सरकारी जग्गा कमरेडको कब्जामा
म्याग्दीको बेनीबजारस्थित सरकारी जग्गा माओवादी केन्द्रको संरक्षणमा भकाभक व्यक्तिको नाममा गएको पाइएको छ । वडा नम्बर–२ र ७ स्थित सामुदायिक वन कब्जा गरी बसेका माओवादी समर्थकलाई हटाउन नभ्याउँदै तिनका नेताले करोडौं मूल्य पर्ने जग्गा किनबेच गरेको तथ्य फेला परेको छ । २०६४ सालको संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा खाद्य संस्थानको जग्गा व्यक्तिको नाममा गएको हो ।
उनीसहित पाँच जनाको समूहले वडा नम्बर–७ मा रहेको चार रोपनी सरकारी जग्गा आफ्नो नाममा लगेको छ । जग्गा खरिद गर्नेमा पौडेलसँगै स्थानीय प्रदीप सापकोटा, मीनबहादुर कार्की, नरेन्द्रकुमार श्रेष्ठ र विष्णुप्रसाद गौतम रहेका छन् । पार्टनरसिपमा उनीहरूले किनेको सो जग्गाको लालपुर्जा प्रदीपका नाममा छ । अन्यलाई एक–दुई आना दिएर सबै जग्गा प्रदीपले कब्जा गरेका छन् ।
प्रदीपले पौने तीन रोपनी जग्गा आफूसँग राखेको जग्गा खरिदकर्तामध्येकै एक मीनबहादुरले बताए । सो जग्गा उनले भाडामा लगाएका छन् । ‘त्यहाँ झण्डै चार रोपनी जग्गा छ । हामीले त्यो जग्गा एक व्यापारीबाट खरिद गरेका हौं । तर, जति पैसा हालेका थियौं, त्योअनुसार हाम्रो भागमा जग्गा आएन । प्रदीप एक्लैले पौने तीन रोपनीमा जग्गा कब्जा गरेका छन् । लालपुर्जा उनीसँगै भएकाले हामीले केही गर्न सकेनौं’, उनले भने ।
सरकारी जग्गा कसरी पुग्यो व्यक्तिको नाममा ?
घटना २०६५–६६ सालतिरको हो । खाद्य संस्थानको स्वामित्वमा रहेको जग्गा बेच्न सरकारीस्तरबाटै निर्णय भएको देखिन्छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा क्याबिनेट बैठकले बेनी बजारस्थित कित्ता नम्बर २ (ख) १७९ र २ (ख) ३६४ को जग्गा बेच्ने निर्णय ग¥यो । सोहीअनुरुप खाद्य संस्थानले टेण्डर आह्वान गर्यो ।
हेटौंडा निवासी नरुत्तम दाहालले टेण्डर जितेर जग्गा खरिद गरे । त्यसपछि जोडिए माओवादी नेता पौडेल । जग्गा खरिदका लागि दाहालसँग कुरा मिलाउने उनी नै हुन् । पाँच जनाले पार्टनरसिपमा एक करोड २६ लाख हालेर जग्गा किने । जग्गा खरिद तथा रजिष्ट्रेशन पासका लागि पौडेलले ६ लाख, सापकोटाले २० लाख, कार्कीले ४० लाख, श्रेष्ठले ४० लाख र गौतमले २० लाख हालेको देखिन्छ ।
जनआस्थाले फेला पारेको कागजातमा कित्ता नम्बर २ (ख) १७९ को जग्गा सापकोटा र २ (ख) ३६४ को जग्गा गौतमको नाममा रजिष्ट्रेशन पास गर्ने निर्णय गरिएको उल्लेख छ । ‘हेटौंडा निवासी श्री नरुत्तम दाहालबाट कित्ता नं.२ ख १७९ श्री प्रदीप सापकोटाको नाममा र कित्ता नम्बर २ ख ३६४ श्री विष्णुप्रसाद गौतमको नाममा रजिष्ट्रेशन पास गर्ने तथा सो दुवै कित्ताहरूको क्षेत्रफल पाँचै जना पार्टनर साथीहरूको नाममा दामासही रुपमा बाँडफाँड गरी पास गर्ने निर्णय गरियो’, पत्रमा भनिएको छ ।
तर, पछि मौखिक रुपमा सापकोटाको नाममा जग्गा राख्ने सहमति भयो । ठेकेदार सापकोटाले लालपुर्जा आफ्नो नाममा बनेपछि अन्य पार्टनरलाई जग्गा दिन चाहेनन् । हातमा केही पनि नपर्ने डरले सबैले एक–दुई आनामै चित्त बुझाएका हुन् । कार्की भन्छन्, ‘लालपुर्जा हात लागेपछि उनी शक्तिशाली भइहाले । हामीलाई जग्गा दिन मानिरहेका थिएनन् । बल्लतल्ल एक–दुई आना लियौं । पैसा लगानी गरिसक्यो, केही नपाउनुभन्दा त थोरैमै चित्त बुझाएको बेस भन्ने लाग्यो ।’
नगरपालिकाको भागमा चार आना
खाद्य संस्थानको चार रोपनी जग्गामध्ये बेनी नगरपालिकालाई चार आना दिइएको छ । सरकारी जग्गा व्यक्तिको नाममा गएको थाहा पाउँदापाउँदै नगरपालिका चार आनामा चित्त बुझाएर बसेको छ । प्रवक्ता रमेशकुमार श्रेष्ठका अनुसार उक्त चार आना जग्गा नेपाल पत्रकार महासंघ, म्याग्दी शाखालाई भाडामा दिइएको छ ।
लामो समयदेखि महासंघ सो जग्गामा बसिरहेको छ । रोचक प्रसंग के भने, सरकारी जग्गा धमाधम व्यक्तिका नाममा गइरहेको छ, आफ्नोमातहत जग्गा नहुँदा नगरपालिकाचाहिँ परराष्ट्र मन्त्रालयको जग्गामा बसेर कार्यसम्पादन गरिरहेको छ । नगरपालिका अहिले बसेको परराष्ट्रको जग्गामा पहिले गाविस सञ्चालित थियो । प्रवक्ता श्रेष्ठले सो जग्गा व्यक्तिको नाममा गइसकेकाले नगरपालिकाले केही गर्न नसक्ने बताए ।
भन्छन्, ‘त्यो जग्गा खाद्य संस्थानको हो । तर, व्यक्तिको नाममा गइसकेको छ । नगरपालिकालाई पनि चार आना दिइएको छ । नगरपालिकाले पत्रकार महासंघलाई भाडामा लगाएको छ । अहिले नगरपालिका बसिरहेको चाहिँ परराष्ट्र मन्त्रालयको जग्गा हो । पहिले यहाँ अथुरङ्गे गाविस थियो।’
कौडीको भाउमा जग्गा किनबेच
साँघुरो बेनीमा जग्गाको भाउ निकै महँगो छ । बेनी बजारमा सानो टुक्रा जग्गाको करोडौं मूल्य पर्छ । त्यहाँ एक हात जग्गाको १५–२० लाख रुपैयाँ रहेको स्थानीय पहलबहादुर खत्री बताउँछन् । उनीहरूले चार रोपनी जग्गा एक करोड २६ लाख रुपैयाँमा खरिद गरेका हुन् । त्यतिबेलै हातको लाखौंमा बिक्री हुने जग्गा उनीहरूले कसरी एक करोड २६ लाखमा लिए ? सरकारी जग्गा कौडीको भाउमा व्यक्तिको नाममा गएपछि स्थानीयले विरोध जनाएका छन् ।
उनीहरूले नगरपालिकाको ध्यानाकर्षण पनि गराएका छन् । तर, नगरपालिकाले सुनुवाइ गरेको छैन । यतिसम्म कि नगरपालिकाले सरोकारवाला निकायमा सो विषयमा जानकारी पनि गराएको छैन । पालिकाभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा धमाधम व्यक्तिको नाममा जाँदा नगरपालिका हात बाँधेर बसेको अवस्था छ । यता, खाली ठाउँ नहुँदा बालबालिका र स्थानीय मर्कामा परेका छन् । बालबालिकालाई खेल्ने ठाउँको अभाव भएको छ ।
सरकारी निकायलाई केही कार्यक्रम गर्न खाली ठाउँसमेत छैन । स्थानीय खत्री खाली जग्गा नहुँदा वृद्धवृद्धा र स्थानीयलाई निकै असहज भएको दुःखेसो पोख्छन् । ‘बेनी बजार निकै साँघुरो छ । खाली जग्गा भेटिन छोडेको छ । बालबालिका खेल्ने ठाउँ छैन । वृद्धवृद्धा कहाँ बस्ने ? सरकारी जग्गा व्यक्तिहरूले कब्जा गरिरहेका छन् । तैपनि नगरपालिका वास्तै गर्दैनन्’, उनले गुनासो पोखे । नगरपालिकाभित्र बालबालिकालाई खेल्नका लागि एउटा खुल्लामञ्च छ । त्यसैगरी, पिकनिक मनाउनका निम्ति एउटै मात्र खाली ठाउँ छ । बालबालिकाहरू खेल्नका लागि खुलामञ्च नै पुग्नुपर्ने बाध्यता छ ।
प्रतिशोध साँधियोः नेता पौडेल
जग्गा खरिदकर्ता पौडेलले आफूविरुद्ध प्रतिशोध साँधिएको बताए । सो जग्गा आफूले खरिद नगरेको उनको दाबी छ । आफ्नो नाम उल्लेख गरेर फसाउन खोजिएको उनले बताए । निर्णयमा तपाईंको पनि नाम छ नि भन्ने जनआस्थाको प्रश्नमा उनले भने, ‘बेनी सानो ठाउँ भएकाले त्यो जग्गा किनेर स्थानीय र नगरपालिकाका लागि केही गर्ने इच्छा थियो । खाद्य संस्थानले बोलपत्र आह्वान गर्यो, एक जना व्यापारीले टेण्डर हात पार्नुभयो । त्यसपछि के भयो मलाई थाहा भएन । मेरो नाम उल्लेख गरेपनि हस्ताक्षर मेरो छैन । नाम त जसले पनि लेखिदिएको हुन सक्छ । त्यो जग्गा खरिदमा मेरो कुनै संलग्नता छैन ।’
पौडेलले नकारे पनि कार्कीले उनकै सहजीकरणमा जग्गा किनेको बताएका छन् । सामूहिक रुपमा पैसा हालेर जग्गा खरिद गरेको कार्कीको भनाइ छ । जनआस्थासँग उनले भने, ‘त्यो जग्गा खरिद गर्दा सबैभन्दा ठूलो भूमिका गोविन्द पौडेलको छ । उनले भनेर त हामीले पैसा हालेका हौं । सो जग्गामा माओवादीको कार्यालय बनाउने सहमति पनि भएको थियो । तर, प्रदीप सापकोटाले धोकाधडी गरिदिए । प्रदीप करोडपति बनेर बसेका छन्, हामी भने हेरेको हेर्यै ।’
यता, खाद्य संस्थानले भने जग्गाको विषयमा अनुसन्धान अगाडि बढाएको छ । संस्थानकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले गएको शुक्रबार मात्रै जग्गा व्यक्तिको नाममा गएको विषयबारे जानकारी पाएको बताइन् । ‘हामी संस्थानको बेनीमा जग्गा छ भनेर बसिरहेका थियौं । शुक्रबार मात्र त्यहाँको जग्गा व्यक्तिको नाममा गएको कुरा नोटिसमा आयो । हामी रेकर्ड हेरिरहेका छौं । कसरी जग्गा व्यक्तिको नाममा गएछ, अनुसन्धान भइरहेको छ’, उनले भनिन् ।
टिप्पणीहरू