पूर्वराजाले नरुचाउने पात्रहरु

पूर्वराजाले नरुचाउने पात्रहरु

एकातिर राजावादीको सक्रियताबाट संसद्वादी भनिएका दलहरू अत्तालिएका छन्, अर्कोतिर राजावादीहरूमै अनौठो फुट देखा परेको छ । राप्रपा महामन्त्री धवलसमशेर राजावादी आन्दोलनको नेतृत्व नवराज सुवेदीलाई जिम्मा लगाएर उनकै पछि लागेका छन् । उता, राजेन्द्र लिङ्देन राजा पुनःस्थापित गर्ने आन्दोलनको नेतृत्व आफैंले गर्ने भन्दै कार्यसम्पादन समितिको बहुमतको निर्णयमार्फत अघि बढिरहेका छन् । रवीन्द्र मिश्रले पनि राजेन्द्र लिङ्देनभन्दा नवराज सुवेदीलाई नै नेता मानेर अघि बढ्ने छाँट देखाइसकेको अवस्था छ । राप्रपा एक उच्चस्तरीय नेताका अनुसार उनले निकटस्थहरूसँग भन्ने गरेका छन्, ‘यदि पार्टीले कारबाही गर्छ भने बरु भोग्न तयार छु । तर, आन्दोलनको नेतृत्व नवराज सुवेदीलाई नै दिनुपर्छ भनेर उनकै पछि हिँड्न मचाहिँ तयार छु, त्यसै गर्छु ।’

आफूलाई जन्मजात राप्रपा मान्ने खास कार्यकर्ताचाहिँ राजासँगै चित्त दुखाएर बसेका छन् । भन्छन्, ‘राजाले कहिले पनि राप्रपालाई बलियो बन्न दिएनन् ।’ यसरी राजाले नै राप्रपालाई बलियो बन्न नदिनुको कारण प्रष्ट पार्दै एक पुराना र पाका नेताले भने, ‘राजालाई राजनीतिक दल र भारत भनेपछि धेरै रिस उठ्छ । उनी दुवैलाई सहन सक्दैनन् । त्यसैले भारतको सट्टा चीनलाई मित्र मान्छन् । अनि कुनै पनि दल बलियो बनेको देख्न चाहँदैनन् । त्यही भएर राप्रपा बलियो बनाउनुभन्दा नवराज सुवेदी दुर्गा प्रसार्इं जस्तालाई अगाडि सारेर आफू पुनःस्थापित हुने सपना देखिरहेका छन् । जुन सम्भव छैन र त्यो राजाले गरेको ठूलो गल्ती हो ।’ 

राजाले राप्रपालाई स्वीकार गरेजस्तो मात्रै गरेको तर भित्रैबाट भने त्यो राजनीतिक दल भएका कारण त्यसलाई साथ र सहयोग गर्ने मनशाय नै नराख्ने गरेको उनको भनाइ छ । उदाहरण दिँदै ती नेताले अगाडि थपे, ‘साथ दिने भनेको हाँस्नेजस्तै हो । आँतले हाँस्ने कि दाँतले ! राजा राप्रपासँग आँतले हाँसिरहेका छैनन्, दाँतले मात्रै हाँस्ने गरेको सम्बन्ध हो उनको ।’ बाहिर तिमी मेरो मित्र भनेझैँ गर्ने तर भित्रभित्रै बेला आओस् न जानेको छु भन्ने भावनासाथ राजाले राप्रपासँग संगत गरिरहेको उनको तर्क छ ।

नेपालका खास राजावादीले माग गरिरहेको राजसंस्था र अहिलेका उग्र राजावादीले कल्पना गरेको प्रणालीमा समेत आकाश–जमिनको फरक देखिएको छ । वास्तविक र पुराना राजावादी नेपालमा आलंकारिक र राष्ट्रिय एकताको प्रतीकका रूपमा मात्र राजसंस्था पुनःस्थापित गर्नेबारे सोचिरहेका छन् । जबकि दुर्गा प्रसार्इं, सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेदेखि पत्रकारिता छाडेर राजावादी बनेका रवीन्द्र मिश्रसमेत २०१७ को जस्तो निर्दलीय राजतन्त्रात्मक व्यवस्था स्थापित हुने भ्रममा छन् । यही भ्रम वास्तविक राजावादीका लागि अहिले समस्या बनेको गुनासो पुराना राजावादीहरूको छ । राजेन्द्र लिङ्देनसमेत त्यस्ता उग्र राजावादीको पछि नलागी आफ्नै नेतृत्वमा अघि बढ्नुको खास कारण यही रहेको राप्रपा नेताहरू बताउँछन् । पूर्वराजासमेत उग्र राजावादीको पछि लागेको देखेर उनीहरू दिक्क मान्दै भन्छन्, ‘हामीले अभिभावकको भूमिकामा राजा खोजेका हौं । तर, केही उग्र साथीहरू आफू मन्त्री बन्न राजा फर्काउने अभियानमा छन् । राजाले त्यो कुरा नबुझी त्यसैको पछि लाग्दा हामी राजावादीलाई समाजमा टिक्नै नसक्ने अवस्था आउने पो हो कि भन्ने चिन्ता बढेको छ ।’

राजाको पछिल्लो गतिविधिले गर्दा न राजतन्त्र पुनःस्थापित हुने न राजावादीले अहिलेझैँ आफ्ना गतिविधि गर्न पाउने अवस्था सिर्जना होला भन्ने चिन्ता राजावादीको छ । अहिलेको अवस्थालाई राजावादीले लगभग हालको नेपालको राजनीतिक प्रणाली नै अन्त्यको संघारमा पुगेको रूपमा हेरेको पाइन्छ । यो उनीहरूको मात्र नभई भारतको समेत बुझाइ रहेको देखिन्छ । हालै परराष्ट्रमन्त्री आरजु देउवाले दिल्लीबाट फर्किएलगत्तै पत्रकारसँग भारतले अहिलेको सरकार परिवर्तन गर्न नचाहेको प्रष्टीकरण दिनुको अर्थ भारतले यो सरकार मात्रै होइन, प्रणाली नै फेर्ने तयारी थालेको रूपमा राजावादीले लिएको पाइएको छ ।
 

टिप्पणीहरू