बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड

बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड
सुन्नुहोस्

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणको पुरक अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाउने तयारीमा छ । २०८० बैशाख ३ गते सरकारी वकिल कार्यालयले रुपन्देही जिल्ला अदालतमा दायर गरेको सहकारी ठगी मुद्दाको प्रहरीले पूरक अनुसन्धान गरिरहेको छ । यस क्रममा गोर्खा मिडिया नेटवर्क प्रा.लि. का उपाध्यक्ष छविलाल जोशी, प्रबन्ध निर्देशक रवि लामिछानेलगायतको बयान लिएर अन्य आवश्यक कागजात जुटाइरहेको प्रहरीले छिट्टै अनुसन्धान प्रतिवेदन बुझाउने एसपी रञ्जितसिंह राठौरले बताए । 

यसअघि दायर भएको मुद्दामा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ पुर्पक्षका लागि थुनामा छन् । बचत हिनामिना प्रकरणका मुख्य योजनाकार पूर्वअध्यक्ष तथा सल्लाहकार गितेन्द्र बाबु राई (जिबी राई), व्यवस्थापक सागर केसीलगायत अभियुक्त फरार छन् । २८ जना प्रतिवादी रहेको मुद्दामा १ अर्ब २ करोड रुपैयाँ बिगो माग गरिएको छ । पूरक मुद्दामा बिगो अरु बढ्ने सम्भावना छ ।सहकारीका १८३१ बचतकर्ताले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा गोर्खा मिडियाका उपाध्यक्ष जोशी, प्रबन्ध–निर्देशक लामिछानेलगायतले समेत गैरकानुनी रुपमा कर्जा लिएको देखिएको छ ।

मुद्दा विवरणअनुसार सुप्रिम सहकारीबाट गोर्खा मिडियामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छ । शुरुमा २०७७ असोज ११ मा गोर्खा मिडियाको सिद्धार्थ बैंकको खाता नं. ००११५९७८०९७ मा १ करोड रुपैयाँ पेश्की लगानी शीर्षकमा पठाइएको थियो । दोश्रोपटक २०७७ माघ २८ मा छविलाल जोशीको नाममा २ करोड ५० लाख कर्जा देखाई ५ लाख सेवा शुल्क कटाएर गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खाता नं. ०४०१०१००००५७७ मा पैसा गएको छ ।

२०७७ चैत १८ मा प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा ब्यापार कर्जाको विवरण तयार गरी २ करोड रुपैयाँ पठाइएको छ । यो रकम ग्लोबल आईएमई बैंकमा जम्मा भएको देखिन्छ । २०७८ बैशाख ५ मा पेश्की लगानी देखाई सिद्धार्थ बैंकमार्फत १ करोड रुपैयाँ, चार दिनपछि बैशाख ९ मा पेश्की विवरण तयार पारेर ३० लाख ग्लोबल आईएमई बैंकमा, २०७८ असार ३ मा पेश्की लगानी १ करोड, असार २२ मा सहकारीका सञ्चालक कुमार रम्तेलको नाममा कर्जा बनाई १ करोड ३ लाख ३६ हजार, असोज १३ मा पेश्की लगानी ५० लाख र असोज २४ मा २५ लाख पठाइएको छ ।

त्यसैगरी, २०७८ पुस १२ मा विपिनकुमार आचार्यका नाममा कर्जा खडा गरी १ करोड ५६ लाख १५ हजार ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको देखिन्छ । जसमध्ये पेश्की भनेर पठाइएको ३ करोड ३० लाख रुपैयाँ सञ्चालक भूपेन्द्रबाबु राईको नाममा कर्जा देखाइएको छ ।गोर्खा मिडिया नेटवर्कमै त्यत्रो पैसा पठाउनुको उद्देश्य कहीँ खुलेको देखिँदैन । सहकारीका व्यवस्थापक सागर केसी र अन्य कर्मचारीले कर्जा फारम भर्ने, पेश्की विवरण तयार पार्ने र बैंकमा गएर पैसा जम्मा गर्ने गरेको देखिन्छ ।

त्यसबाहेक सहकारीको रकम अन्धाधुन्द दुरुपयोग गर्नेमा जिबी राईका कम्पनी तथा नातेदार नै रहेका छन् । जिबीकै कम्पनी स्प्रिङउड रियलइस्टेट प्रालिमा १५ करोड ३३ लाख ६३ हजार, नेचर नेष्ट प्रालिमा १० करोड ७७ लाख ८३ हजार, जिबी गु्रप अफ कम्पनिज प्रालिमा १२ करोड ३५ लाख ५४ हजार लगानी भएको छ ।

सचिव कुमार रम्तेल २ करोड ५३ लाख ६३ हजार, दिनेश रोक्का ३ करोड ९२ लाख, जिबी राईकै नाममा ६ करोड ६६ लाख ६१ हजार, व्यवस्थापक सागर केसी १ करोड १३ लाख, अध्यक्ष ओमप्रकाश गुरुङ २ करोड ८८ लाख, भूपेन्द्र राई ४ करोड ४० लाख कर्जा गएको देखिन्छ । सहकारीले कुनै पनि कर्जामा आवश्यक प्रक्रिया पूरा गरेको देखिँदैन । अधिकांश कर्जा जिबीको निर्देशनमा व्यवस्थापक केसीले फर्जी गरेका छन् ।

टिप्पणीहरू