गभर्नर सिफारिस अनिर्णित, ‘वरिष्ठ’ डेपुटी ठुस्स

गभर्नर सिफारिस अनिर्णित, ‘वरिष्ठ’ डेपुटी ठुस्स

आगामी आइतबारदेखि रिक्त हुन लागेको राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिका लागि सरकारले अझै औपचारिक सुरसार गरेको देखिँदैन । फागुन अन्तिम साता भएको छलफल र गतसाताको क्याबिनेट बैठकले अनुमोदन गरेको अर्थमन्त्री संयोजक रहेको गभर्नर सिफारिस समितिको बैठक आज साँझसम्म बसेको छैन । समितिमा भूतपूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष विश्व पौडेल छन् ।

यसअघि सरकारले भोलि साँझको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्त गर्ने योजना बनाएको अर्थ मन्त्रालय स्रोतको दाबी थियो । तर, शुक्रबारको राजावादीहरुको हिंसात्मक आन्दोलनपछि उत्पन्न परिस्थिति र संसदमा विपक्षी दलहरुको लगातारको विरोधका कारण सरकारको प्राथमिकता अन्तै परेको बताइन्छ । मन्त्रालय स्रोतले समिति सदस्यहरुले बैठकमा उपयुक्त उम्मेदवारसहित तीन जनाको नाम पदीय हैसियतका आधारमा क्याबिनेटसमक्ष सिफारिस हुने दाबी गरेको छ ।

यता, विनोद चौधरीको योजनामा गभर्नरको निम्ति अघि सारिएका भनिएका नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानाको नाममाथि समितिमा छलफल पनि नहुने बुझिएको छ । मन्त्री पौडेल र भूतपूर्व गभर्नरलाई उद्धृत गर्दै स्रोत भन्छ, ‘विवादास्पद छविका चौधरी र ढुंगानाले हल्ला गर्दैमा केही हुनेवाला छैन । विगतमा वित्तीय अपराधीको रुपमा परिचित लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठसँग घाँटी जोडेर एनसीसी बैंकको डेपुटी सीईओ र एनबी बैंकको सीईओ बनेका ढुंगानाको सम्बन्ध र सम्पर्कबारे सबै विज्ञ छन् । चिरञ्जीवी नेपाललाई गभर्नरमा नियुक्त गर्ने बेलामा गरेको खेलोफड्को र दुई वर्षअघि महाप्रसाद अधिकारीलाई बर्खास्त गरेर गभर्नर बन्न खोजिएको खेलबारे सबै जानकार छन् ।’

चौधरीको नबिल पुगेपछि उनीमाथि केही आरोप थपिएको केन्द्रीय बैंकका अधिकारीहरु स्वीकार्छन् । केही समय राष्ट्र बैंकमा काम गरेका उनी त्यहाँबाट स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गए । तर चार्टर्ड एकाउण्टेण्ट ढुंगानाले थेसिस पूरा नगरी फर्के । केन्द्रीय बैंकको खर्चमा गएका उनको योग्यता पोष्ट ग्राजुएटेडेड सरह मात्रै देखिन्छ । अध्ययन गर्न विदेश गएका उनीमाथि कोर्ष पूरा नगरेको र उपाधि नलिई फर्केको आरोप केन्द्रीय बैंकमा यद्यपि कायम छ । 

नाताले उनकै भतिजी पर्ने राष्ट्र बैंककी ‘वरिष्ठ’ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठको गतसाताको राजीनामापछि भरङ्ग भएको बताइन्छ । एमाले, काँग्रेस र केही बिचौलिया शक्तिकेन्द्रतिर ब्यालेन्सको सिद्धान्त अपनाउँदै गभर्नर उम्मेदवारको प्रचारमा लागेकी उनले श्रेष्ठको एक महिना अघिको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढेपछि आगामी वास्तविकताबारे भेउ पाएकी हुन् । 

चार वर्षअघि आफूभन्दा वरिष्ठ कार्यकारी निर्देशकहरुलाई पन्छाउँदै डेपुटीको अवसरमा पुगेकी उनले यतिखेर आफूभन्दा कनिष्ठ डेपुटी बमबहादुर मिश्र र अन्य कार्यकारी निर्देशकलाई गभर्नरमा सिफारिस गरिए राजीनामा दिनेसम्मको चेतावनी दिएको बैंकमा चर्चा छ ।

पछिल्लो समय छलफल गर्ने गरेका काँग्रेस सभापति शेरबहादुर देउवानिकट एकजना निर्देशक र युवराज खतिवडाका छोरीज्वाईंसँगको कुराकानीमा व्यक्त निलमको धारणाले बैंकको माहौल तताएको हो ।सहायकमन्त्री सरहको पदमा रहेका योजना आयोगका सदस्य श्रेष्ठलाईसमेत उनले आफू डेपुटी अरु त्योभन्दा मुनिको कार्यकारी निर्देशकको दर्जा दिँदै आएको निकटस्थहरुको बुझाइ छ । तर पहिलेका वरिष्ठ कार्यकारीहरुले उनी र मिश्र डेपुटीमा नियुक्त भएपछि कुन मन र उत्साहले चार वर्षदेखि बैंकमा काम गरे होलान् ? त्यसतर्फ कसैले ध्यान दिएको पाईंदैन ।

‘वरिष्ठ’ म्याडमले हिजो बैंकले आयोजना गरेको केन्द्रीय बैंक डिजीटल करेन्सी (सीबीडीसी) सम्बन्धी महत्वपूर्ण कार्यक्रम बहिष्कार गरेकी छन् । गभर्नर अधिकारीको कार्यकालको अन्ततिर सीबीडीसीको प्रगतीबारे समीक्षा गर्न नक्सालस्थित एक पाँचतारे होटलमा आयोजना गरिएको कार्यक्रम बहिष्कार गरेको सहभागी एकजना कार्यकारी निर्देशकले बताए ।

उनी भन्छन्, ‘गभर्नर, अर्का डेपुटी, सञ्चालकहरु उपस्थित कार्यक्रम बिदाको दिन त्यो पनि बिहान सबेरै आयोजना गरिएको भन्दै बहिष्कार गर्नुभएको थाहा पाइयो ।’ गभर्नर अधिकारीको कार्यकालको अन्ततिर आयोजित कार्यक्रमलाई महत्व नदिइएको देखाउन उनले आफू मातहतका केही विभागीय प्रमुखलाईसमेत उपस्थित नहुन घुमाउरो सन्देश पठाएको आयोजक विभागको बुझाई छ । किनकी बिहान साढे ७ बजेदेखि अपरान्हसम्म भएको कार्यक्रममा निलमसहित केही कार्यकारी र निर्देशक अनुपस्थित थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि समय माग्दा पनि नपाएपछि उनले हिजो शनिबार बिदाको दिनलाई दोष दिँदै कार्यक्रम बहिष्कार गरेको भन्न थालिएको छ । विभिन्न स्रोतबाट आफूमा लिडरसिप, भिजन र क्षमताको पूर्ण अभाव रहेको सूचना तथा जानकारी बालुवाटार पुगिसकेको संकेत पाएपछि निलमको व्यवहार पछिल्लो समय अनौठो देखिन थालेको एकजना सञ्चालकको अनुभव छ । ‘आज साँझ बसेको बैठकमा पनि उनी पहिले पहिलेको भन्दा फरक देखिइन्,’ उनले भने । 

पाँच वर्षे कार्यकाल पूरा गर्न लागेका गभर्नर अधिकारीको अध्यक्षतामा आज साँझ सञ्चालक समिति बैठक बसेको हो । भोलि इदको सार्वजनिक बिदा हुने भएकाले सम्भवतः बुधबार वा बिहीबार उनकै अध्यक्षतामा समितिको अन्तिम बैठक बस्ने गभर्नरको कार्यालयले जनाएको छ । सोही बैठकमा उनको औपचारिक बिदाई हुनेछ ।

अधिकारी आगामी शुक्रबार कार्यकालको अन्तिम दिनको रुपमा बैंकमा हाजिर हुँदैछन् । त्यो दिन मध्यान्ह पत्रकार सम्मेलन र साँझ ५ बजे कार्यकारी निर्देशक तथा निर्देशकहरुको उपस्थितिमा बिदाई कार्यक्रम राखिँदैछ । सम्पत्ति व्यवस्थापन विभागले पाँचतारे होटलमा बिदाई गर्न खोजेपछि गभर्नरले बैंककै सभाहलमा कार्यक्रम राख्न निर्देशन दिएको बुझिएको छ । 

केन्द्रीय कार्यालयमा खुल्न लागेको चमेना गृह उद्घाटनका लागि उक्त विभागका अधिकारीहरुले आज गरेको अनुरोधमा गभर्नरले रिबन काट्न कायम मुकायम ‘कार्यकारी निर्देशक’लाई जिम्मा लगाएका छन् । उक्त निर्देशनपछि हाकिमहरुले ‘नयाँ चमेना गृहमा पहिलो दिन गभर्नरसँग खाजा खाँदै फोटो खिच्ने’ अनुमति मागेका हुन् ।

टिप्पणीहरू