खुशी छन् ।’ भन्ने जस्ता रिपोर्टिङ गर्छन् । जबकि प्रदीप ज्ञवाली स्थानीय र जिल्लास्तरका नेता–कार्यकर्ताको भावना यस्तो छ भनेर जे हो त्यही सुनाउने गर्छन् । त्यो सत्य ओलीलाई पाच्य नहुँदा उनीमाथि पटकपटक जाइलाग्ने र कर्के नजरले हेर्ने गरेको कतिपय नेताको बुझाइ छ ।
उता, विद्या भण्डारीको दुई साताअघि सम्पन्न पोखरा भ्रमणका बेला त्यहाँका स्थानीय नेता–कार्यकर्ताले उनलाई ‘अब अघि आउनुपर्यो । बढ्नुपर्यो । हामी साथ दिन्छौं’ भन्दै उत्साहित बनाउन थालेको बुझेपछि खगराज अधिकारीले उनी बसेको होटलको लबीमा नै डेरा जमाएको नेताहरू बताउँछन् । उनी काठमाडौँ फर्किएपछि ओलीले ‘जे गर्ने मिलेर गरौँला, अरूका कुरा धेरै सुन्न भएन । हामीचाहिँ सल्लाहमा अगाडि बढ्नुपर्छ ।’ भन्दै थामथुम पारेको र यदि पार्टीमा सक्रिय भूमिकामा ल्याउने वा अगाडि बढाउने हुँदा पनि आफैंले त्यसका लागि वातावरण तयार गर्ने सांकेतिक आश्वासन दिएको भण्डारीनिकट स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू