कम्बोडिया काण्ड
देशभरि मात्र होइन, विदेशभरिसमेत चर्चा छ कमरेड केपीको कम्बोडिया लगानी । त्यो पनि भन्दा चीन जान लागेको बेला।
मान्छे चीन जान लागेको छ, यही बेला कम्बोडियामा लगानीको चर्चा चलिहाल्यो । अब त यस्तो लाग्छ, उहाँले चिनियाँलाई लगानीका लागि आह्वान गर्ने होइन, चीनले नै उहाँलाई लगानीको लागि आग्रह गर्ला ।
बिचरो चीनलाई यथार्थ के थाहा, उसलाई त जसरी होस् लगानी चाहिएको छ । केपीले कम्बोडियामा लगानी गरेको थाहा भएपछि चीनमा पनि लगानी गर्नुहोस् भनेर आग्रह आउनु स्वाभाविकै हो । हल्लै भए पनि केही छैन । यसले उहाँको चीन भ्रमण सफल बनाउने भयो । योचाहिँ राम्रो कुरा हो ।
तर, कुरो अलिकति शंकास्पद छ । किनभने कमरेड केपी त यो लगानी आफ्नो होइन भन्दै हुुनुहुन्छ । सबैले हो भनिरहेका छन्, उहाँ आफूचाहिँ होइन भनिरहनुभएको छ । होइन भन्नुपर्ने कुनै कारण त छैन । किनभने उद्योगमा लगानी गर्नु नराम्रो होइन । अब प्रश्न आउन सक्छ, स्वदेशको उद्योगमा लगानी नगरिकन किन विदेशको उद्योगमा लगानी ? यस्तो प्रश्न सोध्नेलाई हामी नै प्रश्न सोध्न चाहन्छौं– के नेपालमा लगानी गर्ने वातावरण छ ? जुन देशमा विद्युत् प्राधिकरण आफैँ उद्योगको बत्ती काट्न दौडिरहन्छ, त्यहाँ कसरी लगानी गर्न सकिन्छ ? यसको सट्टा त कम्बोडिया नै ठीक छ । भन्नुपर्ने यो हो । तर प्रम अर्कै भनिरहनुभएको छ । साँच्चै कम्बोडियामा उहाँको लगानी नभएकै हो कि क्या हो ? मलाई त शंका लाग्न थालिसक्यो ।
टिप्पणीहरू