पूर्व बैंकरको घुस काण्ड,टेलिभिजनमा छरपस्ट
चीनको भ्रष्टाचारविरोधी सर्वोच्च निकायले हुपेई प्रान्तका पूर्व कम्युनिष्ट पार्टी प्रमुख तथा पूर्व बैंकर चियाङ चाओलियाङले गरेको भ्रष्टाचारको विवरण सार्वजनिक गरेको छ । विभिन्न सुविधाको प्रलोभनमा चियाङले गरेको करोडौं युआन घोटालाको विस्तृत विवरण सार्वजनिक गरेपछि सोही विवरणमा रहेर सरकारी टेलिभिजिन सिसिटिभीले वृत्तचित्र बनाएको छ ।
उक्त प्रकरणमा चियाङसँगै उनका दाजुभाइसमेत संलग्न भएको तथ्य अनुसन्धानको क्रममा फेला परेको छ । सोही भ्रष्टाचार काण्डको खुलासा गर्ने उद्देश्यले बनाइएको वृत्तचित्रका धेरै वटा श्रृंखलामध्ये एउटा हिजोराति सिसिटिभीले प्रशारण गरेको थियो ।
उक्त वृत्तचित्र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोगको पाँचौँ पूर्ण बैठक (प्लेनरी सेशन) का क्रममा प्रसारण गरिएको बताइन्छ । हरेक नयाँ वर्षको शुरुमा आयोजना हुने यो बैठकको उद्देश्य राष्ट्रपति सि जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानका उपलब्धिहरूको समीक्षा गर्नु र नयाँ वर्षका लागि प्राथमिकताका क्षेत्र तय गर्नु रहेको छ ।
चियाङ चाओलियाङ पछिल्लो एक दशकदेखि जारी भ्रष्टाचारविरोधी अभियानमा गिरफ्तार सबैभन्दा चर्चित पात्रमध्ये एक हुन् । गत वर्ष मात्र ६५ जना उच्चपदस्थ अधिकारीहरू उक्त अभियानको दायरामा परेका थिए, जुन हालसम्म पक्राउ परेकाहरुको उच्च संख्या हो ।
फोटोः सिसिटिभी ।
टिप्पणीहरू