चौधरीको यो के चर्तिकला ?

चौधरीको यो के चर्तिकला ?

‘पैसो भनेपछि महादेवको त्रिनेत्र’ यो उखान विनोद चौधरीमाथि ठ्याक्कै लागू भएको छ । विश्वका डलर अर्बपतिहरूको सूचीमा भन्नेतिर आफ्नो नाफाबाट चुनदाम समाजका निम्ति खर्च नगर्ने उनका व्यवहारमाथि पुनः प्रश्न उठेको छ । कम्पनी ऐनमा खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा सिएसआरमा खर्च गर्नैपर्ने अनिवार्य व्यवस्था छ ।

त्यही अनिवार्य व्यवस्थालाई छल्न उनले चौधरी फाउण्डेसनको दुरूपयोग गरेको त्यहाँ काम गरिसकेका पूर्वप्रशासक, उच्च प्रहरी तथा सैनिक अधिकृतहरूले बताएका छन् । सिजी ग्रुपको खुद आम्दानीबाट छुट्ट्याइएको सिएसआर रकमलाई समाज उत्थानमा प्रयोग गर्ने उद्देश्यले चौधरी फाउण्डेसनको गठन गरिएको भनिए तापनि उनैको नामको फाउण्डेसन चलाउन विश्वका अर्बपति तथा संस्थाबाट करोडौं रूपैयाँ ल्याएको देखिन्छ । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन र बंगलादेशबाट हालका सरकार प्रमुख तथा लघुवित्त अर्थशास्त्री मोहम्मद युनुसको गरिबी निवारणमा सक्रिय सेन्टरबाट ल्याएको पैसा बेहिसाब छ । चौधरीले गेट्सको फाउण्डेसनबाट सन् २०१९ को नोभेम्बरमा ७ लाख ८८ हजार १९२ डलर अर्थात् १० करोड ५० लाखभन्दा बढी रूपैयाँ ल्याएका थिए । उनले त्यसैलाई नै आफ्नो सिएसआर भनेर खर्चिएको र चौधरी फाउण्डेसनको सामान्य प्रशासनिक खर्चचाहिँ यताबाट व्यहोर्ने गरेको ती कर्मचारीको दाबी छ । 

बिल गेट्सबाट ल्याइएको रकम संयुक्त राष्ट्रसंघले सन् २०१५ मा घोषणा गरेको १७ बुँदे सस्टेनबेल डेभलपमेन्ट गोलमध्ये पोषणयुक्त खाना वितरणमा प्रयोग गरिएको चौधरीको दाबी छ । चाउचाउलाई पत्रु खानाको संज्ञा दिँदै आएकी डाक्टर अरुणा उप्रेती गेट्स फाउण्डेसनको रकम वाईवाई चाउचाउ किनेर बाँड््ने कार्यमा प्रयोग भएको जनाउँदै कन्सल्ट्यान्टको जिम्मेवारीबाट हटेकी थिइन् । उनले मैदाबाट निर्मित चाउचाउ मानव स्वास्थ्यको लागि अति हानिकारक भन्ने गरेकी छन् । 

कोभिड महामारीताका जाजरकोटको एउटा अस्पतालमा नबिल बैंकबाट सिएसआरको रकम प्रयोग गरियो । राष्ट्र बैंकसमक्ष बुझाइएको विवरणमा बैंकको सिएसआर प्रयोग गरिएको भनिए पनि व्यवहारमा चौधरी ग्रुपका नाममा प्रचार गरिएको थियो । यता, आफ्नै बलबुताले राष्ट्रिय व्यवसायीमा दरिएका भाटभटेनीका साहुजी मीनबहादुर गुरुङले मातापिताको सम्मानमा टिचिङ अस्पतालमा करोडौंका इमर्जेन्सी भवन दुई पटक बनाइदिएका छन् । डा.भगवान कोइरालाको प्रस्तावित बाल अस्पतालका लागि उनैले ४१ करोड दिएका छन् । पशुपतिमा पनि उनको योगदान छ । यस्तो काममा चौधरीलगायतका मारवाडीको साथ, सहयोग खोइ ? 

आफूलाई डलर अर्बपति भन्ने तर मुलुकभित्र डलर लगानी नगर्ने बरु उल्टै यताको पैसा बाहिर लैजाने उनको सिको अरु मारवाडीले पनि थालेको बताइन्छ । शशिकान्त, गोल्यानले पनि नेपाली समाजका निम्ति सुको खर्चेका छैनन् । बरु उल्टै नक्सा पास नगरी नक्सालमा होटल ठड्याउने र कारखानामा बालिएको बत्तिको अर्बौैं नतिर्नेलाई राज्यको जिम्मेवारी लिएका ठूलाबडाले आड भरोसा दिइरहेको अवस्था छ । चौधरीको बदमासी काठमाडौंबाट चितवनसम्म पुगेको छ । भरतपुरको ल्याण्ड मार्क होटल निर्माण गर्ने क्रममा सरकारी जग्गा मिचिएको थियो । एक अनुसन्धानको क्रममा तत्कालीन नगरपालिकामा उनले नक्शा पासै नगरी राम्रै खेलोफड्को गरेर त्यो होटल ठड्याएको पाइएको छ । 

ठूलाबडाको प्रयोग ‘युज एण्ड थ्रो’

नेपालमा अरुले भन्दा धेरै चौधरीले अंगीकार गरेको सिद्धान्त अवकाशप्राप्त प्रशासक र सुरक्षा निकायका उच्च अधिकारीको उपयोग पनि हो । पदमा छउञ्जेल औंला घुसारेर काम लिने उनले अवकाशपछि त्यस्ता कर्मचारीलाई सानेपादेखि तानसेनको सिमेन्ट कारखानासम्म परिचालन गर्ने गरेका छन् । 

‘पहिले रमाएर चौधरीसँग कुम जोड्न गएकाहरूले एकाध महिनामा उनको साथ किन छाड्छन् ?’ जनआस्थाको जिज्ञासामा छ महिनाजति काम गरेर फर्केका एक जना पूर्वआईजीपी भन्छन्, ‘पैसाको मामिलामा अरुभन्दा एक दिन अगाडि रहेछन् यिनी ।’ उनका अनुसार भूतपूर्व आइजिपी, एआइजी, सचिवबाट अवकाश प्राप्तलाई घोटेर काममा लगाउने, पदीय मर्यादालाई उडाउने गरेपछि उनीहरू अमिलो अनुहार लिँदै त्यहाँबाट बाहिरिने गरेका छन् । उनैले भने, ‘त्यहाँ कोही पनि लामो समय टिक्दैन । उसको ध्यान खाली नाफामा केन्द्रित छ । सर्भिसमा होइन ।’

चौधरी ग्रुपसँग जोडिएर अपमानित हुनेहरूमा पूर्वगृहसचिव गोविन्द कुसुम पनि छन् । त्यसैगरी, आइजिपी रमेश चन्द, जर्नेल दिलिप रायमाझी, डिआइजी पूर्णचन्द्र जोशी, भूतपूर्व सिडिओ भानुभक्त पोखरेल, सशस्त्रका पूर्व आइजी वासुदेव वलीका भाइ जीवन वली मुख्य छन् । त्यसैगरी, केही न्यायाधीशले पनि अवकाशपछि उनको ग्रुपमा पुगेर केही महिनाको तनखा बुझेको बताइन्छ । 

स्रोत भन्छ, ‘अरु त अरु नीर शाहले पनि केही समय काम गरेर छाडे । तर सबैलाई दुई चार महिना काम लगाउँदै शत्रु बनाएर हटाइएको हो । यसरी हटाइएका पूर्व प्रशासक र सुरक्षा निकायका जिम्मेवारहरूको संख्या बटुल्ने हो भने सानेपा र रवि भवनमा जुलुस निकाल्न पुग्छ ।’ सबैभन्दा लामो समय जागिर खानेमा भूपू एआइजी रमेशशेखर बज्राचार्य तीन वर्ष टिके पनि जोशी छ महिना, रमेश पाँच महिना, कुसुम छ महिना र सिडिओको टिम पाँच महिनामै हटेका थिए । सोही क्रममा भूतपूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको एक जना बडिगार्डले केही महिना चौधरीको सेवा गर्न भ्याएको बुझिएको छ । 

चौधरीको अहमताकै कारण उनको कम्पनीले उल्लेख्य घाटा व्यहोरेको पनि छ । तीन सय करोडमा बनाउन खोजिएको मिडिल मोदी जलविद्युत परियोजनाको लागत पाँच सय करोड पुग्नुको कारण उनै हुन् । त्यसैगरी, तानसेनस्थित सिमेन्ट कारखानाको लागत नौ सय करोडबाट १८ सय करोड नाघेको छ । वाइवाइलाई करेण्टले झट्का दिँदैछ ।
 

टिप्पणीहरू