कुलमान र प्रभुवीच मिलेन कुरा

कुलमान र प्रभुवीच मिलेन कुरा

सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गराउँदै छ । चुनाव आउन ५१ दिन बाँकी छ । चुनाव नजिकिएसँगै पार्टीहरुले धमाधम चुनावी एकता गरिरहेका छन् । अधिकांश पार्टी गठबन्धन गरेर चुनावमा होमिँदै छन् । 

वैकल्पिक राजनीतिक दलको रुपमा उदाएको ‘उज्यालो नेपाल पार्टी (उनेपा)’ ले पनि विभिन्न पार्टीसँग गठबन्धन गरिरहेको छ । उनेपा ऊर्जाका नायकको रुपमा परिचित पूर्वमन्त्री कुलमान घिसिङ्गको पार्टी हो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पाचौं वरियता पाएका कुलमान १२ दिनमै धोका खाएर त्यहाँबाट निस्किएर उनेपाको अध्यक्ष नियुक्त भएका छन् । हाल उनेपा चुनावका लागि विभिन्न पार्टीसँग छलफलमा छ । भदौ २३ र २४ गतेको प्रदर्शनमा खुट्टा गुमाएका राजेश पोर्तेलको राष्ट्रिय परिवर्तन पार्टी (रापपा) सँग उनेपाले चुनावी एकता गरेको छ । दुई पक्षबीच प्रत्यक्षमा उनेपाको चुनाव चिन्ह ‘चिम’ र समानुपातिकमा रापपाको चुनाव चिन्ह ‘बाँसुरी’ मा मतदान गर्ने सहमति भएको छ । 

उनेपाले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सँग पनि चुनावी एकताका लागि छलफल अगाडि बढाएको थियो । तर, आजपाले उसकै चुनाव चिन्ह ‘मोबाइल’ लिएर लड्नुपर्ने शर्त राखेको उनेपाका एक नेताले बताए । ‘बल्लतल्ल पार्टीलाई घण्टीबाट जोगाएर ल्याएको छ । फेरि फसाउने कुरा भएन । त्यसैले हामीले शर्त मानेनौं’,उनले भने ।

रास्वपामा जाँदा उनेपालाई नोक्सानी मात्र भएको ती नेताको जिकिर छ । उनेपाको केन्द्रीय सदस्य अभिनेत्री रिमा विश्वकर्मा रास्वपामै रहने भएकी छन् । उनी रास्वपाको समानुपातिक सूचीमा माथितिरै  रहेकी छन् । कुलमानको भान्जा डा.राम लामा पनि रास्वपामै बसेका छन् । उनी पनि रास्वपातर्फबाट समानुपातिक सूचीमा छन् । 

आफ्नो सहोदर भाइको ससुरा धर्मलाल तामाङ्ग भने रास्वपाबाट बाहिरिएका छन् । समानुपातिक सूचीमा परेका उनले आफ्नो नाम हटाइसके ।
 

टिप्पणीहरू