बाको बक्रदृष्टिमा परेकाहरू...

बाको बक्रदृष्टिमा परेकाहरू...
सुन्नुहोस्

सोभियत ढकाल एमालेका पुराना कार्यकर्ता हुन् । उनीविरुद्ध धेरै षड्यन्त्र भए, नेतृत्वले सौताको सन्तानलाई झैँ व्यवहार गर्‍यो । महाधिवेशनमा प्रतिनिधिहरूले निर्वाचित गर्दासमेत केपी ओलीले केन्द्रीय सदस्यको सूचीबाट हटाएर अर्कै नाम राखी सर्कुलर गरे तापनि एमाले छोडेनन् । काठमाडौँमा बस्थे, अहिले गृहजिल्ला नवलपरासीको घरायसी काममै व्यस्त छन् । आफूलाई माया गर्ने माधव नेपाल, झलनाथ खनाल आदिलाई छोडेर एमालेमै बसेकोमा अहिले पछुतो लागिरहेको छ ।     

पार्टीभित्र उनको संघर्ष र अपमानको कथा निकै टिठलाग्दो छ । काठमाडौँको भृकुटी मण्डपमा २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सोमनाथ अधिकारी प्यासीको नेतृत्वमा रहेको निर्वाचन समितिले विजयी हुनेहरूको सूचीमा उनको समेत नाम राखेर परिणाम घोषणा गर्‍यो । तर, भोलिपल्टै केपी ओलीले उनको नाम काटेर धादिङका खेम लोहनीले एक मतले जितेको भनिदिए ।

जबकि सोभियत ढकाल १७ मत बढी ल्याएर विजयी भएको भनिएको थियो । उनले त्यसबेला ८८७ मत पाएका थिए । पछि एमाले र माओवादी एकीकरण हुँदा फेरि पनि उनको नाम काटियो र त्यो स्थानमा चुरेभावर पार्टीका बद्रि न्यौपानेलाई राखियो । यसपालि त उनलाई झन् केन्द्रीय सदस्यका रूपमा शपथग्रहणसमेत गराइसकिएको थियो । पाँच दिनसम्म कार्यकर्ताबाट बधार्ई खाँदै हिँडे पनि, पछि सर्कुलरमा नाम हटाएर बद्रि न्यौपानेलाई नेता बनाउने काम भयो । 

केन्द्रीय सदस्यमा मनोनयन र जिल्ला इञ्चार्जसमेतको जिम्मेवारी दिने भनी केपी ओली स्वयंले आश्वासन दिए । तर, त्यो बाचा कहिल्यै कार्यान्वयनमा आएन । घनश्याम भुसाललगायतको टिमले ‘तपाईंंं निर्वाचित भएर आउन सक्नुहुन्छ, उम्मेदवारी दिनुहोस्’ भनेर सल्लाह दिए । सोहीअनुसार उठेका उनलाई पछि शंकर पोखरेलहरूले मनोनीतमा राखौंला, अहिले उम्मेदवारी फिर्ता लिनुस् भनेर उराले । महासचिवले नै आश्वासन दिएको हुँदा पत्याए तर उनलाई जिम्मेवारविहीन रूपमा अहिलेसम्म राखिएको छ । 

उनीभन्दा जुनियर हुन्, पदम गिरी । जो पृथ्वीनारायण क्याम्पस पोखरामा सोभियत ढकाल स्ववियु सभापति हुँदा उपसभापति थिए । उनलाई केपी ओलीले दुईपटक मन्त्री बनाइसके । उनैको पालाकी सहसचिव सावित्री थापा अहिले केन्द्रीय सदस्य र बाग्लुङ जिल्ला इञ्चार्ज छिन् । त्यसैगरी उनको टिमका कोषाध्यक्ष होम नेपालीलाई १० भाइतिर लागेको भनेर गण्डकी प्रदेश सदस्यमा खुम्च्याइएको छ । पद्मा अर्यालसमेत दुई पटक मन्त्री बनिसकिन् । अखिलको केन्द्रीय अध्यक्ष पदमा जम्मा २१ मतले मात्र जनकपुर अधिवेशनमा माधव ढुंगेलबाट पराजित बनेका विद्यार्थी नेता हुन् । तर, पार्टीमा ३५ वर्ष काम गरिसकेका उनी अहिले दिक्क मानिरहेका छन् । 

त्यसो त यस्तो प्रकारको पीडा बोक्ने पात्र उनी मात्रै होइनन् । काभ्रेका टोकबहादुर वाइबा नवौं महाधिवेशनबाट निर्वाचित हुँदा उनको ठाउँमा भोजपुरका हरि राईलाई केन्द्रीय सदस्य बनाइएको थियो । जमिन्द्रमान घले पनि चुनाव जितेर समेत एमाले केन्द्रीय सदस्य बन्न नपाएका पात्र हुन् । यसैगरी ओलीको बक्रदृष्टिमा परेका अर्का व्यक्ति हुन्, डा.दीपकप्रकाश भट्ट । एकपटक कञ्चनपुरबाट निर्वाचित सांसद थिए, अहिले जिम्मेवारीविहीन अवस्थामा छन् । 

 

टिप्पणीहरू