ओलीलाई आफ्नै शहरमा अप्ठ्यारो

एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई ‘दमक फोबिया’ले सताउन थालेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रको मजबुत आधार मानिने टोल कमिटीमा ओलीका आलोचकहरू बढ्दै छन् ।
एमाले सचिवालयको बैठकमा राजावादी धेरै सल्बलाएको, आफ्नै निर्वाचन क्षेत्रमा पनि चलखेल शुरु गरेकाले तीविरुद्ध दमकमा ठूलै र्यालीसहितको प्रदर्शन गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले लगेपछि दमकफोबिया उजागर भएको बुझिन्छ । ०४७ र ०७९ मा २ चोटी तालमेल गरी जित्ने र जिताउने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग ओलीको सम्बन्ध बिग्रिएको छ भने दमक पहिचानवादी गढको रूपमा विकसित हुँदै गएको छ । कोशी प्रदेश नामकरणविरुद्ध लागेका र मुक्कुमलुङ् (पाथीभरा) बचाऊ आन्दोलनकारीको सघन उपस्थिति रहेकाले पनि ओलीको दमकफोबिया अलि बढी नै सतहमा आएको दावी गरिएको छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा रहेको ग्रासरुटका टोल कमिटीमा ओलीविरुद्ध माहोल बन्दै गइरहेको छ । एकीकृत समाजवादीका एक जना जिल्ला कमिटी सदस्य भर्खरै एमालेमै फर्किएर बिर्तामोडस्थित टोल कमिटीको अध्यक्ष भएको भित्री कारण खोतल्दै जाँदा यस्तो अवस्था देखिएको दावी स्रोतको छ । ती जिल्ला सदस्य टोलमा ५० जना एमाले संगठित सदस्य रहेको र ती सबै ओली विरुद्ध बोल्न थालेको बताउँछन् ।
ओलीको निर्वाचन क्षेत्रअन्तर्गत दमक र गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका पर्दछन् । दमकमा राप्रपाका कोशी प्रदेश अध्यक्ष राम थापा नगर प्रमुख छन् । उनलाई कांग्रेस, (माओवादी केन्द्र) र नेकपा एसले साझा उम्मेदवार बनाएर एमालेविरुद्ध जिताएका हुन् । थापा पुरानो र शक्तिशाली मण्डलेका रूपमा चिनिन्छन् । स्थानीयस्तरमा एमालेविरुद्धमा भए पनि संघीय निर्वाचनमा ओलीको पक्षमा देखिएका थिए । तर, अहिले उनी आफै शक्ति आर्जन गर्ने ध्याउन्नमा लागेका देखिन्छन् ।
प्रदेश सभामा राप्रपा समर्थित दुई सिटको लागि पनि त्यसैबेला तालमेल भएको थियो । यस्तै कारणले एमालेको जनमत भाँडिएको अवस्था छ । स्रोतका अनुसार आउँदो चुनावमा ओलीले जितेको निर्वाचन क्षेत्रबाट मेयर थापा प्रतिस्पर्धी हुने तयारीमा छन् भने राप्रपा अध्यक्ष लिङ्देनले पनि भरपुर साथ दिएका छन् । दमकको भ्यु टावरका कारण अध्यक्ष ओलीको बदनामी भएको छ भने जनमत खस्कँदो छ ।
टिप्पणीहरू