घण्टेका बागी मुकुलका कुराले फेरि नयाँ तरङ्ग

घण्टेका बागी मुकुलका कुराले फेरि नयाँ तरङ्ग
सुन्नुहोस्

पार्टीबाट निकालिएका डाक्टर मुकुल ढकालको एउटा अभिव्यक्तिले रास्वपाभित्र तरंग ल्याएको छ । चार सांसदलाई प्रयोग गरेर आफूले चाहे पार्टी फुटाउनसक्ने भनी उनले एक साताअघि दावी गरेका थिए । चार सांसद को हुन् भन्ने कुराले रास्वपामा शंका-उपशंका हुन थालेको हो । 

कार्यवाहक सभापति डिपी अर्यालले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, कार्यवाहक प्रवक्ता मनिष झालगायतका नेताहरुलाई गोप्य रुपमा शंका लागेका सांसदमाथि निगरानी गर्न निर्देशन दिएको बुझिएको छ । समाचार स्रोतका अनुसार सांसदहरु चन्दा कार्की, अशोककुमार चौधरी,विनिता कठायत र निशा डाँगी निगरानीमा छन् । 

विगतमा महामन्त्री निकट भनिएका यी चारै जना समानुपातिक सांसद हुन् । कार्की,कठायत र डाँगी खसआर्य तथा चौधरी थारु कलस्टरबाट समानुपातिकको बन्दसूचीमा परेका थिए । ढकालकै जोडबलमा उनीहरुको नाम सिफारिस गरिएको रास्वपाका नेताहरु बताउँछन् । 

सांसद कार्की ढकालकी शिक्षिका हुन् भने डाँगी पूर्वकर्मचारी । ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने पार्टीको निर्णयमा फरक मत राख्ने एकमात्र सदस्य थिइन् डाँगी । छिमेकी जिल्लावासी चौधरी चैं रास्वपा अस्तित्वमा आउनु अघिदेखि नै निकट थिए । उनीहरुबीच अहिले पनि परस्पर सम्बन्ध रहेको बताइन्छ ।

ढकालले खुलमखुला आफूसँग चार जना सांसद रहेको र केहीसँग संवाद भइरहेको ठोकुवा गरेपछि नेताहरु शिव नेपाली र लक्ष्मी तिवारी पनि निगरानीमा शुरु भएको बताइएको छ । 

कठायत भने सभापति रवि लामिछानेकी पूर्वकर्मचारी हुन् । ग्यालेक्सी टिभीमा कार्यरत रहँदा उनी सँगै राजनीतिमा लागेकी थिइन् । लामिछानेले नै उनलाई कर्णालीको प्रतिनिधित्व हुने भन्दै समानुपातिक सांसद बनाएका थिए । तर, पछिल्लो समय उनले गुट फेरेको स्रोतको दावी छ । 

ढकालले खुलमखुला आफूसँग चार जना सांसद रहेको र केहीसँग संवाद भइरहेको ठोकुवा गरेपछि नेताहरु शिव नेपाली र लक्ष्मी तिवारी पनि निगरानीमा शुरु भएको बताइएको छ । ‘उतिबेला समानुपातिक सूची बनाउँदा उहाँ (ढकाल)ले नै सिफारिस गरेका साथीहरु अहिले पार्टीमा हुनुहुन्छ’, स्रोतले सुनायो, ‘त्यही व्यक्तिले पार्टी फुटाउन सक्ने शक्ति छ भनिए पछि नेतृत्व पंक्ति केही डिस्टर्ब भएको हाे ।’

ढकालको अभिव्यक्तिबारे गत बुधबार कास्की प्रहरीको हिरासतमै पुगेर सभापति लामिछानेलाई पनि जानकारी गराइएको पार्टीका एक नेताले बताए । लामिछानेले नै कार्की, चौधरी, डाँगी र कठायतको नाम लिएर आशंका गरेपछि कार्यवाहक सभापति अर्यालले निगरानी राख्न निर्देशन दिएको ती नेताको भनाई छ । 

‘बिहीबार वा शुक्रबारतिर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला थियो’, उनले भने, ‘त्यसको ५/६ दिनअघि उहाँ (ढकाल)ले कन्फिडेन्सका साथ चार जना सांसद आफूसँग भएको धारणा राख्नुभयाे । त्यसले अत्तालिनु स्वभाविक हो, तर त्यो भएन ।’

चार सांसद ढकालसँग निरन्तर सम्पर्कमा रहेको सूचना पाएपछि अर्यालले निगरानी जारी राख्न भनेको बताइएको छ ।

टिप्पणीहरू