पत्नीलाई ‘मान्य’ बनाउने रविको यस्तो प्लान

पत्नीलाई ‘मान्य’ बनाउने रविको यस्तो प्लान
सुन्नुहोस्

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेलाई ‘माननीय’ बनाउने तयारी गरेको विस्तृत विवरण फेला परेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका उनले ०८४ सालको संसदीय निर्वाचनमा श्रीमतीलाई बाजुराबाट प्रत्यक्ष उम्मेदवार बनाउने र त्यहाँको भोट तान्ने तारतम्य मिलाएको खुलेको हो । बाजुरा पुगेर ‘नारी टिभी’ उद्घाटन गर्नु त्यही अभियानको एउटा चरण थियो । रोचक प्रसंग त के भने, सो टिभीको धेरैजस्तो कार्यक्रम उत्पादन बाजुरामै हुने गरी सूचना तथा प्रशारण विभागमा दर्ता गरिएको छ । निकिता सिइओ रहेको नारी टिभी मनोरञ्जनसम्बन्धी च्यानल ‘टिभी फिल्मी’ को साटो सञ्चालन गरिएको हो । १३३ औं नारी दिवसको अवसर पारेर घोषणा गरिएको टेलिभिजनले महिलाको आवाज उठाउने भनिएको थियो । 

२०७९ मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा चितवनबाट रवि निर्वाचित भएपछि निकिताको बाजुरा आउजाउ बढ्यो । उनी चुनावलगत्तै पनि सदरमुकाम कोल्टी पुगेकी थिइन् । दुर्गम भेगका महिलासँग फोटो खिचाउँदै सामाजिक सञ्जालमा वाहवाही बटुलेकी उनले टेलिभिजनको उद्घाटन बाजुराकै एक वृद्ध आमाबाट गराइन् । सारा गाउँलाई उपस्थित गराएर रवि र निकिताले बूढीगंगाकी ८४ वर्षीय नन्दा साउदको हातबाट द्वीप प्रज्वलन गराए । त्यसपछि औपचारिक तवरबाट सञ्चालनमा आएको सो टेलिभिजनले बाजुराका स्टोरीलाई प्राथमिकतामा राख्दै गएको देखिन्छ । बाजुरावासीका समस्या उजागर गरेको देखाएर निकिताले आफू संसदमा छिर्न खुड्किलो बनाएको यसबाट प्रष्ट हुन्छ । स्रोतका अनुसार रविको टिमले बाजुरामा केही सामाजिक काम गरेर निकिताको ‘इमेज’ राम्रो बनाउन खोजेको पाइएको छ । अन्यथा आमा, न बाबु– कतैबाट पनि रवि र निकिताको बाजुरासँग साइनो देखिन्न ।  

बाजुरालाई केन्द्रविन्दुमा राखिए पनि नारी टिभी काठमाडौंको नागपोखरीबाट सञ्चालित छ । शुरुवातदेखि नै सोही स्थानबाट कार्यक्रम प्रशारण भइरहेको छ । दर्ता गर्दा जुन स्थान राखिएको हुन्छ, त्यही स्थानबाट मिडिया चलाउनुपर्ने बताउँछन्, विभागका निर्देशक एवं सूचना अधिकारी मिनकुमार शर्मा । 

‘दर्ता गर्दा जुन जिल्ला ठेगाना राखेको छ, त्यहीँ कार्यालय हुनुपर्छ । कार्यालय सार्नु परेमा विभागलाई जानकारी गराउनुपर्छ । यहाँबाट ठाउँ सारी गरेपछि मात्रै कार्यालय सार्न सकिन्छ’, उनले भने । रवि माननीय बनेपछि सञ्चालनमा आएको नारी टिभीमा सहकारी ठगीको आरोपमा फरार गितेन्द्रबाबु उर्फ जिबी राईको अदृश्य लगानी छ ।

जिबी सञ्चालक रहेको ग्यालेक्सी फोर–के टेलिभिजनको नाममा भुक्तानी लिँदै उनीहरूले पैसा नारीमा लगेर खन्याएको देखिन्छ । स्रोतका अनुसार जिबीले ग्यालेक्सीको नाममा छुट्याएको रकम नारीमा पनि जाने गरेको थियो । स्रोत भन्छ, ‘जिबी ग्यालेक्सीलाई थप राम्रो बनाउनका लागि बचतकर्ताको पैसा ल्याएर त्यहाँ हाल्थे । रविले चाहिँ आफ्नो त्यसरी गरिएको लगानी  सट्याकसुटुक पारेर उता लैजान्थे । सरकारी कार्यालयमा दुईटा सामान किन्यो भने पाँच वटाको बिल बन्छ नि ! त्यहाँ पनि त्यस्तै हालत थियो ।’

रविको लहैलहैमा लागेर जिबीले खोलेको ग्यालेक्सी फोर–के टेलिभिजनको नामसमेत आफूखुशी परिवर्तन गरिएको पाइएको छ । ग्यालेक्सी एचडी भनी दर्ता गरिएकोमा उनीहरूले फोर–के बनाएका हुन् । हाल ग्यालेक्सीको प्रशारण बन्द छ । यता, जिबीको प्रत्यक्ष सेयर रहेको मुनलाइट टिभीमा गीत मात्रै बजिरहेको छ । पुरानो बानेश्वरमा कार्यालय रहेको सो टेलिभिजन रास्वपाका तत्कालीन चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले चलाइरहेका छन् ।

टिप्पणीहरू