भिआइपी थुनामा, मान्छे घरैमा

भिआइपी थुनामा, मान्छे घरैमा
सुन्नुहोस्

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका प्रतिवादीहरुलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । थुनछेक बहसको क्रममा प्रतिवादीमध्येकै एक छविलाल जोशीको तर्फबाट एक से एक वरिष्ठ अधिवक्ताले बहस गरेका थिए ।

गत बिहीबार साँझ साढे ५ बजेसम्म उनीलगायत प्रतिवादीहरु जेल चलान हुन्छन् कि धरौटीमा छुट्छन् ? भन्ने कौतुहलता थियो । साँझ उनलाई ८८ लाख, रवि लामिछानेलाई ६५ लाखमा धरौटीमा रिहाको आदेश भएको हो । 

यसबीचमा नेपाल प्रहरीको पूर्वडिआइजीसमेत रहेका जोशीलाई कानुनविपरीत भान्से र सुरक्षाकर्मीसमेत दिइएको खुलेको छ । रोचक प्रसंग त के भने, एउटै कसूरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उनलाई सो व्यवस्था मिलाइदिएका हुन् । सरकारले २०७७ सालमै कटौती गरेको सुविधा रविले छविको हकमा भने ‘कन्टिन्यु’ गरिदिएको गृह स्रोत बताउँछ । 

अख्तियार प्रमुख प्रेम राई गृहसचिव हुँदा प्रहरीका भिआइपीहरूले पाउँदै आएको निजी सुरक्षा गार्ड (पिएसओ) र भान्से सुविधा कटौती गरिएको थियो । सुरक्षाकर्मी र कार्यालय सहयोगीको चरम दुरुपयोग बढेपछि गृह मन्त्रालयले ‘विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको हो । सो कार्यविधिले एसएसपी र डिआइजी दर्जाका अधिकारीहरूले पाउँदै आएको सुरक्षा सुविधा कटौती गरेको थियो । त्यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको डिआइजी र त्यसभन्दा माथिल्ला पदका अधिकारीले आजीवन पिएसओ र भान्से लिने गर्थे । एउटै अधिकारीले तीन–चार जनासम्म ड्राइभर र भान्से राख्ने गरेका थिए । उनीहरूलाई व्यक्तिगत काममा लगाएर श्रम शोषण गर्ने क्रम बढेपछि गृहले कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याएको हो । 

सरकारको नियमविपरीत रविले छविलाई भान्से र पिएसओ दिएको खुलेको छ । छवि पक्राउ परेपछि पनि भान्से गिरबहादुर खत्री उनकै घरमा थिए । स्रोत भन्छ, ‘डिआइजीको घरमा भान्से राख्न पाइँदैन् । तर, रविले गृहमन्त्री भएपछि उनको हकमा भने निरन्तरता दिए । आफ्नो साथी भएकाले सुविधा दिएको हुनसक्छ । छविलाल पक्राउ परेपछि पनि उनी त्यहीँ थिए । अहिले उनलाई सुरक्षा महाशाखाले तानेको छ ।’ गिरबहादुरलाई डेढ साताअघि मात्र छविको घरबाट सरुवा गरेर महाराजगञ्ज प्रहरी वृत्तमा ल्याएको पाइएको छ । गिरबहादुरका एक निकटस्थले भने, ‘उनी १० दिनअघि मात्र महाराजगञ्जमा आएका छन् । त्यसअघि त छविलालकै घरमा थिए ।’ छविले आफ्नो पिएसओलाई भने एउटा होटलमा जागिर लगाइदिएका थिए । ती पनि सहकारी ठगीमा मुछिएका छन् ।

(गतांककाे जनआस्था साप्ताहिकमा प्रकाशित)

टिप्पणीहरू