नेतामाथि बहिनी बलात्कारको आरोप
कांग्रेस नेता एवम् पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही यतिबेला कर्णालीका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट गर्दै हिँडेका छन् । वाइडबडी जहाज खरिद प्रकरणमा अदालतबाट सफाइपछि गृहजिल्ला हुम्लाबाट शुरु भएको शाहीको स्वागतको लस्कर जाजरकोट, रुकुम पश्चिम हुँदै सल्यानसम्म पुगेको छ । यही लस्करमा मिसिएका छन् केन्द्रीय सदस्य मानबहादुर नेपाली । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका निवासी नेपाली गृहजिल्ला आउँदा भने कार्यकर्ता र आफन्तबाटै बहिष्कृत हुनुपरेको छ ।
शनिबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसँगै गृह नगर आठबिसकोट पुगेपछि उनलाई आफन्त र कार्यकर्ताले गरेको सत्तोसराप यतिबेला रुकुममा भाइरल बनेको छ । राष्ट्रिय दलित आयोगको पूर्वअध्यक्षसमेत रहेका मानबहादुर नेपालीकै बहिनी–ज्वाइँ यज्ञबहादुर परियारले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो जेठान अन्तर्राष्ट्रिय दलाल र मानव तस्कर भएको भन्दै गाली गरेका छन् । उनले विदेश पठाइदिने बहानामा आफूलगायत दर्जनौं युवाको लाखौँ रकम कुम्ल्याएर घर न घाटको बनाएको जनाएका छन् । ३ वर्षदेखि पैसा खाएर भागेका नेपाली जहाँ भेटिन्छ त्यहीँ अन्त्य गर्नलाई कफन बाँधेर हिँडेको भन्दै ज्वाइँ परियारले आक्रोश पोखेका छन् । उनले कांग्रेस नेता नेपालीलाई प्रश्न गरेका छन्, ‘आफ्नै बहिनीको नैतिकतामाथि बलात्कार गरिहिँड्नेले अरूको झन् के बाँकी होला र ?’ बहिनी ज्वाइँले मात्रै हैन आठबिसकोटको राडीमा भएको खुला आमसभामा समेत कांग्रैसकै कार्यकर्ताले नेपालीलाई सत्तोसराप गरेको बताइन्छ ।
नेपाली अतिथि बनेर स्टेजमा विकास निर्माण, कांग्रेसको योजनाको भाषण गरिरहँदा सहभागीको अन्तिमतिर रहेका कार्यकर्ताले यो अपराधी हो, ठग, हो भन्दै विरोध जनाएका थिए । उनीहरूले दर्जनौँ सर्वसाधारणको रकम विभिन्न बहानामा पचाएको र वर्षदिनसम्म पनि बेवास्ता गरेको भन्दै राजनीतिक आडमा लुटको धन्दा चलाएको आक्रोशमा ‘हो माथि हो’ मिसाएका छन् । यसैगरी, नेता नेपालीका भाइ पनि मानव तस्करी गर्ने गिरोहमा संलग्न भएको पाइएको छ । उनका भाइ निराजन नेपालीलाई अमेरिकाको सपना देखाएर मानव बेचबिखन गरेको गर्ने आरोपमा प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ । निराजनलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले बताएका छन् । अमेरिकामा ६ लाखसम्म तलब हुन्छ भनेर पीडितलाई उनले दुबईमा लगी बन्धक बनाएको आरोप छ । एक जाहेरवालासँग उनले १४ लाख ८० हजार रूपैयाँ लिएको प्रहरीको भनाइ छ । सोही आरोपीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो ।
निराजनलाई मंसिर २५ गते काठमाडौँ ल्याएर अनुसन्धान भइरहेको एसपी रिमालले जानकारी दिए । उनको गिरोहमा आबद्ध ४ जना फरार रहेको प्रहरीको भनाइ छ । अमेरिकाको सपना देखाएर उनीहरूले ८० लाखसम्म लिने गरेको गुनासो पीडितहरूको छ । निराजन नेपालमा रहँदा कांग्रेस नेता तथा दाइ मानबहादुरको संरक्षण रहने गथ्र्याे । मानव तस्करी धन्दा बाहिरिएपछि उनी दुबईमा गएर लुकेका थिए ।
टिप्पणीहरू