भोक मीठो कि, भोजन मीठो ?

साधारण अर्थमा ’भोक’ भन्नाले शरीरलाई खानेकुरा चाहिएको अवस्थालाई जनाउँछ । जब पेट खाली हुन्छ, र शरीरलाई ऊर्जा आवश्यक पर्छ त्यसबेला भोक लाग्छ । ’भोजन’ भनेको खाने कुरा वा खाना हो । अर्थात् भोक मेटाउनका लागि खाइने खाद्य पदार्थलाई भोजन भन्न सकिन्छ । सारांशमा, भोक लागेपछि भोजन गरिन्छ, यो सबैले जाने बुझे महशुस गरेकै कुरा हो ।
भोक मीठो कि भोजन मीठो त ? भन्ने प्रश्नको जवाफ भने परिस्थितिमा भर पर्छ । यदि मानिस परिश्रमले थाकेको छ, लामोसमय देखि केही खाएको छैन अर्थात् राम्रोसँग भोक लागेको छ भने त्यस्तो बेलामा जे जस्तो भोजन भेटिन्छ त्यो असाध्यै मीठो लाग्छ । भोकबिना वा आवश्यकता भन्दा धेरै खाइयो भने महपनि तितो लाग्न सक्छ । त्यसैले त भन्ने गरिन्छ, भोजनभन्दा भोक नै मीठो । भोकले भोजनको स्वाद बढाउँछ, त्यसैले असली मिठास त भोकमै छ ।
जीवनका विविध अनुभवहरुमध्ये भोक र भोजनको सम्बन्ध गहिरो छ । भोक र भोजन एकअर्काका परिपूरक हुन् । तर, फेरि पनि प्रश्न उठ्छ, ’भोक मीठो कि भोजन ?’ यसको जवाफ सजिलै दिन सकिन्न । यसको उत्तर परिस्थिति, व्यक्ति र समयअनुसार फरक–फरक हुन सक्छ । भोक भनेको शरीरलाई खाना आवश्यक भएको संकेत हो । जब भोक लाग्छ, तब कुनै पनि साधारण खाना पनि स्वादिष्ट लाग्छ । यही कारणले गर्दा भनिन्छ – भोक लागेको बेला सामान्य खानाहरु पनि ८४ व्यञ्जनका परिकार जस्तै लाग्छन् । यदि कसैलाई भोक लागेको छैन भने, स्वादिष्ट भोजन पनि खान मन लाग्दैन । त्यसैले तुलनात्मक रुपमा भोकको महत्व अत्यधिक छ । कतिपय अवस्थामा मानिसहरु स्वादको लागि होइन, भोकको तृप्तिका लागि मात्र खान्छन् ।
भोजन आफैंमा मिठो हुन्छ, यदि त्यसलाई राम्ररी पकाइएको छ, स्वाद मिलाइएको छ र इच्छाअनुसार तयार पारिएको छ भने । स्वादिष्ट भोजनले पेट मात्र होइन, मन पनि सन्तुष्ट बनाउँछ । तर, यदि भोक नलागी भोजन गरियो भने त्यो मिठो भए पनि सही रुपमा आनन्द आउँदैन, खानुको मज्जा आउँदैन । भोजनको मिठास तब मात्र अनुभव गर्न सकिन्छ जब भोक लागेको हुन्छ । त्यसैले भोकविनाको भोजन अपूरोजस्तै हुन्छ ।
भोक र भोजनको सम्बन्ध
भोक र भोजन एक अर्कासँग अटुट रुपमा जोडिएका छन् । भोकले भोजनको मिठास बढाउँछ तर भोजनबिनाको भोकले पीडा मात्र दिन्छ । यदि भोजन नै नहुने हो भने भोकको कुनै अर्थ हुँदैन, भोक नै नभए ताजा र स्वादिष्ट भोजन पनि खल्लो लाग्छ । त्यसैले, भोक र भोजन एक अर्काका परिपूरक पनि हुन् ।
हिन्दू धर्मशास्त्र वेद, उपनिषद्, महाभारत, रामायण र अन्य ग्रन्थहरुमा भोक (क्षुधा) र भोजन (अन्न, आहार) को महत्व निकै गहिरोरुपमा वर्णन गरिएको छ । यी शास्त्रहरुमा भोजनलाई केवल पेट भर्ने साधन मात्र नभई आध्यात्मिक, नैतिक र सामाजिक सन्तुलनको प्रतीक मानिएको छ ।
तैत्तिरीय उपनिषद्मा लेखिएको छ– ’अन्नं ब्रह्मेति व्यजानात्’ अर्थात अन्न नै ब्रह्म हो । यसको अर्थ हो कि अन्न अर्थात् भोजनलाई परमात्माको स्वरुप मान्नुपर्छ । यसले मानव जीवनलाई मात्र होइन, सम्पूर्ण सृष्टिलाई पोषण दिन्छ । ऋग्वेदमा भनिएको छ– ’अन्नं बहु कुर्वीत, तद्वो वः परमो धर्मः’ यसको अर्थ हो– धेरै अन्न उत्पादन गर, अन्नको सम्मान गर, यो नै परम धर्म हो ।
महाभारतमा भीष्म पितामहले युधिष्ठिरलाई भन्नुहुन्छ– ’क्षुधा सर्वस्य बन्धनम्’ अर्थात भोक नै सबै प्राणहरुको सबैभन्दा ठूलो बन्धन हो, जबसम्म भोक मेटिँदैन तबसम्म कुनै पनि प्राणीलाई शान्ति प्राप्त हुँदैन । भोजन पहिलो आवश्यकता हो । यक्ष प्रश्नमा यक्षले युधिष्ठिरसँग सोधेका थिए– ’संसारमा सबै भन्दा ठूलो सत्य के हो ?’ युधिष्ठिरले उत्तर दिनुभयो– ’भोक सबैभन्दा ठूलो सत्य हो, किनभने भोकले नै सबैलाई जीवन्त राख्छ’ ।
जब भगवान राम वनबासमा हुनुहुन्थ्यो, उहाँले भोकलाई नियन्त्रण गर्ने अभ्यास गर्नुभएको थियो भन्ने पनि सुन्नमा आउँछ । यही पेट भर्न प्राणी धर्म–अधर्म, कर्म–कुकर्म सबै गर्न तयार देखिन्छ । पापी पेटको सवाल जो छ हजुर !
हिन्दू शास्त्रहरुमा भोजनलाई शुद्ध, सात्विक र धार्मिक दृष्टिले हेर्ने गरिन्छ । भगवद् गीता (१७–८–१०) मा भोजनलाई तीन भागमा बाँडिएको छ ।
सात्विक भोजन – शुद्ध, हल्का, पोषिलो भोजन (फलफूल, दूध, अन्न, सागसब्जी) आदि ।
राजसी भोजन – मसालेदार, झोलिलो, तीखो खाना (चिल्लो, पिरो, माछा–मासु) आदि ।
तामसी भोजन – बासी, कुहिएको, अमान्य भोजन (नशालु पदार्थ, मद्यपान, अत्यधिक तारेको खाना) आदि ।
भोकका प्रकार
भोजनका तीन प्रकार भए जस्तै भोकका पनि विभिन्न प्रकार हुन्छन् । हिन्दू शास्त्र, योग र मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा भोकलाई मुख्यतः शारीरिक, मानसिक र आध्यात्मिक रुपमा वर्गीकरण गर्न सकिन्छ ।
शारीरिक भोक – यो प्राकृतिक भोक हो, जुन शरीरलाई आवश्यक पर्ने उर्जाको संकेतस्वरुप महसुस गरिन्छ । यसभित्र सामान्य भोक (Natural Hunger), अत्यधिक भोक (Excessive Hunger) र झूटो भोक (False Hunger) पर्दछन ।
शरीरलाई खाना आवश्यक हुँदा पेट रित्तो महशुस हुने, गडगड गर्ने, कमजोरी महशुस हुने शारीरिक भोक हो, जुन भोक स्वास्थ्यकर हुन्छ । किनभने शरीरलाई आवश्यक भएको समयमा मात्र लाग्छ भने कहिलेकाहीँ जति खाएपनि भोक लागि रहन्छ अनि बारम्बार खान मन लाग्छ, त्यो नै अत्यधिक भोक हो । यो शरीरको असन्तुलन, बढी शारीरिक श्रम वा कुनै रोगको संकेत हुन सक्छ । आयुर्वेदमा यसलाई अग्नि मान्द्य (पाचन शक्ति कमजोर हुनु) वा अतिअग्नि (अति पाचन शक्ति) भनिन्छ ।
झुटो भोक भनेको वास्तवमा पेट भरिएको हुन्छ, तर कुनै स्वादिलो खाना देख्दा खान मन लागिहाल्छ । कतिपयले भन्ने गर्छन् कि पेट त भरियो, अघाइयो तर मुख अघाएन । यो भोक वास्तविक नभई मनको खानाप्रतिको लोभी इच्छा मात्र हो अर्थात झुटो भोक हो ।
मानसिक भोक – यो शारीरिकभन्दा मानसिक रुपमा महशुस गरिने भोक हो । यसका पनि इच्छाजन्य भोक (Craving Hunger), भावनात्मक भोक (Emotional Hunger) र अलमलको भोक (Boredom Hunger) गरेर तीन प्रकार हुन्छन् । शरीरलाई आवश्यक नपरे पनि कुनै विशेष परिकार खान मन लाग्ने, मिठाइ, मसालेदार खाना, चटपटा चीजहरु खाने इच्छा हुनु इच्छाजन्य भोक हो, यो भोकमा शारीरिकभन्दा मानसिक प्रभाव बढी भएको हुन्छ । दुःख, तनाव, खुसी, रिस, उदासीजस्ता भावनात्मक अवस्थाहरुमा खान मन लाग्ने भोक नै भावानात्मक भोक हो । यस्तो भोकको कुनै निश्चित समय हुँदैन, जुनसुकै बेला आउन वा लाग्न सक्छ ।
अलमलको भोक भनेको केही गर्ने काम नभएर, समय कटाउन, एक्लै रहँदा वा के खाऊँ के खाऊँ जस्तो बानी परेर खाइरहनु हो । अध्ययन गर्दा, फिल्म हेर्दा वा साथीसँग गफ गर्दा विनाभोक पनि खाइरहने प्रवृत्ति यसैमा पर्दछ ।
आध्यात्मिक भोक – यो मानसिक शान्ति, आत्म–ज्ञान र आध्यात्मिक तृप्ति प्राप्त गर्न चाहने भोक हो । यसलाइ पनि तीन भागमा बाँडेर हेर्न सकिन्छ । यसमा ज्ञानको भोक (Hunger for Knowledge) – जस्तै नयाँ नयाँ कुरा सिक्न अध्ययन गर्न र अनुसन्धान गर्न चाहने इच्छाको भोक । प्रेम र आत्मीयताको भोक (Hunger for Love & Connection) – जस्तै, मानिसलाई परिवार, साथीभाइ, समाजबाट माया स्नेह सम्मान चाहिने खालको मानसिक भोक । आध्यात्मिक तृप्तिको भोक (Hunger for Spiritual Enlightenment) – जस्तै, जीवनको सत्य जान्न, मोक्ष प्राप्त गर्न, भौतिक सुखभन्दा पर जान चाहने, ध्यान, योग, उपवास, साधनामा लाग्ने मानिसहरुलाई यस्तो भोक हुन्छ ।
भोक र भोजनबारे वीरबल र अकबरको रमाइलो कथा
भोक मीठो कि भोजन मीठो ? भन्ने सन्दर्भमा राजा अकबर र मन्त्री वीरबलबीचको एक रोचक कथा प्रचलित छ । यो कथा वीरबलको बुद्धिमत्ता र व्यावहारिक ज्ञानको उत्कृष्ट उदाहरण हो जुन यस्तो छ –
एक दिन बादशाह अकबर आफ्ना मन्त्रीहरुसँग दरबारमा बसिरहेका थिए । उनले सबैलाई एक रोचक प्रश्न सोधेः– तिमीहरुले के भन्छौ – भोक मीठो कि भोजन मीठो’? मन्त्रीहरुले विभिन्न उत्तर दिन थाले । केहीले भने– खासै भोक नलागेको भए पनि स्वादिलो भोजन नै मीठो हुन्छ । अरुले भने – भोक मीठो हो, किनभने भोक भएमात्र भोजन मीठो लाग्छ !
तर, यी जवाफबाट राजा सन्तुष्ट भएनन् । उनले वीरबललाई सोधे – तिमी के भन्छौ वीरबल, भोक मीठो कि भोजन मीठो ? वीरबलले मुस्कुराउँदै भने– महाराज, उत्तर अहिले नै भन्न सकिन्न । यसको उत्तर तपाईंले आफै अनुभव गर्नुपर्छ । अकबरले जिज्ञासापूर्वक सोधे– त्यसो भए तिमी मलाई अनुभव गराइदेऊ ।
वीरबलले मनमनै एउटा योजना बनाए र एक दिन बादशाह अकबरलाई जंगल घुमाउन लगे । उनले दरबारका भान्छेहरुलाई आज महाराजको लागि कुनै खाना नबनाउनू भनेर आदेश दिए तर अकबरका लागि कुनै पनि भोजनको व्यवस्था गरेनन् । अकबर जंगल घुम्दै गर्दा निकै थाकिसकेका थिए तर खानाका लागि केही थिएन । उनी भोकले छटपटाउन थाले । साँझ पर्न लागेपछि, वीरबलले एक गरिब किसानको झुपडीमा लगे । किसानले साधारण रुखो रोटी र नुन बेसार मात्रै हालेको उम्लिएको पानी दालको रुपमा दिएको थियो । अकबर भोकले चुर भएकाले सासै नफेरी कपाकप त्यो भोजन खान थाले । उनले खाँदै भने– वाह ! यस्तो मीठो भोजन मैले दरबारमा कहिल्यै खाएको थिइनँ । वीरबलले मुस्कुराउँदै भने– महाराज, भोजन मीठोभएको होइन, तपाईंको भोक मीठो भएको हो । अकबरले हाँस्दै भने– अब मैले बुझें । साँचो मिठास भोजनमा होइन, भोकमै रहेछ ।
भोकले नै भोजनको स्वाद बढाउँछ । यदि भोक छैन भने महँगो र स्वादिष्ट खाना पनि निरस लाग्छ । जीवनमा साँचो आनन्द भोग गर्न, असल अनुभव गर्नुपर्छ । वस्तुहरुको मूल्य तिनको उपस्थितिमा मात्र होइन, हाम्रो आवश्यकतामा पनि निर्भर हुन्छ । त्यसैले भन्ने गरिन्छ कि – भोक मीठो भए, भोजन मीठो ।
निश्कर्ष
भोक मीठो कि भोजन मीठो ? भन्ने प्रश्नको उत्तरमा भन्नुपर्दा भोक मीठो छ, किनभने भोकले नै भोजनको मिठास बढाउँछ । भोक नलागी भोजन गर्दा त्यो आनन्ददायी हुँदैन, तर जब भोक असाध्यै हुन्छ, साधारण खानापनि स्वादिष्ट लाग्छ, त्यसैले साँचो मिठास भोजनमा होइन, भोकमै हुन्छ । भोक शरीरको आवश्यकता हो, तर भोजन आत्माको तृप्ति हो । यसर्थ, भोकमात्र मिठो होइन, सही समयमा सही भोजन गर्नु नै जीवनको साँचो अर्थ हो । भोकलाई नियन्त्रण गर्नसक्ने व्यक्ति नै साँचो योगी वा ज्ञानी हो । भोजनको सही उपयोग भएन भने, त्यो अमृत होइन, विष बन्छ । भोक मिठो छ, तर शुद्ध भोजन नै परमात्माको प्रसाद हो ।
शरीरलाई खाना चाहिने भोक शारीरिक भोक हो । मनले चाहने भोक मानसिक भोक हो भने आत्माले चाहने भोक आध्यात्मिक भोक हो । शारीरिक भोक तृप्त बनाउन भोजन आवश्यक हुन्छ, तर मानसिक र आध्यात्मिक भोक तृप्त गर्न ज्ञान, प्रेम र आत्म ज्ञान चाहिन्छ । त्यसैले, हामीले शारीरिक मात्र होइन, मानसिक र आध्यात्मिक भोक पनि बुझेर सन्तुलित रुपमा जीवन जिउनु आवश्यक छ । खाना देखेर होइन कि भोक लागेपछी खाना खाने बानीको विकास गरौं । खाना नफालौं । आजकल पार्टी प्यालेसतिर यस्तो विकृति देखिन्छ कि पहिला सबै खाउँला झैं गरेर प्लेटभरी चुल्याएर खानेकुरा हाल्ने अनि खान नसकेपछि फाल्नेहरु मानिस हैनन्, मानिसको अनुहार परेका पशु हुन् । सर्वे भवन्तु सुखिनः भन्ने भनाइलाइ आत्मसात् गरेर भोजन बाँडेर खाऔँ ।
टिप्पणीहरू