किन चलेन बालेनको कविता र चलचित्र ?

बालेन नामले परिचित राजधानी शहर काठमाडौँँका मेयर बालेन्द्र साहको हरेक पोष्ट चल्छन् । उनले गरेका काममा भरमग्दुर लाइक आउँछन् । कमेन्ट आउँछन् । सेयर आउँछन् । अझ केपी शर्मा ओली, देउवा, प्रचण्ड आदिलाई गाली दिए भने त कमेन्ट, लाइक र सेयरको बाढी नै आउँछ । तर, उनको डिजिटल लोकप्रियता फिजिकल लोकप्रियतामा रूपान्तरण भएको छ त ? के बालेन्द्रको भर्चुअल ब्राण्डले रियललाइफमा पनि उत्तिकै प्रभाव राखेको छ ? छ पनि । छ्रैन पनि । उनले स्वतन्त्र मेयर भएर पाएको मतको कोणमा त्यो छ । उनले सामाजिक सञ्जाल, त्यसका इन्फ्लुएन्सर र सेलिब्रेटीहरूलाई प्रयोग गरेर जनतासँग पहुँच बनाएका थिए ।
युट्युबरदेखि मूलधारको टेलिभिजनका अन्तर्वार्ताकारहरूसँग बसेर जनजनमा पुग्न सफल भए । त्यो सफलता डिजिटल पहुँचमा मात्रै सीमित भएन । त्यो ब्यालेटमा पनि रूपान्तरण भयो । त्यही भएर त काठमाडौँँ महानगरपालिकाको प्रथम स्वतन्त्र मेयरमा लौरो चुनाव चिह्नबाट जित्न सफल भए । चुनाव जित्नुभन्दा बाहेकका प्रमुख मुद्दामा भने बलियो उपस्थिति देखाउन सकेनन् । उनले लोकप्रियता चरमचुलीमा पुगेका बेला ल्याएको कविता संग्रह ‘अश्र’को फितलो बजार उपस्थिति र गाएको गीत ‘लाज शरणम्’को बक्स अफिसमा औसत प्रदर्शनले यस्तो देखाएको छ ।
शुरुमा कुरा गरौँ कविता संग्रहको । बालेन्द्रले कविता संग्रहको विज्ञापन भावुक भएर भावुक दिनमा गरेका थिए । जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद भन्दै कविता संग्रहको प्रचार गरेका थिए । बुक हिल प्रकाशनले ल्याएको कविता संग्रहबारे सन् २०२४ अप्रिल २६ अर्थात् २०८१ वैशाख १४ को दिन बालेन्द्र साहले फेसबुकमा लेखे, ‘मेरो कविता संग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ । आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद !’ बालेन्द्रले भनेजस्तै पुस्तक सर्वत्र त हुने नै भयो । लाखौँले फलो गरेको पेजमा सार्वजनिक हुनु, बुक हिलजस्तो चलेको र धेरै मदन पुरस्कार जित्ने प्रकाशन गृहबाट छापिनु, जन्मदिनको दिन चरम लोकप्रियताको शिखर भएको बेला सार्वजनिक हुनुजस्ता विभिन्न पाटा र पक्षले उनको कविता संग्रह भव्य चल्नुपर्ने थियो ।
एक लाख ५७ हजारभन्दा धेरै लाइक, झण्डै ३७ हजार कमेण्ट र झण्डै ८ सय सेयर भएको फेसबुक पोष्टको चर्चा हेर्दा पनि कविता संग्रह लाखमा जानुपर्ने हो । अझ दराज, थुप्रैजस्ता विभिन्न अनलाइन पोर्टलमा ६६६ रुपैयाँँको किताब राखिनु, देशभर कुरिअरबाट जाने अवस्था हुनु, विदेशमा पनि बिक्री गर्ने बाटो हुनुले बालेन्द्रको किताब लाखौँ कपी बिक्नुपर्ने जानुपर्ने थियो । तर, बिकेन । प्रकाशकले यति गयो उति गयो भनेका छैनन् । चलचित्रमा जस्तो पुस्तकमा बक्स अफिस शैलीको बजार मापक पनि हुन्न । तर यत्तिचाहिँ प्रष्ट छ कि अहिले सबैभन्दा धेरै बिक्री भएका सुविन भट्टराईको ‘इजोरिया’ उपन्यास र महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’को एक छेउ पनि बिक्री भएन अश्रु । न त सोको बिक्रीले नेपाली कविता संग्रह बिक्रीको कुनै नवीन इतिहास नै बनाउन सक्यो । प्रकाशकलाई घाटा भएन । अलोकप्रिय पनि भएन तर यो किताब बालेन्द्रको सामाजिक सञ्जालजस्तो क्रेजमा रूपान्तरण भएन ।
कविता संग्रह मात्रै होइन, चलचित्रको सवालमा पनि बालेन्द्रको मोर्चा कमजोर सावित भयो । आफूले सुकुम्बासीलाई डण्डा र फुटपाथ व्यापारीलाई धरपकड गरेर आलोचना गरिए पनि बालेन्द्रले गीतमा भने त्यो पाटोलाई नजरअन्दाज गरेको जस्तो छ । ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने गीत खासमा बालेन्द्रले लाठी मुङ्ग्रा बज्राइएकाहरूले सुन्दा कस्तो लाग्दो हो ? आफैँ कल्पना गर्न सकिन्छ । यो गीत अटेको चलचित्रको बालेन्द्रले खुब प्रचार गरे । आफ्नो लाखौँ लाइक र फलोअर भएको पेजमा विज्ञापन गरे । सन् २०२५ फेबु्रअरी १० अर्थात् २०८१ माघ २८ का दिन आफ्नो पेजमा आफ्नै गीत भएको चलचित्रको भव्य प्रचार गरे । त्यहाँ झण्डै एक लाख १० हजार लाइक आएको छ । साढे पाँच हजारभन्दा बढी कमेन्ट छन् भने १८ सय सेयर देखिन्छ तर अहिले चलचित्रको प्रदर्शन हेर्दा पूर्णबहादुरको सारङ्गीको त कुरै छोडौँ, आमचलचित्रजस्तो मात्रै प्रदर्शन भइरहेको छ । बालेन्द्रको आफ्नै च्यानलबाट अपलोड गरिएको त्यो गीत महिना दिन कटिसक्दा पनि करोड क्लबमा पुग्न सकेको छै्रन जबकि उनीभन्दा कम लोकप्रिय दुर्गेश थापाको गीत तीन करोड ८५ लाख बढीपटक हेरिसकियो ।
बालेन्द्रले लेखेको किताब चलेन । फिल्म चलेन भन्ने सूचना मात्रै दिन खोजेको होइन । बालेन्द्रलाई विम्ब बनाएर एक डोमेनमा चलेको मान्छे अर्को डोमेनमा चल्दैन है मात्र भन्न खोजेको हो । एक क्षेत्रमा सफल हुँदैमा अर्को क्षेत्रमा पनि जम्दैन भन्न खोजेको मात्रै हो । डिजिटल सफलताको हुबहु रूपान्तरण फिजिकल सफलतामा हुँदैन । भर्चुअल लोकप्रियता रिफललाइफ लोकप्रियतामा रूपान्तरण हुन सक्दैन । एक व्यक्तिको लोकप्रियता उनको सारा समूहको लोकप्रियतामा हुँदै होइन ।
उसो त केपी ओलीसँग जोडिएको चलचित्र होस् वा राजेश हमाल ब्राण्ड एम्बासडर भएको एनपिएल क्लब होस्, तिनको लोकप्रियता पनि खासै भएन । धरानमा हर्क साम्पाङ भनेर परिचित हर्कराज राईले स्वतन्त्र मेयर जिते । तर, उनको समूहले २०७९ को स्थानीय चुनाव हारेको थियो । हर्कका उपमेयर दत्त लिम्बू हारे । माओवादी र कांग्रेस गठबन्धनका अइन्द्रविक्रम बेघाले जिते । हर्कले वडा नम्बर ७ मा उठाएका अशोक शर्माले त २५ मत मात्रै ल्याए । हर्कले उपचुनावमा समर्थन गरेका इलाम क्षेत्र नम्बर २ का डकेन्द्रसिंह लिम्बू हुन् वा कीर्तिपुरमा मेयरका उम्मेदवार राजमान मानव, सबैले हारे । अर्थात् जनताले हर्कलाई मेयर बन्न मात्रै मानेको हो । उनले सिफारिस गरेका जम्मैलाई जिताउन खोजेको होइन । उनको जितमा साथ दिएको हो । उनको टिमकै जितमा साथ दिएको होइन ।
यी र यस्ता उदाहरणले भन्छन् कि कुनै एक व्यक्ति लोकप्रिय भएँ भन्दैमा उसले २०८४ को चुनावमा दल खोलेर अरु ठूला दललाई बढार्न सक्दैन । एक व्यक्तिको एक क्षेत्रमा भएको लोकप्रियता अर्को क्षेत्रमा त्यसैगरी टिक्दैन । भन्नैपर्ने हुन्छ– त्यसैले सामाजिक सञ्जालको लाइक, कमेन्ट, भ्युज र सेयर अनि सब्सक्राइबरलाई मानक बनाएर बनाइने धारणाहरू सबै सही हुँदै हुँदैनन् ।
टिप्पणीहरू