राजावादी हर्कतबारे देउवा, प्रचण्ड र माधवबीच सल्लाह

राजावादी हर्कतबारे देउवा, प्रचण्ड र माधवबीच सल्लाह

पूर्वराजा ज्ञानेन्द्रको चहलपहल र राजावादीको उत्साह देखेर माओवादी अध्यक्ष प्रचण्ड निकै भाउन्निएका छन् । उनीभन्दा केही कम अत्यासमा देखिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादी गतिविधिका पछाडि भारतीय धापको आशंका छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने राजा फर्किने सम्भावनालाई पुरै नकार्दै यसमा टाउको दुखाइराख्नु जरुरी नै नरहेको निश्कर्षमा रहेको स्रोत बताउँछ । राजावादीको सक्रियताबारे प्रसंग छेडिँदा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई यसै साता उनले भनेका छन्, ‘यो मुलुक अब गणतन्त्र बाट राजतन्त्रमा फर्कने कुनै सम्भावना छैन । न त संघीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतन्त्र नै फेरि प्रतिगमनको निशानामा पर्छ भन्ने कल्पना गर्न सकिन्छ । त्यसैले राजावादीको सक्रियताबारे चिन्तित हुन जरुरी छैन । ढुक्क भए हुन्छ ।’ त्यसो त कतिपय नेताले उनलाई विगत सम्झाउँदै– तपाईंकै भर छैन, कहिले राजासँग घाँटी जोड्न बेर लाउनुहुन्न भन्दै जिस्क्याएका समेत थिए । जवाफमा देउवाले, ‘धत्, त्यस्तो पनि हुन्छ कहीँ’ भनेर बिट मारेको एकजना प्रत्यक्षदर्शी बताउँछन् । राजावादीको सक्रियता बढेपछि प्रचण्ड, देउवा र माधवकुमार नेपालले एकसरो छलफल गरिसकेका छन् । स्रोत भन्छ, ‘राजावादीको सल्बलाहटलाई कसरी हेर्ने भन्ने विषयमा केन्द्रित रहेर उनीहरूले गम्भीर छलफल गरेका थिए । खोजीको विषय के थियो भने यिनीहरू आफैँ चम्चमाएका हुन् वा दिल्लीले साथ दिएको हो ? वा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको मात्र समर्थन छ ?

यसबीच माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकारबारे त्यही छलफलपछि चर्चा छेडेका हुन् भन्ने भ्रम बाहिर छरिए पनि खासमा देउवाले त्यसमा खासै चासो नराखेको समाचार स्रोत बताउँछ । बरु, कांग्रेस नेता अर्जुननरसिंह केसीले भने निकै अघिदेखि नै यो विषय उछालिरहेका छन् । खासमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ, नत्र भने यो मुलुक अघि बढ्दैन भनेर पहिलोपटक बोल्ने व्यक्ति चाहिँ बर्दियाबाट वामदेव गौतमलाई हराउने काँग्रेसकै सञ्जय गौतम हुन् । उनले लगभग डेढ वर्षअघि नै यस्तो प्रस्ताव अघि सारेका थिए । 

कांग्रेसकै केही नेता के दाबी गर्छन् भने सो पार्टीको उपल्लो तहका केही नेतालाई भारतले राष्ट्रिय सहमतिको सरकार अबको आवश्यकता हो भन्ने कुरा दिमागमा हालिदिएको छ । बजारमा के पनि हल्ला छ भने सहमतिको सरकारमा आफू सहभागी हुन माओवादीले चार वटा मन्त्रालय माग गरेकोमा एमाले–कांग्रेस गठबन्धनले तीन वटा मात्र दिन सकिने बताएपछि उनीहरू पछि हटेका हुन्् । अहिले पनि धेरै कांग्रेसी नेता माओवादीलाई सरकारमा सामेल गराउन पाए यसको क्रान्तिकारितामा राम्रैसँग हिलो छ्याप्न पाइन्थ्यो भन्ने आशमा छन् । 

कतिपय राजनीतिक विश्लेषकहरु अहिलेको गठबन्धन फेर्नैपर्ने बताउँछन् । उनीहरूको तर्क के छ भने एमालेजस्तो बलियो पार्टी प्रतिपक्षमा रह्यो भने कांग्रेस–माओवादी लगायतका दलहरूले आफूखुशी र मनोमौजी गर्न पाउँदैनन् । नत्र एमाले–कांग्रेसजस्ता ठूला दल मिल्दा कुलमान हटाउने ‘बिमा र धितोपत्र बोर्डमा मनलाग्दी हुने जस्ता अनेक निर्णय अकण्टक भैरहने स्थिति छ । 

उता, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेचाहिँ सचिवालय बैठकमा आफूविरुद्ध दमकदेखि काठमाडौँसम्म भारतीय जासुस सक्रिय रहेको बताउन थालेका छन्् । उनले पछिल्लो बैठकमा भनेका थिए, ‘दमकका होटल–होटलमा मान्छे राखिएको छ । त्यहाँदेखि काठमाडौँसम्म मलाई असफल पार्न जासुसी संयन्त्र सक्रिय छ । अब तिनीहरूलाई देखाइदिनुपर्नेछ ।’
 

टिप्पणीहरू