हल्ला र त्यस पछाडिका हुर्मत

हल्ला र त्यस पछाडिका हुर्मत

नेपालमा सरकार मात्र होइन, ०६२/६३ को जनआन्दोलनले सत्ताको चरित्र नै परिवर्तन गर्‍यो । नागरिक स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र जनसहभागिताको नयाँ युग शुरु भयो । रैती र प्रजाबाट नागरिकमा रूपान्तरण हुनु ऐतिहासिक संघार छिचोल्नु थियो । सलामी, मलामी र गुलामीमा सीमित शाही सेना अभिजात वर्गको चंगुलबाट मुक्त भएर राष्ट्रिय सेना बन्यो । नेतृत्वमा पनि कुनै खास जातिको हैकम रहेन । तर, केही मानिस अझै पनि राजतन्त्रप्रति नोस्टाल्जिक छन् । विशेषाधिकार गुमाएकाहरू, आन्दोलनबाट आहत भएकाहरू वा अहंकारमा चोट पुगेकाहरूले पुरानो व्यवस्थालाई रोमान्टिसाइज गर्न थालेका छन् । सपना देख्न वा ‘खयाली पुलाउ’ पकाउनबाट कसैले रोक्न सक्दैन ।

सरकारको अस्थिरता, भ्रष्टाचार र गणतन्त्रले पूरा गर्न नसकेका अपेक्षाका कारण राजतन्त्रवादीहरू सक्रिय भएका हुन् । असन्तुष्ट जनतालाई आक्रोशित बनाउँदै हल्लाको माध्यमबाट समर्थन जुटाउने प्रयास जारी छ ।

के राजतन्त्रको मसान जाग्दै छ ?

धार्मिक, सांस्कृतिक, र परम्परागत मान्यताहरूमा आत्मा, भूत, र मसानबारे उल्लेख भएको पाइन्छ । केहीले वर्तमान परिस्थितिलाई राजतन्त्र पुनरागमनको संकेतका रूपमा हेर्छन् । तर, वैज्ञानिक दृष्टिकोणबाट आत्मा वा मसानको अस्तित्व पुष्टि गर्ने कुनै प्रमाण पाइएको छैन । यसलाई आस्था, परम्परा, र मिथकका रूपमा मात्र लिइन्छ ।

राजतन्त्र अब इतिहास हो । सभ्यता विकासको क्रममा राजनीतिक प्रणालीहरू विकसित भएका छन् । गति फर्किँदैन, अघि मात्रै बढ्छ, तर शिथिल अवस्थाको पुनरावलोकन हुन्छ ।

खुट्टी देखेर चाल पाइँदैन

नेपालमा राजतन्त्र पुनःस्थापनाका लागि विभिन्न समूह सक्रिय छन् । उनीहरू राजनीतिक, सामाजिक र प्रचारमूलक क्षेत्रमा केन्द्रित छन् । तर, सबैको इतिहास आफैंसँग टाँसिएको हुन्छ ।

विदेशमा रहेका ६० लाख नेपालीलाई फर्काउने योजना के छ ? बेरोजगारी समाधानका लागि नीति के हुनेछ ?

इतिहासका ‘हिस्टोरिकल बाइप्रोडक्ट’ भनिने पात्रहरू फेरि सत्ताको केन्द्रीकरण गर्न अग्रसर छन् । जस्तै, २०६१ मा ज्ञानेन्द्र शाहले तुल्सी गिरीलाई अघि सारेझैँ अहिले पूर्वपञ्च नवराज सुवेदी कमाण्डर बनाइए । सुवेदीले आफ्नो आत्मकथामा स्वीकार गरेका छन—भारतीय व्यापारी चौथमल जौटियालाई पञ्चायत सरकारलाई आर्थिक सहयोग गर्न लगाएर नेपाली नागरिकताको वाचा गरियो ।सर्पको छाला निकासीका निम्ति अनुमति दिइयो । काठमाडौंमा सुती मिल सञ्चालन गर्न दिइयो । त्यसवापत लिइएको पैसाले २०३६ सालको जनमत संग्रहमा निर्दलीय शासन जिताउने काम भयो । ताइवानी नागरिकलाई नागरिकता दिएर चीनविरोधी भूमिकामा सहायता गरेको आरोप पनि उनैमाथि छ ।

राजतन्त्र पुनःस्थापनाको मुख्य वकालतकर्ता :

–जन्मजातै दुई समूहमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्र पुनःस्थापनाको प्रमुख वकालत गर्ने दल हो । ऊ ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाउँदै संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा उठाउँछ । तर, उसकै नेताले गणतान्त्रिक संविधानअनुसार शपथ खाइसकेका छन् र वर्तमान व्यवस्थाको हिस्सासमेत बनिसकेका छन् ।

–अन्य केही भिन्न परिचय भए पनि भीडभन्दा माथि उठ्न नसकेकाहरू पनि देखिन्छन् ।    

 –ज्ञानेन्द्र शाह स्वयंले विभिन्न मन्दिर र धार्मिक स्थलहरूको भ्रमण गरिरहेका छन् ।

इतिहास बिर्सने छुट छैन

हरेक नयाँ कुराले पुराना कुरा बिर्साइदिन्छ । नेपालमा इतिहास बिर्सने प्रवृत्ति (अल्जाइमर रोग) व्यापक छ । तर, राजतन्त्रकालका बीभत्स घटनाहरू सम्झनु जरुरी हुन्छ :

–२०१७ सालदेखिका भ्रष्टाचार, दमन, र अन्यायपूर्ण हत्या (तेजबहादुर अमात्य, सरोज कोइराला, शोभाकर धनञ्जय, बैजनाथप्रसाद गुप्तासहित दर्जनौं घटना) ।

–झापा सुखानीको गैरन्यायिक हत्या । सन्धुलीका ऋषि देवकोटा, दुर्गा सुवेदी, र दलबहादुर रजनको हत्या । नमिता, सुनिताको चिच्याहट अझै सेतीका बगरमा सुनिन्छन्, भगवानका मूर्तिहरू बिदेशी म्युजियममा छन् । दरबार हत्याकाण्डको अपारदर्शी छानबिन र दरबारकै भ्रष्टाचारको गम्भीर पुनरवलोकनको अभाव छ ।

के राजा भगवानका अंश हुन्रु

नेपालमा धेरै वंशले शासन गरे—किरात, लिच्छवि, मल्ल, शाह । १०४ वर्षसम्म राणाहरूले समेत ‘श्री ३’ को उपाधि लिँदै शासन चलाए । अहिले पनि हरेक ठकुरी र राणाहरू राजाभन्दा मख्ख पर्छन् । कुन वंशको को राजा बन्ने राजतन्त्रवादीलाई खुट्याउनै धौधौ छ । काकतालीले राजा बनेका ज्ञानेन्द्र शाह गोरखकालीले पृथ्वीनारायण शाहलाई बरदान दिएझैँ एमालेले प्रज्ञाको उपकुलपति जगमान गुरुङलाई गुरु थपना गरेर गोरखा पुगे । तर ज्ञानेन्द्र मूलतः टाटा मोटर्सका डिलर, श्रीपेच धारण गरेको सोल्टी होटलका मालिक, र व्यापारी मात्रै हुन् । धर्म र राजतन्त्र एकअर्कासँग गहिरो रूपमा जोडिएका हुन्छन् । राजतन्त्रले सधैं शासनसत्ता टिकाउन धर्मलाई हतियार बनाउँछ । धार्मिक प्रचारमा आस्थाभन्दा पनि राजालाई ईश्वरको अंश मान्ने प्रवृत्तिको विश्वास जगाइन्छ । त्यसैले सत्ता टिकाउने प्रयास गरिन्छ ।

सत्ता स्थायित्वका लागि हरेक शासकले धर्मको प्रयोग गर्छन् । राजालाई धर्मसँग जोड्दा जनताले सहजै स्वीकार्ने प्रवृत्ति हुन्छ । मनोवैज्ञानिक कारणमा शासकलाई ईश्वरको अवतार मान्दा भय (दण्डको डर) र श्रद्धा (ईश्वरीय शक्तिप्रति आस्था) उत्पन्न हुने गर्छ । तर, नेपाल बहुजातीय, बहुधार्मिक, र बहुभाषिक देश भएकाले राजतन्त्र फर्किएर मनुस्मृतिअनुसारको शासन दिन सक्लारु भन्ने प्रश्न उब्जन्छ । 

जब आदर्श धान्न सकिँदैन

हरेक घटनाका पछाडि कारण हुन्छन् । तिनले नै परिवर्तनको सूत्रपात गर्छन् । लोकतान्त्रिक दलहरू—कांग्रेस, एमाले, माओवादी, र मधेसवादी—बारम्बार सरकार बनाउँदै असफल हुँदा जनतामा निराशा बढ्यो । पटक–पटक सरकार परिवर्तन भए । तर हरेक सरकारका भ्रष्टाचार र कुशासनविरुद्ध असहिष्णुताका कुनै नीति कार्यक्रम आउन नसकेर भ्रष्टता राजनीतिक उद्यम र क्षमता बन्न पुग्यो । ठूला भ्रष्टाचार काण्ड (एनसेल करछली, वाइडबडी प्रकरण, भुटानी शरणार्थी काण्ड, ललिता निवास) हरक विषयमा अदालत डइक्लिनर्स बन्यो । कमजोर न्याय प्रणाली र सुशासनको अभाव प्रष्छ देखिए । यी कारणहरूले राजतन्त्रवादीहरूलाई बलियो तर्क दिने अवसर प्रदान गरेका छन् ।

अब प्रश्न उठ्छ :

राजतन्त्र फर्किएपछि सबै जातजाति र धर्मका जनतालाई समान अधिकार मिल्छरु मनुस्मृति भन्दा माथि संविधान रहन्छ ?  विदेशमा रहेका ६० लाख नेपालीलाई फर्काउने योजना के छ ? बेरोजगारी समाधानका लागि नीति के हुनेछ ? भारतको हिन्दू राष्ट्रवादी सरकारले नेपालमा राजतन्त्र पुनःस्थापनामा भूमिका खेल्छ रु नेपालको भूराजनीतिक अवस्था कस्तो छ रु यसले घरेलु राजनीतिका शक्ति सन्तुलनमा के,कस्तो प्रभाव पार्छ ?

अन्त्यमा : आजको विश्व दक्षिणपन्थी राजनीतितिर ढल्कँदै छ । भारतीय जनता पार्टी (भाजपा) को हिन्दू राष्ट्रवादी एजेण्डाले राजतन्त्र समर्थकहरूलाई उत्साहित बनाएको छ । तर, महाकुम्भमा उर्लिएको आस्था राजनीतिक हिन्दुत्व होइन, धार्मिक आस्था हो भन्ने बुझ्न जरुरी छ ।                                    

–नेपालमा राजतन्त्रको पुनरागमन सम्भव छ कि छैन भन्ने विषय नेतृत्व, सामाजिक–आर्थिक अवस्था, र जनताको मनोविज्ञानमा निर्भर गर्दछ । –लोकतान्त्रिक सुधार खोज्ने कि राजतन्त्र स्वीकार्ने ?

– दलहरूले पुनरवलोकन गर्छन् कि खलनायक बन्छन् ?

–भ्रमपूर्ण तर्कको खेतीविरुद्ध जनमत तयार हुन्छ कि सामाजिक सञ्जालकै हल्ला हावी हुन्छ ?                  

–अब समय आएको छ—इतिहासको अग्रगमन यात्राका लागि तथ्य, तर्क र चेतनासहित गणतान्त्रिक शासक समूहको गम्भीर समीक्षा गर्दै प्रतिगमनलाई प्रतिकार गर्ने । 
 

टिप्पणीहरू