सबै सहकारी खराब कहाँ छन् र !

तीन दशकदेखि सहकारी अभियानमा होमिएका पूर्वप्रधानाध्यापक हुन् मीनराज कँडेल । धादिङमा शिक्षण पेशाबाट अवकाश पाएपछि ०५३ सालदेखि सहकारीसँग जोडिएका उनी मलेखुस्थित जनकल्याण सहकारीको संस्थापक अध्यक्ष, नेफ्स्कुनको केन्द्रीय उपाध्यक्षका अलावा राष्ट्रिय सहकारी महासंघको प्रमुख थिए । कँडेलको सहकारी यात्रा नेपालमा मात्र सीमित रहेन, एशियाली ऋण महासंघ अक्कुको प्रथम उपाध्यक्षसमेत चुनिए । पार्टी राजनीतिमा समेत उत्तिकै सक्रिय कँडेलले एमाले केन्द्रीय लेखा आयोग सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका छन् । बागमती प्रदेश लेखा संयोजक पनि उनैलाई तोकिएको छ ।
– हरि गजुरेल
० एमाले नेतृत्वको सरकारले हालै जारी गरेको ६ अध्यादेशमध्ये सहकारीसम्बन्धी अध्यादेशप्रति तपाईंहरूको पनि असन्तुष्टि देखियो । कुरा के हो ?
– सहकारीसँग सम्बन्धित अध्यादेशमा नियामक प्राधिकरण बनाउने, कर्जा सूचना केन्द्रलाई बैंक तथा वित्तीय संस्थासँग जोड्नेलगायत राम्रा कुरा छन् । त्यसैगरी, पाँच लाखसम्मको बचत फिर्तालाई प्राथमिकता दिने राम्रो पक्ष त्यसमा परेको छ । तर, मुख्यतः २ वटा विषय भने सहकारीको मूल्य र सिद्धान्तविपरीत रहेको भेटियो । सोही कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर केही नेपाल ऐनमा हालै गरिएको संशोधनलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाव दिएका छौँ।
० अध्यादेशको कुन–कुन बुँदामा तपाईंहरूको आपत्ति हो ?
‑ जिल्लामा कार्यक्षेत्र भएका सहकारीको हकमा १० लाख, प्रदेशभित्र रहेकालाई २५ लाख र त्यसभन्दा बढी कार्यक्षेत्र भएकालाई ५० लाखसम्म व्यक्तिगत बचत गर्न पाइने भनिएको छ, त्यसैमा हाम्रो गम्भीर आपत्ति हो । यस्तो क्यापिङ कहीँ–कतै छैन । यसअघि सहकारीसँग सम्बन्धित विभिन्न १८ वटै केन्द्रीय संघ र अभियानकर्मीसँग छलफल गरी बचतमा क्यापिङ लगाउने सिष्टम विश्वमा कतै छैन भनेका थियौँ । सरकारले सहकारी नियमनको काम राम्रोसँग होस्, गलत ढंगबाट कमाएको रकम सहकारीमा नआओस् भन्नका लागि नियमन प्राधिकरणले भूमिका खेलोस् भन्ने हाम्रो कामना हो । १० लाखभन्दा बढीको कारोबारबारे नेपाल राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ । त्यसलाई कडाइसाथ लागू गरियो । विनियम पनि सरकारले स्वीकृत गर्छ । विनियम स्वीकृत गर्दा संस्थाको क्षमता हेरियोस् । सहकारी संस्थाको सञ्चालक दुई कार्यकाल मात्र बस्न पाइने प्रावधाप्रति हाम्रो असहमति छ । सञ्चालकभित्र सदस्यदेखि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहितका सबै पदाधिकारी पर्छन् । कुनै पनि पदमा लगातार दुईभन्दा बढी कार्यकाल सञ्चालक बस्न नपाउने अव्यवहारिक नियम संशोधन गरियोस् भन्ने हाम्रो माग हो ।
० तीन दशकदेखि यस क्षेत्रमा लाग्दा सहकारी बिग्रदै छ, समस्या आउँदै छ भन्नेचाहिँ कहिल्यै थाहा पाउनुभएन ?
– सुधीर बस्नेतले नेतृत्व गरेको ओरियन्टलमा समस्या देखिएको १२ वर्ष भयो । अझै समाधान भएको छैन । त्यसबेला ६८ जिल्लामा रहेका डिभिजन सहकारीलाई ३८ जिल्लामा झारियो । क्रमशः साना–ठूला संस्थामा समस्या आउँदै ग¥यो । सहकारी स्वायत्त संस्था हो भने सरकार त्यसको नियामक निकाय हो । दर्ता, प्रवद्र्धन, निरीक्षण, अनुगमन सम्बन्धदेखि सुपरिवेक्षण काम प्रभावकारी ढंगबाट हुन सकेन । कतिपय ठाउँमा गलत कामलाई सुपरीवेक्षण र अनुगमन गर्ने कर्मचारी र सहकारीका व्यवस्थापकहरूले मिलेमतोमा छुट दिएको देखियो । अहिले देशभरि ३२ हजार सहकारी छन् । त्यसमध्ये ६५ प्रतिशतले वित्तीय कारोवार गर्छन् । बचत तथा ऋण सहकारीको संख्या १४ हजार छ, बहुउद्देश्यीय सहकारीसमेत जोडेर ६५ प्रतिशतले वित्तीय कारोवार गर्दै आएका छन् । तीमध्ये डेढ सय हाराहारी मात्र समस्यामा होलान् । एउटै व्यक्तिले काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्जमा सहकारी खोलेर बचतकर्ताबाट उठाएको रकम हाउजिङ, मार्ट, हाइड्रोपावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी हुन थालेपछि गर्न थालेपछि कुरा बिग्रिएको हो । आफन्तलाई ऋण दिने, आफैं ऋण लिने, धितो नै नराख्ने वा कमसल धितो राख्ने कारणले पनि सहकारी डुबेका छन् । सबै सहकारी खराब छैनन्, केहीले गल्ती गर्दा सोको बाछिटा अन्यत्र पुग्दै छ । शहरकेन्द्रित, अन्धाधुन्द खोलिएका, कार्यक्षेत्र विस्तार भएका, नियमन सुपरिवेक्षण हुन नसकेका, नियतवश खराब उद्देश्यले आएका र अनुत्पादक क्षेत्रमा लगानी गरेका करिब डेढ सय सहकारीमा मात्र समस्या देखिएको हो । यसका अलाव अर्थतन्त्रमा आएको मन्दी, तरलताका कारण पनि केही सहकारी समस्यामा परेका देखिन्छन् । कोभिड र विश्वव्यापी युद्धका कारण लगानी गरेको रकम एकैपटक नउठ्ने समस्या देखिएकै हो । सहकारी डुब्दैछ भन्ने हल्लाका कारण सबै मान्छे एकैपटक वचत फिर्ता लिन आउँदा पनि त्यस्ता समस्या देखिएका छन् । सहकारीको मालिक भनेको सदस्य हो तर सिइओ, म्यानेजरले कसरी संस्था चलाइरहेको छ भन्ने कुरामा पनि उनीहरू अनभिज्ञ रहेको देखिन्छ ।
० राम्रो गर्ने सहकारीका उदाहरण दिन सक्नुहुन्छ ?
‑ झापामा रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थामा १ लाख ८७ हजार सदस्य भएमध्ये १ लाख ४५ हजार त महिला नै छन् । १८ अर्ब हारहारीको ब्यालेन्स सिट छ, ५ सयभन्दा बढी कर्मचारी छन् । संस्थाले न्यून आय भएका ३ हजार बढी सदस्यलाई घर बनाइदिएको छ, स्वास्थ्य बीमा गराइदिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघअन्तर्गत १३ सय संस्थाका १३ लाख परिवार आबद्ध छन् । एक खर्ब ५ अर्बको कारोवार हुने त्यहाँ कुनै समस्या छैन । महिला दिदी–बहिनीले मात्र चलाएका ४ हजार १ सय सहकारी झन् अब्बल छन् ।
० सहकारी क्षेत्रलाई संविधानले नै अर्थतन्त्रले तेश्रो खम्बा मानेको छ । यी संस्थामा सुधीर बस्नेत, इच्छाराज तामाङ, भरत महर्जन, सुरेन्द्र भण्डारी, केबी उप्रेती, सिबी लामा, देवकुमार नेपाली प्रवृत्ति झाँगिंदै गएको देखिन्छ । सहकारीका नाममा सीमित व्यक्ति मोटाउने, यिनीहरूलाई केही कारबाही नहुने प्रवृत्ति मौलाउदै जाँदा तपाइँहरुलाई समाजले नराम्रो नजरले हेर्दैन र ?
‑ केही सहकारीमा परिवारवाद हावी भयो । केही सहकारी ढंग नपुगेर समस्यामा परे । श्रीमती जमानत बस्ने, श्रीमानले ऋण लिने– यस्तो बदमासी पनि भए । अहिले जसले बदमासी गरेका छन् ती व्यक्ति र समूहको लगानी रोक्का गरेर, बिक्री वितरणमार्फत् असुलउपर गरेर भए पनि राज्यले छिटोभन्दा छिटो साना वचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । केही टाट पल्टिकएका छन्् भने राज्य आफैले निश्चित कोषबाट पाँच लाखसम्म फिर्ता गर्नुपर्छ ।
० सहकारी विकास बैंकको अध्यक्ष केबी उप्रेती जेलमा हुनुहुन्छ, कांग्रेसकी ओमदेवी मल्ल अध्यक्ष भए पनि सहकारीमा एमालेकै वर्चश्व छ । कांग्रेस उपसभापति धनराज गुरुङका अलावा केवी उप्रेती, इच्छाराज तामाङ, देवकुमार नेपालीलगायत धेरैजसो दलनिकट छन् । सहकारीमा नेताहरूको यस्तो लगाव किन ?
– इच्छाराज तामाङ आफैं संविधानसभा सदस्य हुनुहुन्थ्यो । सहकारी ऐन निर्माण गर्दा अर्थ समितिमा बसेर काम गर्नुभयो । उहाँकै सहकारीमा समस्या देखियो । जनताको बचत हाउजिङमा लगानी गर्नुभएछ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार बचतको पैसा सदस्यहरूलाई ऋण दिन र राष्ट्र बैंकद्वारा जारी भएको ऋणपत्र खरिद गर्नबाहेक अन्य कम्पनीमा लगानी गर्न पाइँदैन भन्ने छ । शिवशिखर सहकारीको १४ अर्बको व्यालेन्स सिटमा ११ अर्ब बचत रहेछ । एक डेढ अर्बमात्र राखेर २१ वटा कम्पनीमा लगानी गरेका रहेछन् । डिपोर्टमेन्टल स्टोर सञ्चालन गरेको, सबै धितो बैंकमा राखेको कारण बैंकले लिलामी गर्ने अवस्था छ । यसरी नियतवशै खराबी गर्ने उद्देश्यले सहकारी खोलेका जो कोहीका राजनीतिक दलसँग सम्बन्धित भए पनि कारवाही भागिदार हुन्छन् ।
० उहाँहरूका कारण पार्टीकै बदनाम भएको फिल हुन्न तपाईंलाई ?
– व्यक्तिले बदमासी गर्दा व्यक्ति नै दोषी हुन्छ । पार्टी जवाफदेही कसरी हुन्छ र ? जुन औँलामा विष लाग्छ त्यही औंला झर्ने हो ।
० पावर र पहुँच भएका व्यक्तिले सहकारी डुबाउने, सरकारले त्यस्ता सहकारीलाई समस्याग्रस्तमात्र घोषणा गरेर छोड्ने । यस्तो हुँदा ती व्यक्ति जेल जान नपर्ने, उल्टै तिनैले करोडौंको सम्पत्ति २०– ३० लाखमा सकार्ने प्रचलन पछिल्लो समय मौलाउँदै गएको सुन्नुभएको छ ?
– अहिलेसम्म २२ वटा सहकारीलाई संघीय सरकारले समस्याग्रस्त घोषणा गरेको छ । प्रदेश सरकारले पनि केहीलाई समस्याग्रस्त घोषणा गर्दैछन् । बाग्मती प्रदेश सरकारले सिभिल सहकारीलाई समस्याग्रस्त भनिसकेको छ । समस्याग्रस्त घोषणा गर्दा सबै सञ्चालक र कतिपय कर्मचारी जेलमा छन् । केही तारेखमा छन् । केही सहकारीले सस्तो जग्गा किनेर महँगो दाममा सदस्यलाई भिडाउन लागेको पनि सुनिन्छ । त्यस्तामा सदस्य आफैं सचेत हुनुपर्छ । समस्या हेर्ने व्यवस्थापन समितिले तीनवटा संस्थाको फरफारक गरिसक्यो । अरु पनि क्रमशः फिर्ता दिइरहेको छ । तर गति अलि स्लो भइरहेको छ ।
० रवि लामिछानेले कुनै पनि अदालतमा आफू सहकारीको ऋणी होइन भनेका छन् । सहकारीको मर्मले के भन्छ ?
– सहकारीको मूल नेतृत्व जिबी राई नै भए पनि उनले ल्याएको पैसाबाट चल्ने संस्थामा रवि एमडी भएको कारण कानुनअनुसार जे ठहर्छ त्यो सजायँ उहाँले व्यहोर्नुपर्छ ।
० तपाईं शिक्षक पृष्ठभूमिको मान्छे, सहकारीमा जोडिनुभयो । अहिले लेखा आयोेगको सदस्य हुनुहुन्छ । कस्तो छ पार्टीको आय–व्यय ?
– बाग्मतीका १३ वटै जिल्लाअन्तर्गत ८१ वटा कमिटीको अडिट गरेका छौं । हिसाब राख्ने तरिका नजान्दा केही केही सुव्यवस्थित हुन नसकेको अवस्था छ । सिस्टमेटिक ढंगमा ढाल्नका लागि सफ्टवेयर निर्माण गरेका छौं ।
० तपाईं बीचमा दश भाइतिर लाग्नुभयो । अहिले उनीहरूको अवस्था कस्तो देखिरहनुभएको छ ?
– ०५४ सालदेखि नै पार्टीभित्र अन्तरविरोध, कमी, कमजोरी हुनसक्छन्, छलफल गरेर त्यहीँबाट निश्कर्ष निकाल्नुपर्छ भन्ने मान्यता बोक्छु । म यो भाइ, त्यो भाइ कतै थिइन । पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, गलत कुरालाई करेक्सन गर्नुपर्छ भन्ने मान्यता राख्छु ।
० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा कम व्याक हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
– मैले पनि सुनिरहेको छु । परिस्थिति र अवस्थाले एक ठाउँमा ल्याउला । अहिले उहाँसँग खासै संवाद भएको छैन ।
टिप्पणीहरू