ज्ञानेन्द्रले गद्दी यसै गुमाएनन्

पूर्वराजा ज्ञानेन्द्रलाई पुनः गद्दीनसिन गराउने सपना बुनेकाहरूको नेतृत्व लिएका नवराज सुवेदीदेखि सांसद ज्ञानेन्द्र शाहीसम्मको भनाइ र चर्तिकला हेर्दा राजा फर्कने त होइन तर यिनले आफ्नो दुनो सोझ्याउने काम भने राम्रैसँग फत्ते गर्ने विश्लेषण हुन थालेको छ । राजा फर्काउने अभियानमा संलग्न राप्रपा र कथित सामाजिक अभियन्ताहरूको अभिव्यक्ति र क्रियाकलापका आधारमा यस्तो निश्कर्ष निकालिएको हो । नवराज सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’मा पूर्वराजा ज्ञानेन्द्रबारे एउटा स्मरण लेखेका छन् । सो लेखको आधार लिने हो भने फर्किन तयार ज्ञानेन्द्र अर्काको कमाइमा नाफा खान खोज्ने र मख्खीचुस देखिन्छन् ।
उनै सुवेदी अहिले ज्ञानेन्द्रलाई संवैधानिक राजा बनाउने समितिको नेतृत्व गर्दैछन् । मञ्जुश्री थापाले आफ्नो पुस्तक ‘फरगेट काठमाडौं’मा बहुचर्चित गलैंचा काण्ड पूर्वराजा ज्ञानेन्द्रको नियोजित षड्यन्त्रअनुरूप घटाइएको र उनका पिताश्री पूर्व मन्त्री डा. भेषबहादुरलाई त्यसमा मुछेर पतन गराइएको व्यहोरा उल्लेख छ । जानकारहरूका अनुसार २०४० सालमा सूर्यबहादुर थापालाई प्रधानमन्त्रीबाट हटाउन तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले भूमिका निभाएका थिए । थापाले देश बिगार्न भूमिगत गिरोह क्रियाशील रहेको अभिव्यक्ति दिएपछि उनलाई राजिनामा दिन बाध्य बनाइएको थियो ।
राजाले ०६१ माघ १९ गते कु गरेपछि बनाएको सरकारका सबैजसो मन्त्री थपना मात्रै थिए । ज्ञानेन्द्रले नै प्रधानमन्त्रीसहितको कार्यकारी अधिकार एकलौटी लिएको बेला उपाध्यक्ष भनिएका तुलसी गिरी र कीर्तिनिधि विष्टका नाममा दरवारबाटै सबै कुरा बनिबनाउ आउँथ्यो । कामकुरा मुख्यसचिव लोकमानसिंह कार्कीले नै गर्थे । यसैकारण तत्कालीन राजा बदनाम हुँदै गए । यसै विषयलाई लिएर उपाध्यक्षद्वय गिरी र विष्टले एकदिन दर्शनभेटको बेला ‘सरकारलाई भार भो, हामीले अध्यक्ष वा प्रधानमन्त्री बन्न खोजेको भन्ने नपरोस्, हामीमध्ये जसलाई मन लाग्छ, बक्सियोस्’ भनेका थिए । दुवैले मन्त्रिपरिषद्को अध्यक्ष छाडी राजामात्रै हुनु हितकर छ भन्ने आशयसहित उक्त बिन्ती बिसाएका थिए ।
तर भोलिपल्टको क्याबिनेट बैठकमा मन्त्रिपरिषद्को अध्यक्षसमेत रहेका तत्कालीन राजाले ‘तिम्रा उपाध्यक्षहरू मलाई अध्यक्ष छोड भन्छन्, म के गरुँ ?’ भन्ने सवाल तेस्र्याए । राधाकृष्ण मैनालीबाहेकका अन्य सब मन्त्रीले ‘छोडिबक्सनुहुन्न, सरकार डुब्छ’ भन्दै चाकरी बजाएपछि राजतन्त्र भड्खालोमा पर्न थाल्यो । जनभावना साप्ताहिकका प्रधान सम्पादक निरोधराज पाण्डेले कीर्तिनिधी विष्टसँगको भेटमा ‘यस्तो बेइज्जत भएर के बसिराखेको ?’ भन्दै प्रश्न उठाउँदा ‘के गर्छस् निरोध, छोड्नु हुँदैन, यी राजासँग डर लाग्छ’ भन्ने जवाफ फर्काएको बताइन्छ ।
राजाको जगजगी चलेको त्यसबेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बुद्धिमान तामाङको मन्त्रालयका सहसचिवलाई एक्कासी सरुवा गरियो । मन्त्रीले एउटा समस्याबारे ब्रिफिङ लिन खोज्दा सहसचिवले जवाफ तर्काउने, सोफामा बसेर टाउको हल्लाउने गरेको बुझेपछि सचिवलाई च्याम्बरमा बोलाएर ‘मैले उसलाई केही कामको जिम्मेवारी दिएको छु । तपाईंले फलोअप गरिदिनुपर्यो’ भन्न मात्र भ्याएका थिए सचिवले ‘हजुरलाई थाहा छैन ? उसको त सरुवा भइसक्यो ।
रमानापत्र तल टाइप हुँदैछ भन्ने जवाफ फर्काउँदा जिल्लिन पुगे । यो सुनेपछि राँक्किएका तामाङले तत्कालै उपाध्यक्ष तुलसी गिरीलाई भेट्दै सहसचिवको सरुवा नरोके राजीनामा दिन्छु, यस्तो हालतमा कसरी काम गर्न सकिन्छ ? भन्दै बम्किए । प्रतिउत्तरमा गिरीले ‘भविष्यमा राजनीति नगर्ने भए राजीनामा गर, गर्ने भए चुपचाप बस’ भनेको स्रोतको दावी छ । अर्थात् राजदरवारका सचिवहरू र मुख्यसचिव कार्कीले यसरी राजा ज्ञानेन्द्रको नाममा शासन चलाउँथे । त्यसैगरी तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री बुद्धिराज बज्राचार्यलाई थाहै नदिई सचिव सरुवा गरियो ।
पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्ययोजना तयार गर्न अघि बढेका बज्राचार्यलाई मन्त्रालय जाँदा सचिवको विदाइमा सामेल हुन निम्ता दिइएपछि मात्रै थाहा भएको थियो । त्यसो त ज्ञानेन्द्र कस्ता हुन् भन्ने बुझ्न उनी सक्रिय हुँदाका मन्त्री राधाकृष्ण मैनालीको उनी सानो गुटमा रमाउने, चाकरी मनपराउने व्यक्ति हुन् भन्ने ‘नलेखिएको इतिहास’ अध्ययनबाट जानकारी पाउन सकिन्छ । यस्तो प्रवृत्तिको पुष्ट्याइँका लागि कमल थापालाई भित्तैमा पुग्ने गरी थला पारिएको प्रकरण नै काफी हुन्छ । २०६२/०६३ सालदेखि कमल थापाले राजाको एजेण्डा बोकेर हिँडेका हुन् । पशुपति समशेर राणाले गणतन्त्र स्वीकार गरेकै थिए । संविधान सभाबाट राजतन्त्र हटाउँदा अनुपस्थित हुने त लोकेन्द्रबहादुर चन्द मात्रै हुन् ।
त्यसबेला सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दसहित कमल थापाको राप्रपा र राजावादीसमेत संसदमा ८ जना थिए । २०७० साल मंसिर ४ गतेपछि निर्वाचित भएका र समानुपातिकमा गएकाले एक÷दुईलाई छोडेर गणतन्त्रकै पक्षमा उभिए । त्यसबखत सूर्यबहादुर थापा र प्रकाशचन्द्र लोहनीसमेतले गणतन्त्रकै पक्षमा भोट हालेका हुन् । त्यसबेला पनि कमल थापा, समानुपातिक रामनारायण सिंह, चन्द्रबहादुर गुरुङ, बबिना मुक्तान तामाङ र कुन्ति शाहीले गणतन्त्रको विपक्षमा भोट हालेका थिए । संविधान सभाको दोस्रो चुनावमा कमल थापा पक्षधरले २४ सिट जितेका थिए । त्यसबेला पूर्वराजा ज्ञानेन्द्रले कमल थापाको राप्रपाबाट फलानो फलानो व्यक्तिलाई सांसद बनाई दिनु भन्ने सूची तयार गरी अह्रनखटन गरेको बताइन्छ ।
तर उनले राजाको इच्छाअनुसार सूचीकृत भएका नामहरू कसैलाई पनि माननीय बनाउन चाहेनन् । त्यसबेला थापाले ‘पूर्वराजा ज्ञानेन्द्रलाई सांसद चाहिएको हो भने मलाई भन्नुपथ्र्यो, थर्ड पर्सनले भनेर कसरी हुन्छ’ भन्दै अस्वीकार गरेका थिए । यसैबेलादेखि राजा र थापाविच फाटो आएको दावी स्रोतको छ । त्यसबखत राजा ज्ञानेन्द्रले भन्दा पनि दरवारका सचिवहरूले आफ्नो स्वार्थनुकूल सांसद बनाउन खोजेको बताइन्छ ।
यसैकारण राजा रिसाउँदै गएपछि कमल थापाविरुद्ध राजेन्द्र लिङ्देनलाई राप्रपाको कमाण्डर बनाउनेसम्मका हर्कत भएको जानकारहरू बताउँछन् । त्यसो त पूर्वराजा ज्ञानेन्द्रले ‘राप्रपामात्रै मेरो पार्टी होइन, मेरालागि सबै पार्टी समान छन् भन्दा राप्रपाले के गर्ने ?’ भन्ने सवाल पनि खडा हुन थालेको छ । यसअघि पूर्वराजाले आफू सबैको साझा भएको अभिव्यक्ति दिइसकेका छन् । त्यसैले अहिले राजा फर्काउने एजेण्डा बोकेर हिँडेको राप्रपाले किन राजा फर्काउने ? भन्ने प्रश्न खडा भएको अवस्था छ । आपूmलाई अप्ठ्यारो पर्न लाग्यो भने यस्तो अभिव्यक्ति नदेलान् भन्न पनि सकिन्न ।
त्यसो त राजा फर्काउनेहरूले एकअर्काको नेतृत्वलाई स्वीकार्न सकेका छैनन्, दुर्गा प्रसाईंहरू राजावादी सांसद ज्ञानेन्द्र शाहीलाई खलाँसीको दर्जा दिएर हुर्मत लिन खोजिरहेका छन् । एकतावद्ध र संगठित तवरले कार्यक्रम गर्नुभन्दा आपूmखुशी योजना बनाउँदै पूर्वराजाको साखुल्ले पल्टिने प्रयासमा लागेका देखिन्छन् । यसले राजाको नाममा राजनीतिको रोटी सेक्नेहरूलाई राम्रै फाइदा पुगे पनि खास राजावादी भने चिल्लै हुने सम्भावना छ । स्रोतकाअनुसार भारतीय इशारामा नाच्नेहरूले तत्कालका लागि राजा र हिन्दू राष्ट्रको एजेण्डा अघि सार्ने र पछि राजालाई सडकमा हुत्याएर हिन्दू राष्ट्र मात्रै बनाउने अभीष्ट योगी आदित्यनाथहरूको रहेको छ ।
टिप्पणीहरू