म जेल परुँला भन्ने त कहाँ थियो र ?

म जेल परुँला भन्ने त कहाँ थियो र ?

समस्याग्रस्त सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रकाश गुरुङ, जिबी राई, छविलाल बञ्जाडेलगायत २८ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा सहकारी ठगी मुद्दा चलिरहेको छ । १८३१ जना बचतकर्ताले १ अर्ब ३१ करोड रकम ठगी गरेको जाहेरी दिएपछि २०८० फागुन ३ मा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गुरुङ जिबी राईको विश्वासमा परेर धोका भएको बताउँछन् । तीन महिनाअघि अनुगमनमा आएका सहकारी अधिकारीले उत्कृष्ट संस्था भनेपछि मख्ख परेका गुरुङ बचतकर्ताले रकम फिर्ता नपाएको गुनासो गर्न थालेपछि जिबीहरूलाई समाती जायजेथा रोक्काको निवेदन लिएर प्रदेश सहकारी विभागदेखि प्रहरी कार्यालयसम्म पुगेका थिए । जिबी राईहरूलाई समात्नुपर्ने, गोर्खा मिडिया नेटवर्कलगायतमा गएको कर्जा रकम उठाएर बचतकर्ताको रकम फिर्ता गराउनुगर्ने जिम्मेवारी सरकारकै रहेको बताउने उनी सर्वसाधारणमाथि न्याय हुनेमा विश्वस्त छन् । १ अर्ब २ करोड रूपैयाँ ठगी गरेको मुद्दामा पुर्पक्षका लागि थुनिएका उनले ‘तपाईंंहरूले पनि सरकारलाई दबाब दिएर पहल गरिदिनुपर्‍यो’ भनी भैरहवा कारागारभित्रबाट जनआस्थालाई दोहो¥याउँदै अनुरोध गरे । 

० एक अर्ब २ करोड रूपैयाँ ठगी गरेको भनेर तपाईंलगायतमाथि मुद्दा चलिरहेको छ । सर्वसाधारणले विश्वास गरेर जम्मा गरेको त्यत्रो पैसा कहाँ गयो ?

– सबै पैसा कर्जा लगानी भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.मा पहिले गितेन्द्रबाबु राई (जिबी राई) र पछि म अध्यक्ष भएका थियौं । जिबी अध्यक्ष हुँदा धेरै लगानी भएको हो, म अध्यक्ष हुँदा अलि अलि हो । विभिन्न कम्पनी र व्यक्तिहरूका नाममा कर्जा गएको हो । 

० जिबी राई, छबिलाल बन्जाडे, दिपेश पुन, रवि लामिछानेहरूसँग कसरी चिनजान भएको थियो ?

– कुरा वि.सं. २०७२ सालतिरको हो । बुटवलमा हाम्रो मैत्रेय बचत तथा ऋण सहकारी संस्था लि. निस्कृय अवस्थामा थियो । अध्यक्ष राजु गुरुङको दुर्घटनामा परी मृत्यु भएपछि संस्था बन्द भयो । त्यतिबेला जिल्लामा सहकारी संस्थाको नयाँ दर्ता बन्द गरिएको रहेछ । एक दिन सहकारी डिभिजन कार्यालय भैरहवाबाट कार्यालय प्रमुख नेत्र घिमिरेले फोन गरेर कि त संस्था चलाउनुपर्‍यो, केही सरहरू (जिबीहरू) ले चलाउन खोज्नुभएको छ, चलाउने भए उहाँसँग समन्वय गरेर चलाउनु, अन्यथा संस्था खारेज हुनसक्छ भन्नुभो । त्यसपछि जिबी राई, दिपेशकुमार पुनहरू मसँग बुटवलको चौराहास्थित मैत्रेय सहकारी संस्था भएको घरमा छलफल गर्न आए । जिबीहरूले त्यसबेला काठमाडौं, पोखरा र बीरगञ्जमा सहकारी सञ्चालन गरिरहेको बताएका थिए । म साथीहरूसँग सल्लाह गर्छु भनेर उठें । टेलिफोनमा कुरा भइरह्यो । हामीले बैठक बसी गितेन्द्रबाबु राईसमेतलाई हाम्रो मैत्रेय वचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्य बनाउने र सहकारी सञ्चालन गर्न दिने कुरा गरेको र सोहीअनुसार निजले आफू सहकारीको अध्यक्ष, म उपाध्यक्ष, राजु बराल सचिव, दिपेशकुमार पुन कोषाध्यक्ष, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राई सदस्य भई निजहरूले सञ्चालन गर्ने निर्णय भएको हो । मैत्रेयको नाम परिवर्तन गरी सुप्रिम कायम भएर मैत्रेयकै दर्ता नं. १४२ (०५७/०५८) बाट सहकारी चलेको थियो । संस्था खारेज गर्नुभन्दा राम्रोसँग चलाउनु ठीक हुन्छ भन्ने लागेर नै हामीले सहमति गरेका हौं । मलाई उनीहरूसँग जोड्ने काम सहकारीको हाकिमले गरेको हो । छविलाल बञ्जाडे जोशी, रवि लामिछानेहरूसँग त चिनजानै छैन मेरो । 

सहकारी हाकिमले चलाउनु नत्र खारेज गर्दिनु भनेर भेट्न पठाएपछि के गर्नु त ।

० सहकारी चलाउन दिएबापत तपाईंंलाई अलिअलि पैसा पनि दिए कि ?

– नाइँ–नाइँ ! मैले एक पैसा पनि लिएको होइन । सहकारीलाई जीवन्त बनाउने भनेर मात्र सहमति गरेको हो । हामी सबैले संस्था बचाऔं, अनुभवी मान्छे हुनुहुँदो रहेछ भन्ने ठान्यौं नि ! 

० ठूला मान्छेहरूसँग चिनजान भयो भनेर मख्ख पर्दै गैरकानुनी काम गर्न हुन्थ्यो त ?

– त्यस्तो पनि हैन । बन्द संस्थालाई सहकारी हाकिमले समन्वय गरेर चलाउनु, नत्र खारेज गर्दिन्छु भनेर भेट्न पठाएपछि के गर्नु त ? तीन ठाउँमा राम्रोसँग चलाएका छन् भनेपछि विश्वास लाग्यो । नमिल्ने भए त सहकारीको हाकिमले नै पठाउँदैनथे भन्ने पनि लाग्यो । यस्तो गैरकानुनी काम होला, डुबाउलान्, म जेल परुँला भन्ने त कहाँ भयो र ! एकातिर तीन ठाउँ सहकारी चलाएको, अर्कातिर उपराष्ट्रपतिका छोरा नै त्यहाँ भएपछि अविश्वास गर्ने कुरा पनि त भएन । 

० उनीहरूले जहाँ जहाँ पैसा पठाउन भन्छन्, त्यहीं त्यहीं पठाउन मिल्दैन भन्ने थाहा थिएन र तपाईंलाई ?

– मैले त कहाँ पठाउनु ! अध्यक्ष जिबी राईले जे–जे भन्थे कर्मचारीले त्यही–त्यही गरे । उनी अध्यक्ष हुँदा त चेकमा मेरो सही पनि चल्थेन । बोर्डको बैठक कहिलेकाहीँ बस्थ्यो तर त्यहाँ राम्रो रिपोर्ट बताउँथे, सबै पत्याइयो । पैसा पठाउने काम त जिबी र कार्यालय प्रमुख सागर केसीहरूले गरेका हुन् । 

उपराष्ट्रपतिका छोरा नै त्यहाँ भएपछि अविश्वास गर्ने कुरा पनि त भएन ।

० तपाईंंलाई सहकारी ऐन–नियम थाहा थिएन र ?

– एकपटक बुटवल उपमहानगरले बोलाएको तालिममा गएको थिएँ तर सबै नियमअनुसार चलाएका छन् भन्ने लाग्यो । 

० ऋण लगानी गर्दा ऋण समितिबाट सिफारिस र सञ्चालक समितिबाट पास गर्नुपर्ने होइन र ?

– गर्नुपर्ने त हो । तर ऋण समिति, लेखा समिति, सञ्चालक समिति सबै नाम मात्रका । ऋण समितिबाट सिफारिस भएन जस्तो लाग्छ । सञ्चालक समितिमा ऋण दिने भनेर छलफल नै गरेनन् । ऋण दिने कुरा, कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, तलबभत्ता, घर भाडा केही निर्णय हुन्थेन । सबै जिबीले चाहेअनुसार नै भयो । मिटिङ पनि जिबी आउँदा कहिलेकाहीँ मात्र गर्थे । 

० कुनै निकायबाट सुप्रिम सहकारीको अनुगमन हुने गरेको थियो ?

– हुन्थ्यो नि हुन त ! सहकारी कार्यालयबाटै हुन्थ्यो । एक अर्बभन्दा बढी कारोबार हुने सहकारी संस्थाको सहकारी विभाग काठमाडौंले हेर्दो रहेछ । म पक्राउ पर्नुभन्दा तीन चार महिनाअगाडि ०७९ भदौतिर विभागबाट तीन जना सर आउनुभो । तीन दिनसम्म बसेर सबै कर्जा, खातापाता, हिसाबकिताब हेरेर जानुभो । उहाँहरूले अन्तिम दिन डेनोभो होटलमा बोलाउनु भो । हात मिलाउँदै ल बधार्ई छ, संस्था निकै राम्रो चलेको उत्कृष्ट रहेछ भनेर भन्नुभो । मसँगै कार्यालय प्रमुख सागर केसी पनि थिए । उहाँहरूले भनेको एउटा मात्र के हो भने अध्यक्षको नियुक्ति अलि मिलेन । यो साधारणसभाले गर्नुपर्छ । मलाई जिबी राईले अध्यक्ष मनोनीत गरेका थिए । संस्था डुबाएर मलाई बनाएका रैछन् । अब ल भन्नुस्, विभागबाट आएका कर्मचारीले उत्कृष्ट छ भनेपछि पत्याउने कि नपत्याउने ? नियमअनुसार चले नचलेको हेर्नेहरूले नै बधाई दिएपछि विश्वास गर्नुपरेन ?

० को–को थिए अनुगमनमा आउने कर्मचारीहरू ? खर्च पर्च पनि दिनुभयो होला ?

– रेकर्ड होला नि सहकारी विभागमा । तीन दिन त हाम्रै कार्यालयमा बसेर हेरेका हुन् । खर्चपर्च पक्कै दिए होलान् । सागर केसीलाई थाहा होला ।

० कति सुविधा लिनुहुन्थ्यो अध्यक्ष भएबापत ?

– बैठक कहिलेकाहीँ एक दुईपटक मात्र बस्थ्यो । त्यसबेला एक हजार भत्ता दिन्थे । अरु बेला सञ्चार र यातायात खर्च भनेर महिनामा २४ हजार दिने गरेका थिए । अरु मैले केही लिए, खाएको छैन । 

० सहकारीमा गडबडी छ भन्ने कुरा कहिले र कसरी थाहा पाउनुभयो ?

– विभागका सरहरूले उत्कृष्ट छ भनेको केही दिनमै मेरै मान्छेले बचत फिर्ता पाउन सकेनौं भने । म स्थानीय भएको हुँदा नातेदार र साथीभाइले पैसा हाम्रै सहकारीमा राखेका थिए । गुनासो आएपछि कार्यालय प्रमुख सागर केसीलाई सोधें, उनले जिबी सरले मिलाउँदै हुनुहुन्छ भने । कति जनाको त कर्जा उठाएर बचत फिर्ता पनि गराएँ । ठूलो कर्जा जिबीहरूले लगानी गरेका थिए, फिर्ता आएन । जसले गर्दा अवस्था बिग्रँदै गयो । 

जीव राईले अध्यक्ष संस्था डुबाएर मलाई बनाएका रहेछन् ।

० लिखित उजुरी वा कानुनी प्रक्रिया अवलम्बन गर्नु भो त ?

– प्रदेशको सहकारी विभाग भालुवाङ दाङमा बकाइदा निवेदन दिएको छु । तिलोत्तमा, मकवानपुर, काठमाडौं र पोखरामा सहकारी संस्था र जिबी राईको नाममा रहेका जग्गा रोक्काको माग गरेको छु । इलाका प्रहरी कार्यालय बुटवलका सागर केसीलाई पक्राउ गर्न पनि निवेदन दिएकै हुँ । गणेश अर्याल सिडिओ सापले बुटवलको डिएसपीलाई फोन गरिदिनुभयो तर न त सागर समातियो, न जिबी राई नै । मैले बेलैमा पहलचाहिँँ गरेको थिएँ तर त्यसअनुसार सहयोग नै पाइएन !

० तपाईंंले कति रूपैयाँ तिर्नु छ सहकारीमा ?

– सागर केसीले फट्याइँ नगरेको भए मैले तिर्नुपर्ने पैसा थिएन तर मेरो कर्जा चुक्ता देखाएको रहेनछ र ३०–३५ लाख कर्जा रहेको छ । मैले मेरो जग्गा एक जना बचतकर्तालाई पैसा दिन नसकेर पास गरिदिएँ । रोक्का रहेको जग्गा फुकुवा गरेर पास दिएपछि कर्जा चुक्ता हुनुपर्ने हो तर बाँकी देखाएको छ । खोज्दै जाँदा भेटिएला भन्ने आशा छ । 

० डेढ करोडभन्दा बढी देखिन्छ त कर्जा ?

– जिबी राईको स्प्रिङउड हाउजिङ कम्पनीको तिलोत्तमा नगरपालिकामा एक बिगाहा जग्गा छ । त्यो किन्न सहकारीबाट पेश्की लगेका रहेछन् मेरो नाममा देखाएर । त्यही होला । 

० सुप्रिमको सबैभन्दा धेरै कर्जा लिने मानिस को–को हुन् ?

– घुमाई फिराई जिबी राई संलग्न कम्पनीमै कर्जा लगानी रहेछ । मलाई त सहकारी संस्था समस्यामा परेपछि मात्र थाहा भो । धेरै रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि., जिबी ग्रुप अफ कम्पनिज प्रालि, नेचर नेष्ट प्रा.लि., गोर्खा ग्रुप अफ कम्पनीज प्रा.लि., स्प्रिङउड हाउजिङ एण्ड रियल स्टेट प्रा.लि., नेक्सस म्युजिक वारलगायतमा गएको छ । सबैलाई चिन्दिनँ । सबै कर्जा दिन निर्देशन दिने जिबी हुन्, ब्यवस्थापक कर्मचारीले के के गरे थाहा भएन, मसँग त सोध्दा पनि सोधेनन् । ब्यवस्थापक सागर केसी, नरेश जिसीलगायतले पनि कर्जा लिएका छन् रे !

म मात्रै हो पक्राउ परेको, अरु कुनै सहकारीका अध्यक्ष र व्यवस्थापक समातिएका छन् त ।

० कर्जा दिँदा धितो पनि लिनुपर्छ, धितो के राख्नुभएको छ त ?

– बुटवल वा यस क्षेत्रका सदस्यहरूले ऋण लिंदा धितो राखेका छन् तर जिबी राईले भनेर लगानी गरिएका कम्पनी र ऋणीका हकमा कुनै धितो छैन । न त त्यस विषयमा कहिल्यै समितिमा छलफल भयो, न कुनै निर्णय । जिबीले भन्ने, ब्यवस्थापकले दिने, कर्मचारीले सघाउने काम मात्रै भयो । 

० ठाउँ–ठाउँमा जमिन किनिएको छ रे त सहकारीको पैसाले ?

– खै, जिबीहरूले के गरे केही थाहा भएन । तिलोत्तमा नगरपालिकामा चाहिँ स्प्रिङउड हाउजिङ्ग कम्पनीको नाममा १ बिगाहा जग्गा किनेको हो, त्यो मलाई थाहा छ ।

० गोर्खा मिडियालाई त्यत्रो पैसा किन पठाउनु भो त ?

– जिबीले आफ्नो हिसाबले पठाएको हो । टिभी चलाउन पैसा चाहिन्थ्यो होला, उताबाट पैसा माग्ने, यताबाट खुरुखुरु पठाइदिने काम हुँदो रहेछ । न छलफल, न निर्णय । 

० जनताले विश्वास गरेर जम्मा गरेको पैसा यसरी जथाभावी गर्न मिल्थ्यो त ?

– नाइँ, मिल्थेन नि ! हेर्नुस् न, मेरै साथीभाइ र आफन्तको ९–१० करोड रूपैयाँ डुबेको छ । आएर भेट्छन् । बेलायत बस्नेहरूको पनि बचत थियो । आएर भेटे, तँलाई जानेर राखिदिएको हो बाबु, जसरी पनि फिर्ता गराइदे, अरु थाहा छैन भन्छन् । कति गाह्रो छ मलाई । त्यसरी लिएको पैसा जथाभावी बाँड्न मिल्दैनथ्यो । बिश्वासमा पारेर घात गरे हामीमाथि । 

रवि लामिछानेले ल्याउँछु भन्थे, एक वर्ष बितिसक्यो फेला पार्न सकेको छैन ।

० अब समस्या कसरी समाधान हुन्छ त ?

– जबसम्म जिबी राई र सागर केसीलाई ल्याइँदैन, तबसम्म केही होलाजस्तो लाग्दैन । पैसा कहाँ, किन, कसरी गयो भन्ने कुरा उनीहरूले नै बताउनुपर्छ । जिबीले चलाएका ६ वटा सहकारी संस्था समस्यामा परेका छन् । तीमध्ये म मात्रै हो पक्राउ परेको, अरु कुनै सहकारीका अध्यक्ष र व्यवस्थापक समातिएका छन् त ? अध्यक्षभन्दा पनि व्यवस्थापकलाई नै समात्नुपर्छ, अनि बल्ल समस्याको हल निस्कन्छ । 

० तपाईंं किन भाग्नुभएन ? कि थाहा थिएन पक्राउ पर्छु भन्ने ?

– म २०८० फागुन ३ मा पक्राउ परेको हुँ । एक हप्ताअघि नै पक्राउ पर्छु भन्ने थाहा थियो । त्योभन्दा अगाडिदेखि बचतकर्ताको रकम फिर्ता गराउन, जिबी राईहरूलाई पक्राउ गर्न र उनीहरूको जायजेथा रोक्का गर्न लागेको मान्छे हुँ । सहकारी विभागमा निवेदन दिने, ईप्रकामा निवेदन दिने, सिडिओलाई भेट्ने काम अरुले गरेको हो र ! सबै बचतकर्तालाई अघि लगाएर हिँडेको मान्छे हुँ म । सहकारी हिनामिना प्रकरणमा मेरो सहभागिता हुन्थ्यो भने भाग्थें, लुक्थें होला नि !

० तपाईं त एमालेको कार्यकर्ता हो क्यार ! पार्टीका तर्फबाट केही पहल भएको छ कि ?

– म कार्यकर्ता त हो तर यो विषयमा पार्टीसँग कुनै सरोकार छैन । पार्टीका कसैले चासो दिएका पनि छैनन्, मैले पनि कसैलाई केही भनेको छैन ।

० १८३१ जना बचतकर्ताको पैसा कसरी फिर्ता गर्नुहुन्छ अब ?

– जिबी राईहरूका कम्पनीमा भएको लगानी उठोस् सबै पैसा फिर्ता हुन्छ, कुनै समस्या पर्दैन । पेश्कीको रूपमा गएको होस् वा कर्जाको रूपमा, त्यो सबै उठाउन सरकारले पहल गर्नुप¥यो ! सरकारकै मान्छेले आएर उत्कृष्ट सहकारी किन भने ? के अनुगमन गरे ? यो पनि खोजबिन गर्नुपर्ने हो ।

० अध्यक्ष भएर पदीय जिम्मेवारी निर्वाह नगरी गलत गरेछु भन्ने लाग्दैन ?

– ठूलो गल्ती गरें ! म साधारणसभाबाट सदस्यहरूले चुनेर अध्यक्ष भएको होइन, जिबी राईले ल तपाईं अध्यक्ष भने, बसें । यहींनेर गल्ती भयो । सायद निर्वाचित भएको भए यस्तो हुँदैनथ्यो कि ! के गर्नु अब, गल्ती भैहाल्यो । 

० जिबीहरूसँग कहिलेदेखि सम्पर्क भएको छैन ?

– पोहोर सालको दशैं आसपासतिर हो पछिल्लो सम्पर्क । म प्रदेश सहकारी विभागमा निवेदन लिएर गएँ, त्यतिखेर मिलाउँदै छौं भन्थे । त्यसपछि सम्पर्कमै आएनन् । 

० उनीहरू कहाँ होलान् अहिले ?

– खोइ, मलाई त के थाहा र ! मिडियाले मलेसियातिर छन् भनेर लेखेका थिए, रवि लामिछानेले ल्याउँछु पनि भन्थे, एक वर्ष बितिसक्यो, सरकारले फेला पार्न सकेको छैन । सरकार अलि लाग्ने हो भने ऊ समातिन्छ भन्ने विश्वास छ । 

० कानुनी प्रक्रियामा आउलान् त उनीहरू ?

– सरकारले ल्याउनुपर्‍यो जसरी पनि ! दुई हजार बचतकर्ताको कुरा छ । ल्याएर खाएको पैसा असुल्नुपर्छ र बचतकर्ताको पैसा फिर्ता दिनुपर्छ । मेरो चाहना सबै बचतकर्ताको एक एक पैसा फिर्ता होस् भन्ने छ । सबै कानुनी प्रक्रियामा सघाउँछु मैले ।

टिप्पणीहरू