भाइलाई दाइको सलाम, कसले घुमायो कलम ?

मुलुकमा शान्तिसुरक्षा कायम गराउने महत्वपूर्ण जिम्मेवारप्राप्त र चेनअफ कमाण्डमा चल्ने सुरक्षा फौजमा वरीयताको सवाल महत्वपूर्ण हुन्छ । सुरक्षा अधिकृतको मर्यादाक्रम तल–माथि हुँदा उनीहरुले हिनताबोध महसुस गर्ने र त्यसले समग्र सुरक्षा प्रणालीमै चुनौती थपिने खतरा रहन्छ । तर, त्यसतर्फ राज्यको ध्यान नपुग्दा तीन वर्षदेखि सशस्त्र प्रहरीको कमाण्ड सम्हालिरहेका राजु अर्यालभन्दा अस्ति सोमबार नेपाल प्रहरीको आइजीपी नियुक्त दिपक थापा वरीयतामा माथि पर्ने अवस्था छ ।
गणतन्त्रपछि कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेला त्यसबेलाका सचिव उमेश मैनालीको रुचिअनुसार सुरक्षा निकायको मर्यादाक्रमसम्बन्धी नयाँ प्रावधान ल्याइएको थियो । जसमा कर्मचारीको वरिष्ठता होइन, सुरक्षा निकाय अर्थात् नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई क्रमशः लिपिबद्ध गरिएको छ । जबकि त्यसअघि जुनसुकै सुरक्षा निकायमा कार्यरत अधिकृत भए पनि जागिर शुरु गरेको मितिले अवधि गणना गरेर वरिष्ठताको आधारमा मर्यादाक्रम निर्धारण गर्ने व्यवस्था थियो ।
०७६ वैशाख १६ गते राजपत्रमा प्रकाशित र पछि संशोधित मर्यादाक्रमसम्बन्धी प्रावधानले कनिष्ठलाई वरिष्ठले सलाम ठोक्नुपर्ने भएपछि सुरक्षा निकायमा असन्तुष्टि बढेको छ । र, पछिल्लो पटक त्यसको मारमा परेका छन्, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र सशस्त्रका आइजी राजु अर्याल । मर्यादाक्रमको १२ औं नम्बरमा एकै लहर नाम राख्दै जाँदा नेपाल प्रहरीभन्दा सशस्त्र र राअविलाई तल पारिएको हो । नेपाल प्रहरीलाई उपल्लो वरीयतामा राखिएकाले ३ वर्षअगाडि नै आइजीपी भए तापनि राजुले नयाँ आइजी दिपक थापालाई उर्दीको, राजकीय र औपचारिक कार्यक्रममा भेट्दा र आशनग्र्रहण गर्नुअघि सलाम गर्नुपर्नेछ । दुई वर्षअघि वसन्त कुँवर नेपाल प्रहरीको आइजी हुनुभन्दा पहिले नै सशस्त्रको नेतृत्व गरिसकेका राजु त्यसैकारण वरीयतामा तल परे । अनौठो चाहिँ अहिले वरीयतामा उनीभन्दा माथि पुगेका आइजी थापा तीन वर्षअघि राजु आइजी हुँदा नेपाल प्रहरीको एसएसपी मात्रै थिए ।
‘कानुनमा ठ्याक्कै किटान गरिएको त छैन तर सेना, प्रहरी, सशस्त्र अनि राष्ट्रिय अनुसन्धान विभाग क्रमशः माथि हुने संविधानको आशय र त्यसका आधारमा बनेको मर्यादाक्रमले यस्तो स्थिति पैदा भएको हो’, एकजना अवकाशप्राप्त प्रहरी अधिकारीले भने । उनका अनुसार पहिला इन्स्पेक्टर नियुक्त भएको मितिको आधारमा स्वतः वरिष्ठ मानिन्थ्यो । गणतन्त्र दिवस, संविधान दिवस, सेना दिवसलगायत राज्यका औपचारिक कार्यक्रममा सिट व्यवस्थापन र मर्यादाक्रम त्यसैगरी मिलाइन्थ्यो । तर, अहिले यस्ता कार्यक्रममा सशस्त्रका आइजी सिनियर भए पनि नेपाल प्रहरीका आइजीलाई पहिले आशनग्रहण गराइन्छ ।
अर्कोतिर, सेनापतिभन्दा तलको तीनतारे जर्नेललाई अरु तीनवटै सुरक्षा संगठनका प्रमुखभन्दा माथि पारिएको छ । एउटा संगठनको नेतृत्व गर्ने व्यक्ति सेनाको लेफ्टिनेन्ट जर्नेल मुनि हुनुपर्ने स्थितिले पनि फौजमा हिनताबोध बढेको सहजै अनुमान गर्न सकिन्छ । यता, युएन मिशनमा जाने टोलीको कमाण्ड सम्हाल्ने सन्दर्भमा पनि यस्तै स्थिति कायम छ । अहिले प्रहरी र सशस्त्रलाई संयुक्त रुपमा विदेश पठाउने गरिएको छ । तर, कन्टिन्जेन्ट कमाण्डर तोक्दा इन्स्पेक्टरमा जागिर शुरु गरेको आधार पछ्याइँदैन । नेपाल प्रहरीलाई वरीयतामा माथि मानेर सोही दर्जाको अधिकृतलाई कमाण्डर बनाइन्छ ।
मर्यादाक्रमको विवाद सुरक्षा निकायमा मात्र नभई राज्यका अन्य निकायमा पनि देखिन्छ । जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको भन्दै शुरुबाटै एकथरीले असन्तुष्टि पोखिरहँदा काठमाडौँ महानगरका मेयरको वरीयता बढी विवादमा परेको छ । २०७४ सालको निर्वाचनपछि स्थानीय सरकारका पदाधिकारीलाई समेत समेटेर सरकारले नयाँ मर्यादाक्रम जारी गरेको थियो । जसमा काठमाडौं महानगरपालिकाका मेयरलाई संघीय सांसद, प्रदेशका मन्त्री, प्रधानसेनापति र मुख्यसचिवसरह नवौंं स्थानमा राखिएको थियो । देशको मुख्य सचिव र सेना प्रमुखको वरीयता एउटा महानगरको प्रमुखसरह तोकिएको भन्दै असन्तुष्टि चर्किएको छ ।
टिप्पणीहरू