ती वामदेव, यी ‘र’ प्रमुख, इन्दिरा र कर्पुरी
हामी त्यसबेला दृष्टि साप्ताहिकमा संलग्न थियौँ । कार्यालय थियो– कालिमाटीस्थित सुनकोशी छापाखानामा । पत्रिकाका सम्पादक– नारायण ढकाल । देशमा भर्खर बहुदलीय व्यवस्थाको सूत्रपात भएर पञ्चायतकालमा प्रतिबन्धित राजनीतिक दल खुलेका मात्र थिए । नेपाल कम्युनिष्ट पार्टी (माले) ले देशभरि कार्यालय खोलेर खुला राजनीतिका गतिविधि गर्न थालिसकेको थियो । केन्द्रीय कमिटीका सदस्यहरूको सूची पहिलोपटक सार्वजनिक भएमध्ये एक जना वामदेव गौतम पनि थिए । दृष्टि परिवारका नारायण ढकाललगायत शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, गोपाल गुरागाई, विमल निभा, श्यामल र हरिशरण फुयाँल गफ गर्दै थियौँ । गफको विषय उही भर्खर सार्वजनिक केन्द्रीय कमिटीका सदस्यहरू थिए । त्यसबखत शिक्षक आन्दोलनमा पनि वामदेव गौतम नामक नेता थिए । हाम्रो गफले एउटा निश्कर्ष निकाल्यो– शिक्षक संगठनका महासचिव वामदेव गौतम त ‘हाम्रो’ पार्टीका केन्द्रीय सदस्य पो रहेछन् ।
केही समयपछि पत्रकारहरूको एउटा कार्यक्रममा भाग लिन नारायण ढकाल नेपालगञ्ज पुगे । त्यसबखत भेरी इञ्चार्ज वामदेव गौतम थिए भने अञ्चल कार्यालय नेपालगञ्जमा थियो । पत्रकारको कार्यक्रम सकिएपछि नारायणले पार्टी कार्यालय पुगेर नेताहरुसित पनि भेटघाट गरी ४ दिनपछि काठमाडौं फर्किए । पत्रिकाको काम आइतबारदेखि रफ्तारले शुरु हुन्थ्यो किनभने पत्रिका बुधबार निस्कन्थ्यो । कार्यालयमा काम गरिरहेकै बेला नारायणले नेपालगञ्ज यात्राको प्रसंग निकाले । उनको भनाइ थियो– ‘साथीहरू, माले पार्टीको केन्द्रीय सदस्य वामदेव गौतम हामीले सोचेका पात्र होइन रहेछन् । पार्टीका वामदेव त जंगली स्वभावका पो रहेछन् । टाउकै यत्रो ठूलो ! मेरो नाकैमा छोउँला जस्तो गरी औंला ठड्याइ ठड्याइ कडा मिजासमा कुरा गरे । मलाई त मन परेन योे रवैया !’
कुरा सुनेर हामी सबै हाँस्यौँ । केही समयपछि पत्रिकाको बिक्री वितरण मिलाउने सिलसिलामा म नेपालगञ्ज पुगेँ । उस्तै व्यवहार भोगेँ । मिति ठ्याकै सम्झना भएन । एक दिन वामदेवले पहिलो पटक काठमाडौंको खुलामञ्चमा सभालाई संबोधन गर्दै थिए । वामदेवलाई हेर्न सबै जना उत्सुक थिए । भाषण सुनेर श्रोताहरु मन्त्रमुग्ध बने । साहै्र जोशिलो भाषण थियो त्यो । पटकैपिच्छे छाती फुलाउँदै राजालाई चुनौती दिन्थे । नेपाली जनताले चाहेमा थुकेरै मात्र पनि राजा र राजतन्त्रलाई बगाउन सक्छन् भन्दा धेरैले पररर ताली पड्काएका थिए । उनको सो ‘थुक’ भाषण निकै चर्चित बनेको थियो । उनले देखाएको फूर्ति हेरेर धेरै स्थानीयले यो मान्छे पक्कै पहिला सेनामा कार्यरत हुनुपर्छ भनेर लख काटे । स्मरणीय छ, त्यसबखतसम्म जननेता मदन भण्डारी पनि पार्टीको महासचिव भनेर सार्वजनिक भइसकेका थिएनन्, पार्टी प्रवक्ताको रूपमा मात्र चिनिन्थे ।
भारतमा पनि एक जना समाजवादी ‘थुक नेता’ कै रूपमा लोकप्रिय थिए । उनको थुकबाट अंग्रेजहरू थुरुथुरु काँप्थे । कर्पुरी ठाकुर जातले कपाल काट्ने हजाम भए पनि बिहारमा जननायक भनेर चिनिन्थे । नाई भए पनि दुई–दुईपटक मुख्यमन्त्री बने, सन् १९७० देखि १९७१ र १९७७ देखि १९७९ सम्म । भारत स्वतन्त्रताको निम्ति पु¥याएको योगदान र बिहार राज्यमा गरेको सेवाका लागि गत साल गणतन्त्र दिवसको दिन मोदी सरकारले मरणोपरान्त उनलाई ‘भारत रत्न’ ले सम्मानित गरेको थियो । भारत छोड आन्दोलनताका उनी पटनाको महावीर मन्दिरनजिकै चौबाटोमा आयोजित सभालाई संबोधन गर्दै थिए । बोल्ने क्रममा अंग्रेजहरूले भारत छाडेर जानै पर्छ, उनीहरूलाई धपाउन केही गर्नै पर्दैन, हाम्रो संख्या यति धेरै छ कि प्रत्येकले उनीहरूको घर आँगनमा गएर थुकेमा मात्रै पनि पुरिन्छन् भन्दिए । उनको उक्त भाषण यति धेरै चर्चित बन्यो कि यसपछि उनलाई ‘थुक नेता’ भन्न थालियो । उनको यो थुक भाषणबाट त्रसित बनेर तात्कालीन अंग्रेज सरकारले थुक विद्रोह गरेको भन्दै उनलाई पक्रियो पनि । थुक भाषणकै कारण उनी २६ महिना जेल बसे ।
अंग्रेज त उनीदेखि त्रसित थिए नै स्पातिली नारीको उपमा पाएकी प्रधानमन्त्री इन्दिरा गान्धी पनि यिनीदेखि डराउँथिन् । इन्दिराले जब शक्तिशाली बन्न संकटकाल घोषणा गरिन् कर्पुरी यसको विरुद्ध खडा भए । उनको गिरफ्तारीबिना बिहारमा आपातकाल लागू गर्न सम्भव नदेखेपछि इन्दिराले जसरी पनि समात्न आदेश दिइन् । एकदिन इन्दिरा आफ्नो आवासमा बसेर चिया पिउँदै थिइन् । त्यसैबेला भारतीय खुफिया एजेन्सी ‘र’ का संस्थापक प्रमुख रामेश्वरनाथ कावले भित्र आउन अनुमति मागे र एउटा फाइल दिए । इन्दिरा कागजात पल्टाउन थालिन् । उनले भनिन्, ‘देशका ठुल्ठूला नेता, उद्योगपतिहरू तिम्रो फन्दामा परिसके तर एक जना जाबो हजामलाई समाउन सकेनौ है ?
कावले भने– मेरो विचारमा उनी भारतमै छैनन्, भागेर नेपाल वा भुटान पुगिसकेको हुनुपर्छ । इन्दिराको सोधाइ रह्यो– पत्ता लगाउनु त कुन मुलुकमा शरण लिए होलान् उनले ? कावले छिमेकी मुलुक सबैतिर आफ्ना एजेन्ट फैलाएर खोजी थाले । यसैबीच, नेपाल सरकारले आफ्ना गुप्तचरहरूबाट प्राप्त सूचनाअनुसार भन्दै तराईमा एक जना सन्दिग्ध व्यक्ति पटक–पटक सीमा वारपार गरिरहेको सूचना दियो । कर्पुरी त्यसै पनि आफ्नो मुलुकमा पस्नेबित्तिकै पक्रेर जेलमा कोच्छन् भन्ने थाहा पाउँदापाउँदै भारत जान चाहन्थे । एक दिन भेष बदलेर नेपालबाट भाग्न सफल भए र थाइल्याण्ड पुगे ।
थाइल्याण्डस्थित ‘र’ का एजेण्टले उनी भेष बदलेर कोलकात्ता आउन एयरपोर्टमा बसिरहेको सूचना दिए । कावले दिएको सूचनामुताबिक इन्दिराले बिहार कंग्रेसका दुई जना नेता राजु सिंह र रत्नास झालाई तत्कालै विमानस्थलमा पठाइन् । केही घण्टा पर्खेपछि राजुले विमानस्थलको गेटमा एक जना साधुलाई देखे । सिंह र झाले ती व्यक्ति कर्पुरी नै हुन् भनेर चिने तर प्रहरीलाई खबर गरेनन् । थुक भाषणबाट प्रभावित उनीहरू साधुलाई अभिवादन गरी रित्तो हात फर्के । धेरैपछि इन्दिराले कर्पुरीलाई फेला पारिए तर त्यसबेलासम्म कर्पुरीले बिहारमा आफ्नो सञ्जाल निकै फैलाइसकेका थिए । सन् १९७७ मा जब जनता पार्टी सत्तामा पुग्यो दोश्रो पटक उनी बिहारको मुख्यमन्त्री बने । उनको निधन ६४ वर्षको उमेरमा सन् १९८८ मा भइसकेको छ ।
उनी तल्लो र उपेक्षित जातिका लागि आरक्षणको व्यवस्था गर्ने प्रथम मुख्यमन्त्री हुन् । उनले ती वर्गको लागि कलेज र स्कूल खोले । भूमिसुधार र सामाजिक न्यायको पक्षमा डटेर लागे । अंग्रेजी अनिवार्य भाषालाई हटाए । उनी उच्च विचार र सादा जीवनका धनी थिए । एकपटक एउटा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अष्ट्रिया जानुपर्ने भयो तर लगाउने राम्रो कोट थिएन । एक जना साथीको कोट लगाएर अष्ट्रिया पुगे तर दुर्भाग्य, त्यो कोट पनि फाटेको रहेछ । उनी त्यहाँबाट युगोस्लाभिया गए । त्यहाँका कम्युनिष्ट नेता मार्सल जोसेफ ब्रोज टिटोले फाटेको कोट देखे र तुरुन्त अर्को कोट मगाएर लगाउन दिए । सन् १९७७ मा पटनामा समाजवादी नेता जयप्रकाश नारायणको जन्मदिन थियो ।
कार्यक्रममा चन्द्रशेखर र नानाजी देशमुख पनि सहभागी थिए । कर्पुरी फित्ता टुटेको चप्पल र च्यातिएको कुर्ता लगाएर पुगेको देखेपछि चन्द्रशेखरले आफूले लगाइराखेको कुर्ता फुकालेर टेबुलमा फैलाइदिए र सबैलाई संबोधन गर्दै भने कर्पुरीजीको चप्पल र कुर्ताको लागि चन्दा दिनुस् । नभन्दै निकै पैसा जम्मा भयो तर उनले त्यो पैसा लिन मानेनन् र मुख्यमन्त्री कोषमा जम्मा गरिदिन लगाए । पटक–पटक विधानसभा सदस्य, शिक्षामन्त्री, उपमुख्यमन्त्री, ३ वर्ष मुख्यमन्त्री बने तर उनको न पटनामा, न त जन्मस्थान समस्तीपुरमै घर छ । पैतृक घरजग्गामा १ इञ्च पनि थप भएन । सधैँ गरिबहरूकै हितमा आफूलाई समर्पित गरे । मुख्यमन्त्री भइरहेकै बखत पनि पत्नी गाउँमा बाख्रा चराउँथिन् । कर्पुरी लेखक र कवि पनि थिए ।
टिप्पणीहरू