आफ्नै मुद्दामा चौधरीको हार
विवादास्पद व्यापारी तथा कांग्रेस सांसद विनोद चौधरीको ‘चौधरी ग्रुप’ आफैँले हालेको मुद्दा हारेको छ । ‘वाइवाइ’ चाउचाउविरुद्ध फेसबुकमा स्ट्याटस लेखेको आधारमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गर्दै आठ महिनाअगाडि दायर भएको मुद्दामा चितवन जिल्ला अदालतले हालै दाबी नपुग्ने आदेश गरेको हो ।
न्यायाधीश केदारनाथ पौडेलको इजलासले काठमाडौं महानगरपालिकाको टोलीले गत वर्ष अनुगमनका क्रममा ‘वाइवाइ’ चाउचाउमा मानिसलाई क्यान्सर हुन सक्ने घातक रसायन ब्याच नम्बर ६० जिएमआरएस २० एआर वाइएल २३ सिएचआइ २०८० मा एसिड भ्यालु अत्यधिक पाइएको भनी २ लाख जरिवाना तिराइएको प्रमाणसमेतका आधारमा चौधरीलाई हराइदिएको हो ।
गुणस्तर परीक्षणमा फेल खाएपछि महानगरले सो ब्याचको सबै चाउचाउ बजारबाट फिर्ता लिन निर्देशन दिनुका साथै लाखौं रुपैयाँ जरिवाना पनि तिराएसँगै विभिन्न स्थानीय पालिकाले त्यसको किनबेचमा रोक लगाएका थिए ।
महानगरको कारबाहीमा परेको ‘वाइवाइ’ विरुद्ध चितवनको भरतपुर महानगरपालिका–१६, फुर्तिचोक बस्ने २५ वर्षीय तेजेन्द्र पौडेलले फेसबुकमा एउटा स्ट्याटस । गत वैशाख २१ गते ‘बाइबाइ ! कसैले नखानु है अब !’ भन्दै भिडियो सन्देश बनाएर पोष्ट गरेबापत सिजी फुड्स नेपाल लिमिटेडकी अख्तियारप्राप्त मन्दिरा गौतमले जेठ ८ गते जिल्ला अदालतमा गाली–बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।
दर्ता नम्बर ०८०–सी४–०७२० भएको मुद्दामा यही आइतबार अदालतले फैसला सुनाएको हो । मेगा जनरल सप्लायर्स नामक मोबाइल पसल सञ्चालन गरी बसेका तेजेन्द्र मुद्दा र चौधरीहरुको पटके धाकधम्कीका कारण डिप्रेशनमा समेत पुगेका थिए । अदालत धाइराख्नुपर्ने भएकाले पसल पनि बन्द गर्नुपरेको उनले बताए ।
हाल विदेश जाने तयारीमा रहेका उनले जनआस्थासँग कुराकानी गर्दै भने, ‘यो मुद्दाले साह्रै तनाव दियो । डिप्रेशनमा पनि गएँ । पसल चलाउनै सकिनँ । अदालतले चौधरी ग्रुपको दाबी नपुग्ने ठहर गरेर ममाथि न्याय गरेको छ ।’
टिप्पणीहरू