के रुने पुरुषहरु नामर्द नै हुन् ?

के रुने पुरुषहरु नामर्द नै हुन् ?

रुनु भनेको मनोवैज्ञानिक तथा शारीरिक प्रतिक्रिया हो, जसमा व्यक्तिको कुनै भावना जस्तैः दुःख, पीडा, खुसी, संवेदनशीलताको कारण आँखाबाट आँसु झर्दछ, जसलाइ हामी रुनु वा रोएको भन्दछौं । रुनु भनेको केवल आँखाबाट आँसु झार्नु मात्र होइन, यसले मानिसको आन्तरिक भावनात्मक अवस्थालाई पनि व्यक्त गर्छ । दुःख, माया, पीडा, खुसी जस्ता गहिरा अनुभूतिहरु व्यक्त गर्नको लागी रुनु एक प्राकृतिक प्रक्रिया हो, यसले मन हलुका बनाउने, तनाव घटाउने तथा मानसिक सान्त्वना दिने काम गर्दछ । धेरैले रुनुलाई कहिलेकाहीँ कमजोरी वा नामर्दको संकेत मान्दछन्, जुन सत्य होइन, वास्तवमा यो मनको बोझ हल्का पार्ने एउटा महत्वपूर्ण प्राकृतिक प्रक्रिया हो ।

कतिपय फिल्म वा नाटक हेर्दा पात्रका संघर्ष र पीडाले मन छुन्छ अनि अनायासै आँसु आउँछ । कतिपय मानिसहरु भावनात्मक कुराकानी र संवादमा समेत रोएका हुन्छन् । भावना शरीरभित्रको रासायनिक प्रतिक्रिया हो । मस्तिष्कको बीचको भाग लिम्बिक सिस्टमले सबै प्रकारका भावनाहरु आफ्नो नियन्त्रणमा राखी परिचालन गर्ने काम गर्छ । आफू भित्र गुम्सिएर, दबिएर बसेको पीडा र भावनालाई आँसुको माध्यमबाट पोखिन्छ । यो स्वाभाविक प्राकृतिक प्रक्रिया हो । हाँस्दा शरीरलाई जति फाइदा हुने गर्दछ, रुँदा पनि त्यत्तिकै फाइदा हुन्छ । विभिन्न अध्ययनले पनि रुँदाखेरी शरीरका मांसपेशी सक्रिय हुने, तनाव कम हुने पुष्टि गरेको छ ।

मनभित्र आफ्नो समस्यालाई गाँठो पार्दा मनसँगै दिमाग र मुटुलाई पनि असर गर्छ । मनमा वेदना, पीडा गुम्साउनु भनेको शरीरलाई दुःख दिनु हो । मानिसले तनावलाई व्यवस्थापन गर्न नसक्दा आफ्नै स्वास्थलाई हानि पुग्ने भएकोले रुँदाखेरी उकुसमुकुस भएका कुराहरु बाहिर आउँछन्, यसले मुटुलाई फाइदा पु¥याउने देखिन्छ । जापानमा त आँशु निकाल्नको लागि क्राइङ क्लब नै संचालनमा छन् भन्ने पनि सुनिन्छ । यसलाई त्यहाँको भाषामा रुइ कात्सु भनिँदो रहेछ । त्यहाँ मानिसलाई पीडा कम गराउनको लागि रुवाउने गरिन्छ । त्यहाँ रुवाउनकै लागी विभिन्न भावानात्मक चलचित्र देखाएर, कारुणिक कथा सुनाएर वा कुराकानी गरेर मानिसको आँखाबाट आँशु निकाल्न लगाउने गरिन्छ रे ! यसबाट मनभित्रको भडास बाहिर आउने हुँदा धेरै मानिसलाई राहत मिलेको अनुसन्धानले देखाएको छ ।

बच्चाहरु जन्मिनासाथ किन रुन्छन् ?

नवजात शिशु जन्मिनासाथ रुने मुख्य कारण उसको फोक्सो सक्रिय हुनु हो । जन्मनुअघि बच्चा आमाको पेटभित्र अर्थात् आमाको नाल (Umbilical Cord) मार्फत अक्सिजन प्राप्त गरिरहेको हुन्छ तर जन्मिएपछि पहिलोपटक बच्चाले आफैं स्वास फेर्नु पर्दछ । जब बच्चा जन्मिन्छ, उसको शरीरले पहिलोपटक फोक्सोको प्रयोग गरेर अक्सिजन लिन थाल्छ । यो प्रक्रिया अचानक हुने हुँदा बच्चाको फोक्सोमा हावा भरिन्छ र त्यही क्रममा हल्का असहज अनुभूति हुनसक्छ, यसै कारण बच्चा जन्मिनासाथ सबैभन्दा पहिला रुन्छ ।

बच्चाको पहिलो रुवाइ नै उसको स्वास्थ्यको संकेत हो, जसले फोक्सो राम्रोसँग काम गरिरहेको छ भन्ने प्रमाणित गर्छ । नवजात शिशुहरु जन्मिँदा रोएनन् भने उसको श्वासप्रश्वास प्रणाली सुचारु होस् भनेर चिकित्सकहरुले कृत्रिम रुपमा उसलाई रुवाउने प्रयास गर्छन् ।

मानिस किन रुन्छ ?

मानिस जीवनमा विभिन्न कारणले रुन्छ, किनभने रुनु एक स्वाभाविक शारीरिक तथा भावनात्मक प्रतिक्रिया हो भनेर मैले माथि नै उल्लेख गरिसकेको छु । प्रियजनहरुको मृत्यु, बिछोड, आक्षेप वा असफलता जस्ता घटनाले मानिसलाई अत्यन्तै दुःखी बनाउँछ, जसले गर्दा आँखा बाट आँसु आउँछ । शारीरिक चोट वा रोगका कारण पीडाबोध हुँदापनि मानिस रुन्छ भने कहिलेकाहीँ अचानक अत्यन्तै खुसी हुँदा, कुनै ठूलो सफलता प्राप्त गर्दा, लामो समयपछि कोही मित्रजन भेट्दा वा जीवनमा ठूलो परिवर्तन आउँदा पनि मानिस रुनसक्छ ।

त्यसैगरी मानसिक तनाव, चाप, असहाय वा असहयोग महसुस हुँदापनि मानिस रुन्छ । कामको धेरै बोझ, दबाब वा व्यक्तिगत समस्याहरुले गर्दा, कसैलाई अत्यन्त माया लाग्दा, टाढिनु पर्दा, गहिरो सम्बन्धमा संवेदनशील महसुस हुँदापनि मानिस रुन्छ । अभावमा रहेको प्रेम वा न्यानो सम्झनाले पनि आँसु झर्न सक्छ । जब कसैले अन्याय सहनुपर्छ, अपमान सहनु पर्छ तब रिसलाई व्यक्त गर्न नसक्दा पनि कतिपय मानिस रुने गर्दछन् ।

कुनै मार्मिक कथा सुन्दा, चलचित्र हेर्दा, कुनै संगीतले व्यक्तिगत भावनाहरु जागृत गराउँदा वा अरुको दुःख वेदना पिर मर्का अन्याय देख्दापनि मानिस भावुक भएर रुन्छ । कहिलेकाहीँ जब मानिसले हार खाएको महसुस गर्दा, आफ्ना आवश्यकता, दुःख, पिरमर्का, भावनालाई बुझ्नुपर्नेले नबुझिदिएको देखेर, आफ्नो लक्ष्य प्राप्त गर्न नसक्दा वा आफूलाई असफल सम्झँदा पनि उसको आत्म रुने गर्दछ । सा–साना बच्चाहरुले आफ्नो आवश्यकताहरु जस्तै भोक, असहजता, डर आदि व्यक्त गर्नपनि रुन्छन् ।

रुवाइका प्रकारहरु :

रुवाइ विभिन्न प्रकारका हुन्छन्, जुन भावना र परिस्थिति अनुसार फरक पर्न सक्छन् । रुवाइका केही प्रमुख प्रकारहरु  निम्न रहेका छन् –

 १) दुःख पीडाको रुवाइ – शारीरिक कष्ट, चोट, मानसिक पीडा, थकान, जलन, हानिको महसुस वा रोगको कारणले आँसु आउनुलाई हामी दुःख वा पिडाको रुवाइ भन्न सक्छौ ।

२) खुसीको रुवाइ – अत्यधिक खुसी हुँदापनि मानिस रुन्छ, जस्तै सफलता, पुनर्मिलन, अत्यन्तै रमाइलो घटना, आश्चर्यजनक उपहार पाउँदा आदि ।

३) क्रोधको रुवाइ – अत्यधिक रिस उठ्दा वा अन्याय भएको महसुस हुँदाहुँदै पनि सहनु पर्दा आउने आँसु ।

४) भावनात्मक रुवाइ – जब कुनै पुरानो घटना, याद, संगीत वा कथा सुनेर भावनाहरु जाग्छन् र आँसु आउँछ भने व्यक्ति विशेष भावनात्मक अवस्थाबाट प्रभावित हुँदा यस्तो हुन्छ । गहिरो पीडा वा तनाबबाट मुक्ति पाउँदा पनि रोइन्छ ।

५) मायालु रुवाइ – जब कसैलाई धेरै माया लाग्छ, बिछोड हुन्छ वा गहिरो प्रेमको अनुभव हुदा निस्किने आँसु नै मायालु रुवाइ हो ।

६) नक्कली रुवाइ – कहिलेकाहीँ धेरै मानिसहरु अरुलाई प्रभाव पार्न नाटक गरेर रुन्छन् ।

७) बालकको रुवाइ – सासाना बच्चाहरु भोक, असहजता, डर वा ध्यानाकर्षण गर्नका लागि रुन्छन् ।

८) निष्क्रिय वा मौन रुवाइ – मानिसको आखाबाट आँसु बग्छ तर आवाज आउँदैन । ऊ भित्रभित्र रोइरहेको हुन्छ तर देखिँदैन । कसैले आफ्नो भावनालाई लुकाउने प्रयास गर्दा यस्तो हुन्छ तर ऊ रोइरहेको छ भन्ने भाव चाहिँ अनुहारमा प्रष्ट देखिन्छ ।

९) पिन्चे रुवाइ – यस्तो रुवाइलाई सामान्यतया मार्मिक वा गहिरो रुवाइ मानिँदैन । हरेक स–साना कुराहरुमा पनि मन दुखाइहाल्ने अनि रोइहाल्ने, फेरि उत्तिखेरै खुसी पनि भैहाल्ने प्रकृतिको रुवाइ हो यो । यस्ता मानिसहरुलाई हृदय रोग लाग्ने सम्भावना अति नै न्यून हुन्छ भनेर भन्ने गरिन्छ । आदि ।

रुवाइ विभिन्न भावनात्मक, शारीरिक र सामाजिक कारणले हुनसक्छन् । कुनै रुवाइ स्वाभाविक हुन्छ भने कुनै आत्मा देखिकै रुवाइ हुन्छ । कुनै डाको छोडेर चिच्याइ चिच्याइ रुने प्रकृतिको हुन्छ भने कुनै परिस्थितिजन्य वा बनावटी रुवाइ पनि हुन सक्छ । कोही कोहीले त रोएरै आफ्नो काम फत्ते गराउने स्वभावका पनि हुन्छन्, मानौं उनीहरुको कामै रुने हो । कतिपयले दिल खोलेर रुन्छन् । ‘दिल खोलेर रुनु’ भन्ने नेपाली उखान वा अभिव्यक्तिले कुनै व्यक्ति सम्पूर्ण भावना व्यक्त गर्दै, कुनै रोकटोक वा लाज संकोच विना आँसु झार्दै रुनुलाई जनाउँछ । यस्तो अभिव्यक्ति तब प्रयोग गरिन्छ जब कसैले गहिरो दुःख, पीडा, वेदना, खुसी वा राहत अनुभव गर्छ र त्यो भावनालाई पूर्ण रुपमा बाहिर निकाल्छ । यस्तो रोदन स्वाभाविक, असह्य वा मुक्तिकर हुन सक्छ । दिल खोलेर रुनु भनेको मनको सम्पूर्ण भावनालाई कुनै दवाबविना व्यक्त गर्दै आँसु झार्नु हो ।

पुरुष भएर रुनु हुँदैन भनेर किन भनिन्छ ?

‘पुरुष भएर रुनु हुँदैन’ भन्ने भनाइ समाजमा गहिरो रुपमा गाडिएको एक प्रकारको सामाजिक मान्यता हो, जसले पुरुषहरुलाई भावनात्मक रुपमा दबाउने प्रयास गर्छ । हाम्रो समाज लगायत धेरै परम्परा संस्कृतिहरुमा पुरुषलाई बलियो, साहसी र संयमित हुनुपर्ने अपेक्षा गरिन्छ । रुने व्यवहारलाई कमजोरी र नामर्दको संकेत मानिने भएकाले पनि पुरुषलाई बच्चैदेखी यसबाट टाढै रहन सिकाइन्छ ।

पितृसत्तात्मक परम्परागत समाजमा पुरुषलाई परिवारको पालनकर्ता, रक्षक र समस्याहरुको समाधानकर्ता मानिन्छ । यदि पुरुष रोयो भने, ऊ कमजोर देखिने डरका कारण उसलाई रुन अधिकार छैन, दिइँदैन । ‘पुरुष भएरपनि रुने ?’ अर्थात् मानौं रुने काम त महिलाको मात्रै हो भन्नेजस्तो सोचले पुरुषहरुलाई आफ्ना भावनाहरु, दुख, पीडा, असफलतालाई दबाउन बाध्य बनाइन्छ । यसले पुरुषमा दीर्घकालीन रुपमा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ, जस्तै– तनाव, डिप्रेसन र आक्रोश व्यवस्थापनको समस्या ।

यथार्थमा भन्ने हो भने पुरुषलाई पनि अरु मानिस झैं भावनात्मक रुपमा अभिव्यक्त हुने अधिकार छ । उनीहरु पनि महिलाले झैं दिल खोलेर रुन चाहन्छन् तर समाजकै कारण त्यसरी रुन सक्दैनन् । रुने कुरा कमजोरी होइन, बरु यो मन हलुका बनाउने स्वस्थ प्रक्रिया हो । आधुनिक समाजमा मानसिक स्वास्थ्यबारे खुला छलफल हुँदै गएको छ, जसले गर्दा पुरुषहरुले पनि आफ्ना भावनाहरु व्यक्त गर्न सकून् भन्ने चेतना फैलिरहेको छ । हाम्रो समाजमा भने ‘छोरा मान्छेले रुनु हुँदैन’ भन्ने भाष्य नै सिर्जना गराइएको छ ।

कोही केटा मान्छे रोएमा उसलाई सम्झाइ बुझाई गर्नेहरुले भनेको सुनिन्छ, ‘धत् छोरा मान्छे भएर पनि रुने हो ? तिमीले हिम्मत हार्नु हुँदैन ।’ आदि । नेपाली सामाजले भने जस्तै साँच्चिकै केटामान्छेले रुनै हुँदैन त ? के महिलाहरु मात्रै रुने हुन् ? पक्कै पनि होइन । विज्ञका अनुसार हाँस्ने वा रुने भन्ने कुरा मानिसका भावनासँग जोडिएका हुन्छन् । अनि के पुरुषका कुनै भावना हुँदैनन् त ? किन पुरुषले रुन नहुने सामाजिक धारणा बन्यो ? अचम्म छ !

कोही पुरुष रोएर आफ्नो भावनालाई आँसुका माध्यमबाट पोख्दा हाम्रो समाजले किन जिस्काउँछ ? दुःखका क्षणलाई आँसुमार्फत् बगाउँदा, पीडालाई अभिव्यक्त गर्दा समाजले किन रुन दिँदैन ?

महिला र पुरुषको रुवाइमा के फरक छ ?

महिला र पुरुषको रुवाइमा केही जैविक, सामाजिक र भावनात्मक फरकहरु देखिन्छन् । यी भिन्नताहरु निम्न आधारमा विश्लेषण गर्न सकिन्छ :

१. जैविक कारणहरु :

– महिलाहरुमा एस्ट्रोजन हर्मोन बढी हुन्छ, जसले भावनात्मक संवेदनशीलता बढाउँछ । पुरुषहरुमा टेस्टोस्टेरोन बढी हुने भएकाले उनीहरु कम रुने प्रवृत्तिमा हुन्छन् । वैज्ञानिक अध्ययनहरु अनुसार महिलाहरुको आँसु ग्रन्थि केही ठूलो हुने भएकाले उनीहरु पुरुषहरु भन्दा छिटो र धेरै रुन्छन् ।

२. सामाजिक कारणहरु :

– हाम्रो परंम्परा र संस्कृतिमा पुरुषलाई ‘बलियो’ बन्नुपर्ने भनिन्छ, जसले गर्दा उनीहरु खुला रुपमा रुन संकोच मान्छन् । महिलाहरुलाई भने सानै देखि भावनात्मक रुपमा खुला रहन स्वीकृति दिइन्छ । बाल्यकालदेखि नै केटालाई ‘नरुनु’ भनेर सिकाइन्छ, जसले गर्दा उनीहरुले आफ्ना भावनाहरु दबाउन सिक्छन् । महिलाहरुलाई भने आफ्ना भावना खुला रुपमा व्यक्त गर्न सहज महशुस गराइन्छ ।

३. भावनात्मक कारणहरु :

– महिलाहरु तनाव कम गर्न, भावनात्मक सम्बन्ध सुधार गर्न वा सहानुभूति प्राप्त गर्न रुन्छन् । पुरुषहरु भने अत्यन्तै पीडा, क्रोध वा गहिरो संवेदनशील परिस्थितिमा मात्र रुन्छन् । पुरुषहरु रुँदै रुँदैनन्, यदि रोए भने गहिरो गरी भक्कानिएर रुन्छन् । महिलाहरु सामान्यतया खुलेर, अरुसँग आफ्नो भावना बाँड्दै रुन्छन्, जबकि पुरुषहरु एक्लै, लुकीलुकी वा आँसु रोक्न खोज्दै रुन्छन् । एक अनुसन्धान अनुसार महिलाहरु औसतमा पुरुषहरुभन्दा २ देखि ५ गुणासम्म बढी रुन्छन् । महिलाहरु महिनावारी, गर्भावस्था र प्रसूतिपछि जस्ता अवस्थाहरुमा बढी संवेदनशील हुन्छन् भने पुरुषले जिम्मेवारी पाएपछि मात्र उनीहरु आफ्नो क्षमताको प्रयोगमा केन्द्रित हुन्छन् ।

निष्कर्ष :

रुनु कमजोरी होइन, यो मनको बोझ हल्का पार्ने एक प्राकृतिक प्रक्रिया हो । यसले मानसिक शान्ति दिन्छ, तनाव घटाउँछ, र भावनात्मक रुपमा स्वस्थ बनाउँछ । महिला र पुरुष दुवै रुन्छन् तर जैविक, सामाजिक र भावनात्मक कारणहरुले गर्दा महिलाहरु बढी खुला रुपमा रुन्छन् भने पुरुषहरु बढी नियन्त्रण गर्न खोज्छन्, यद्यपि दुवैका लागि रुनु स्वाभाविक प्रक्रिया हो, जसले मानसिक स्वास्थ्यलाई सकारात्मक रुपमा प्रभाव पार्न सक्छ ।

मन, मस्तिष्क र मुटुको सम्बन्ध एकदमै नजिकको हुने गर्दछ । मनलाई जति भारी बनायो, मुटुलाई त्यति नै असर गर्छ । यसको लागि भारी कम गराउन रुवाइले सहयोग गर्दछ । दुःख पीडालाई गुम्साएर राख्दा शरीरमा हर्मोन तलमाथि हुन्छ, जसले मुटुको कामलाई प्रभावित पार्छ । मुटुको धड्कन छिटो–छिटो हुने, रक्तचापमा गडबडी हुने जस्ता समस्या देखिन्छन् । त्यसैले कतिपय अवस्थामा आफैं आँसु आउँछ । अनि त्यसलाई रोक्ने प्रयास गर्नु राम्रो होइन । त्यो अवस्थामा रुँदा फाइदा नै हुन्छ ।

‘पुरुष भएर रुनु हुँदैन’ अर्थात ‘केटा भएर रुन लाज लाग्दैन’ अनि ‘रुने त नामर्द हो’ भन्ने केवल एक सामाजिक बनावटी धारणा हो । भावनाहरु दमन गर्नुको साटो, तिनीहरुलाई सही तरिकाले व्यक्त गर्नु नै स्वस्थ जीवनशैलीको संकेत हो ।
 

टिप्पणीहरू