गभर्नर नियुक्तिको सम्भावना क्षीण

आगामी आइतबारदेखि रिक्त हुने केन्द्रीय गभर्नर पदमा नयाँ नियुक्तिको सम्भावना कम्तीमा एक साता पछाडि धकेलिँदै छ । आज बेलुकी बस्ने भनिएको क्याबिनेट बैठकमा गभर्नर नियुक्तिको तयारी गरिएको बताइएको छ । तर सिफारिस समितिको बैठक दिउँसो ३ बजेसम्म बस्न सकेको छैन ।
अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवतः आज बस्ने क्याबिनेटमा नियुक्तिको लागि प्रयास जारी छ तर सम्भावना क्षीण हुँदै गएको देखिन्छ ।’ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिमा भूतपूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन् । उक्त समितिको बैठक हालसम्म डाकिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक सम्मेलनमा भाग लिन भोलि बैंकक जाने कार्यक्रम छ । आगामी शनिबार स्वदेश फर्कने भ्रमण तालिका छ । आज नियुक्ति नभए चैत २५ गते सोमबार बस्ने क्याबिनेट बैठकमा मात्रै गभर्नर नियुक्तिको प्रस्ताव अर्थ मन्त्रालयले लैजाने सम्भावना देखिन्छ ।
टिप्पणीहरू