मात्तिएका अध्यक्ष मात्रिकाले झपार्दा आत्तिए

पत्रकार र पत्रकारिता पेशाको काम के हो ? सहजै उत्तर आउँछ, प्रश्न सोध्ने । प्रजातान्त्रिक मुलुकमा पत्रकारले जनताका मनमा उठेका प्रश्न निर्धक्कैसँग सोध्न पाउँछन् । दलका नेता, मन्त्री तथा राज्यको उच्च ओहदामा बसेकाहरूलाई प्रश्न सोधेकै आधारमा सत्ता र शक्तिले पत्रकारलाई अपमान गर्ने, राज्यले दिएको सुविधा (प्रेस पास) खोस्ने, निलम्बन गर्ने काम प्रेस स्वतन्त्राताविरुद्धका हर्कत हुन् ।
यद्यपि, ‘चौथो अंग’ भनिएकाहरूले पत्रकार आचारसंहिता पालना भने गर्नै पर्छ । प्रश्न सोधेकै आधारमा जोसुकैले पनि पत्रकारमाथि ‘कारबाही’ गर्न पाइँदैन । पत्रकारिता क्षेत्रको नियमन तथा अनुगमन गर्ने अधिकारप्राप्त निकाय प्रेस काउन्सिल छ । काउन्सिलले त्यसउपर के–कसो भएको हो भन्नेबारे अनुगमन, अनुसन्धान, अध्ययन गरेर कानुनबमोजिम कारबाही गर्ने अधिकार पाएको छ । काउन्सिलले आवश्यकता महसुस भएको खण्डमा अर्को ‘स्टेकहोल्डर’ निकाय नेपाल पत्रकार महासंघसँग पनि सल्लाह तथा परामर्श लिन सक्छ ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेकै आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोरकुमार श्रेष्ठ र प्रकाश ओलीको प्रवेश पास निलम्बन गर्यो । ०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लंघन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको जनाएको छ ।
पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए/नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालसँग हुँदाहुँदै उसको क्षेत्राधिकारलाई ख्याल नगरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष पत्रकार महासंघले आग्रह गर्यो । तर, यसउपर काउन्सिलले कुनै काम गरेन । न त पत्रकार महासंघले नै कुनै ‘फलोअप’ गरेको पाइयो । बरु राजनीतिक दलनिकट पत्रकारका भ्रातृ संस्थाहरूले पक्ष र विपक्षमा सामाजिक सञ्जालमार्फत निकै वकालत गरे ।
पत्रकारको प्रेस पास निलम्बनजस्तो गम्भीर विषयमा सबै पत्रकारको राय एकमत भएको पाइएन । यहाँ पत्रकारिता पेशा र प्रेस स्वतन्त्रता प्रेस कानुन सरकार पक्षका पत्रकारको लागि एउटा र प्रतिपक्षका लागि अर्को हुने गरेको देखियो । अब शुरु गरौँ दलीय पत्रकारिताको । राजनीतिक दल निकट पत्रकार र तिनका भ्रातृ संगठनहरू जस्तैः प्रेस सेन्टर, प्रेस चैतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, प्रेस नेपाल आदि भनेका दलका अघोषित ‘प्रेस सल्लाहकार’ हुन् । यिनले आफ्ना दल निकट नेताको ‘अन्धभक्त’ तरिकाले तारिफ गर्ने र आफू निकट नेता र दलले गलत क्रियाकलाप गरेको भए पनि त्यसलाई आँखा चिम्लिएर समर्थन गर्ने गरेको पाइन्छ । यस्तो क्रियाकलाप जसले गरे पनि प्रेस स्वतन्त्रताको नाममा प्राप्त छुटको दुरुपयोग हो । जनताले स्विकारेको र सम्मान गरेको ‘चौथो अंग’को घोर अपमान हो ।
गलत प्रवृत्तिविरुद्ध ‘तेरो’ र ‘मेरो’ भन्ने दृष्टिले नहेरी निष्पक्ष तरिकाले लेख्ने हो भने देशमा व्याप्त भ्रष्टाचार, अनियमितता न्यूनीकरण तथा संविधानमा उल्लेखित ‘समाजवादोन्मुख’ मार्गमा नेपाललाई अगाडि बढाउन सकिने थियो । समाजमा लोकतन्त्र (समाजवाद) विरुद्ध पश्चगामी राजावादी पक्षधरको सल्बलाहट पछिल्लो समय निकै बढेर गएको छ । यसका गलत र सही पाटा÷पक्षबीच केलाएर, अध्ययन तथा अनुसन्धान गरेर विश्लेषण गर्नु आजका ‘चौथो अंग’हरूको प्रमुख कार्यभार हो । कसैको पनि अन्धभक्तिगानले पत्रकारिताको कलम धारिलो हुँदैन, बरु यो भुत्ते हुँदै जान्छ ।
पछिल्लो समय नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन प्रेस सेन्टरमा प्रश्नसोध्नेहरूप्रति नेतृत्व निकै कठोर बनेको छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगललाई सेन्टरमा ‘विष्णु भगवान’ झैँ पूजा गर्नेहरूलाई काखा र प्रश्न गर्नेहरूलाई पाखा लगाउने गरेको आरोप छ । पत्रकार महासंघको तीन महिनाअघि सम्पन्न निर्वाचनमा पनि उनले आफ्ना पक्षकालाई कोटको खल्तीबाट क्याफेमा लगेर टिकट बाँडेको आरोप लागेको थियो । उनी अध्यक्ष भएर आएदेखि संगठनभित्र वैचारिक बहस कहिल्यै पनि नभएको देशका अधिकांश सेन्टरनिकट पत्रकारको भनाइ छ ।
माओवादी सत्तामा रहँदा आफूनिकटकालाई सरकारी नियुक्तिमा लगाउन, मन्त्रीको प्रेस सल्लाहकार बनाउन र अन्ततः आफैँ राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको स्वकीय सचिवमा नियुक्ति खाएसँगै केन्द्रीय महाधिवेशनको मिति तोकिएर पनि निर्धारित समयमा हुन सकेको छैन । एक जना सेन्टर निकट पत्रकारले नाम उल्लेख नगरिदिने शर्तमा डराउँदै भनिन्, ‘लौ न त मलाई पनि राससमा लगाइदिनु भनेको पछि थाहा भयो, त्यहाँ उनकै सिफारिसमा कांग्रेसनिकट पत्रकारलाई पठाइएछ ।’
संगठनभित्र आफूलाई ‘छोटे राजा’ ठान्नेहरू यतिबेला अध्यक्ष पद हत्याउन ज्यान फालेर खुमलटार र हात्तीवन धाइरहेका छन् । खुमलटार प्रचण्ड निवास हो भने हात्तीवन नारायणकाजी श्रेष्ठको निवास हो । पत्रकारहरूले दुःखजिलो गरेर, लेबी तिरेर जम्मा÷स्थापना गरेको कल्याणकारी कोषमा रहेको सात लाख रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भनी सेन्टरका पदाधिकारीबाटै आवाज उठे पनि महासचिव, कोषाध्यक्ष र केही पदाधिकारीहरू नेतृत्वसमक्ष प्रश्न गर्न हच्किएका/डराएका छन् ।
संगठनलाई विधिसम्मत सञ्चालन गर्न माग गर्नेहरूलाई आसन्न महाधिवेशनमा उपस्थित हुनै नदिनेगरी कारबाही तथा निलम्बन गरिएको छ । ब्राह्मणवादी सोच भएकाहरूबाट छानी छानी मधेशी, जनजातिलाई कारबाही तथा निलम्बन गरिएको छ । उनीहरूलाई स्पष्टीकरणको मौकासमेत नदिई संगठनबाट निश्कासन गर्नेसम्मको धम्की अध्यक्ष जुगल र महासचिव सन्तोष पौडेलले दिएका छन् । पत्रकारलाई प्रश्न गर्न दबाएर, तर्साएर र धम्क्याएर यिनीहरूले कस्तो संगठन निर्माणको परिकल्पना गरेका हुन् ? सेन्टरका पत्रकारहरू आफैँसँग सोध्न पनि तर्सिएका छन् ।
एकातिर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड माओवादी केन्द्रलाई अब फेरि २०६४ सालको जत्रो ठूलो पार्टी बनाउने भन्दै तराई–मधेश रुपान्तरण अभियान सञ्चालन गरी बुढेसकालमा पनि युवाझैँ दौडिइरहेका छन् । अर्कातिर प्रचण्डलाई ‘बा’ र उनको परिवारका सदस्यहरूलाई दिदी, भिनाजु, भाञ्जा, भाञ्जी भन्दै लोलोपोतो गरेर चाकडी गरिरहेका छन् । प्रश्नदेखि तर्सिएर भाग्ने वर्तमान प्रेस सेन्टर नेतृत्वले प्रचण्डको ठूलो पार्टी बनाउने योजना साकार पर्दैछन् कि तुषारापात ? यो प्रश्न गम्भीर रुपले खडा भएको छ ।
एक विश्वस्त स्रोतका अनुसार सेन्टरभित्र प्रश्न सोध्ने मधेसी,जनजातिलगायत अन्य क्रियाशील पत्रकारलाई किन कारबाही गरेको ? तुरुन्त निलम्बन फुकुवा गर्नू भन्दै माओवादी केन्द्रका एक प्रभावशाली नेता एवम् पूर्वमन्त्री मात्रिका यादव अध्यक्ष जुगलसमक्ष गर्जिएपछि उनले हुन्छ सर,म सबैको निलम्बन महाधिवेशनअघि नै फुकुवा गर्छु भनेका थिए ।
टिप्पणीहरू