सम्भव छ त विद्या प्रम र ओली राष्ट्रपति बन्न ?
पूर्वराष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन फेरि राजनीतिमा सक्रिय बन्ने चर्चासँगै पक्ष र विपक्षमा मत/अभिमत व्यापक रूपमा सार्वजनिक भइरहेको छ । पुन त पार्टी बैठकमै उपस्थित भइरहेका छन् भने भण्डारी राजनीतिमै सक्रिय बन्दै गरेको ठोस आधार कतै देखिएको वा पुष्टि हुन सकेको छैन । तथापि, भंगालमा अहिले भइरहेका भेटघाट र नेता–कार्यकर्ताको बाक्लो ओहोरदोहोरले भने उनी पूर्वराष्ट्रपतिको हैसियतमा मात्र बसिरहेकी छैनन् भन्ने प्रष्ट पार्छ ।
समाचार स्रोतका अनुसार उनी बस्दै आएको निवास अहिले व्यापक मर्मत भइरहेको छ । त्यहाँ उच्चतहका नेतादेखि कर्मचारी पनि नियमित रूपमा जाने र विविध विषयमा छलफल गरेर फर्किने गरेको देखिन्छ । निवासअगाडि अत्यन्तै महँगा गाडीको लस्कर लागिरहेको छ । टोलमै रहेका एमाले कार्यकर्तालाई उनले भेटघाटका निम्ति सम्पर्क सूत्रको रूपमा प्रयोग गर्ने गरेकी छन्।
यसरी भण्डारीको सक्रियता बढेसँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अप्रत्यक्ष रूपमा ‘खबरदार, उक्साउने काम नगर’ भन्दै अप्रत्यक्ष चेतावनी दिएको एक सचिवालय सदस्यले बताए । उनका अनुसार यदि एमाले अध्यक्षको प्रत्याशीका रूपमा विद्या अगाडि आइन् भने ओलीको हार निश्चितजस्तै छ । त्यसो त यदि विद्या भण्डारी एमाले अध्यक्ष हुँदै आगामी प्रधानमन्त्रीका रूपमा अगाडि बढिन् र ०८४ सालको चुनावमा पार्टीले राम्रै मत प्राप्त गर्यो भने ओली राष्ट्रपतितर्फ सिफ्ट हुन पनि सक्छन् । स्थानीय उपनिर्वाचनका क्रममा एक्लाएक्लै चुनाव लड्दा एमालेले तेस्रो स्थान हासिल गर्नु र माओवादी आफ्नो वास्तविक शक्तिभन्दा बलियो रूपमा देखापर्नु केपी ओलीका लागि ठूलो धक्का हो । ओलीले त्यही धक्का खाएका कारण अब सबै कम्युनिष्टको एउटा साझा मोर्चा र शक्ति निर्माणको नेतृत्व विद्या भण्डारीले मात्रै गर्न सक्छिन् भन्ने तर्क उनी पक्षधरले राखेको सुनिन्छ ।
उता, ओलीद्वारा पार्टीबाट निश्कासित भीम रावलले छुट्टै पार्टी गठनको तयारी गर्नुका पछाडिसमेत अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँगको सम्बन्ध कारक रहेको बताइन्छ । माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा उनी समाहित हुने चर्चा चले पनि त्यसो नहुनुको प्रमुख कारण उनको चर्को भारतविरोधी दृष्टिकोणलाई मानिन्छ । विश्लेषकका अनुसार माधवकुमार नेपालको पार्टी भारतीय संस्थापन पक्षसँग टाढा छैन । जबकि एमाले केपी ओलीका कारण अहिले भारतसँग टाढिएको छ भने भीम रावल कडा रूपमा भारत र अमेरिकाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै हिँडिरहेका छन्।
यसरी भण्डारी सक्रिय राजनीतिमा आउने संकेत देखिएसँगै नेपालको पहिलो तथा उनीभन्दा पहिलेका राष्ट्रपति रामवरण यादवले यस्तो अभ्यास ठीक नहुने प्रतिक्रिया दिइसकेका छन् । यादव सक्रिय राजनीति नगरी सामाजिक व्यक्तित्वको रूपमा क्रियाशील छन् । अन्य पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिले पनि त्यस्तै अभ्यास गरेमा त्यो पदको गरिमा कायम रहने उनको तर्क छ । यसैबीच, कांग्रेस महामन्त्री गगन थापा दुई छोरी र पत्नीसहित भारत भ्रमणमा गएको विषयले पनि नेपालको राजनीतिलाई तरंगित बनाएको छ । खासमा उनी कुन प्रयोजन र उद्देश्यसाथ त्यता गएका हुन् भन्ने प्रष्ट नभए पनि पूर्वराजा ज्ञानेन्द्रले हालैको भ्रमणमा भेट गरेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग उनले समेत भेटेको समाचार स्रोतको दाबी छ ।
नेपाली कांग्रेसको भावी नेतृत्वबारे व्यापक चर्चा र बहस भइरहेका बेला केही समयअघिसम्म शेखर कोइराला गुटको एक बलियो खम्बा रहेका गगनले कित्ता फेरेसँगै उनको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । सामान्यतया गगनलाई पश्चिमा शक्तिसँग निकट नेताका रूपमा चिनिन्छ । त्यसैगरी, नेपाली कांग्रेसको भावी सभापतिमा भिड्न लागिरहेका शेखर कोइरालालाई भारतसँग केही बढी निकटता भएका नेताको रूपमा हेर्ने गरिन्छ । यो पृष्ठभूमिमा गगनलाई फिल्डमा गएर शक्ति निर्माण गर नत्र भोलि शेरबहादुर देउवाले समेत तिमीलाई सभापति पदको प्रत्याशीका रूपमा अघि नसार्न सक्छन् भन्ने सल्लाह दिनसमेत योगीले बोलाएको कांग्रेसकै एक कित्ताको बुझाइ छ ।
त्यसो त गगन थापाले मुखरित रूपमै मोरङ, ग्रामथाम गाउँपालिकाको उपनिर्वाचनमा मत माग्न जाँदा विराटनगर विमानस्थलमा भनेका थिए, ‘सबैभन्दा पहिले हामी सत्तारुढ दुई घटक नेकपा (एमाले) र नेपाली कांग्रेस संविधान संशोधन र त्यसका अन्तरवस्तुबारेमा सहमति गर्छौं र त्यसपछि प्रमुख प्रतिपक्षी दल माओवादीलाई समेत सहमत गराएर संविधान संशोधनको दिशामा अघि बढ्छौँ ।’
यसरी गगन थापाको भारत भ्रमण आसन्न महाधिवेशन र नेतृत्व छनोट अनि संविधान संशोधनसँग सम्बन्धित भएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । चीनसँग भएको बिआरआइ सम्झौताको विषय पनि गगनको भारत भ्रमणसँग जोडिएको हुनसक्ने एकथरिको टिप्पणी छ ।
टिप्पणीहरू