‘जनतामा जाने’ सजिलो नारा

अब हामी जनतामा जान्छौँ –सरकारबाट बाहिरिएपछि हाम्रा अधिकांश नेताहरुले भन्ने थेगो जस्तै छ यो वाक्य । ‘अब’ र ‘जनता’ दुई पद लिएर व्याख्या गर्दा कस्तो देखिन्छ भने सरकारमा हुँदाका बखत ती जनतालाई फर्केर पनि हेर्दैनथे भन्ने अर्थ लाग्दो रहेछ । ‘अब’ को अर्थ पहिले होइन, अर्थात् सरकारको नेतृत्व गर्दा । अनि ‘जनतामा’ को अर्थ पहिले आफूलाई मात्र हेरिँदो रहेछ, आफू, आफ्नो परिवार, आफन्त, नातागोता, कुलकुटुम्ब, इष्टमित्रसमेत ।
जनता नामको अभागी तिनका नजरमा पर्दा नरहेछन् । स्पष्टै छ, ‘अब’– पहिले होइन, अनि ‘जनता’मा–पहिले गइन्नथियो, आफन्तकामा मात्र गइन्थ्यो र तिनलाई मात्र हेरिन्थ्यो ।
तेस्रो पटक प्रधानमन्त्री भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष त्यो नै अन्तिम प्रधानमन्त्रीकाल हो भनिरहन्थे । सबभन्दा कमजोर मनोबलमा उनी रहेको कुरा केबाट स्पष्ट हुन्थ्यो भने उनी सधैँ भनिरहन्थे, यस पटक राम्रो गर्न नसके पनि नराम्रो चाहिँ गर्दिंन । नकारात्मक भावबाट नै प्रधानमन्त्री भएका उनी भारतसँग भएको दसवर्से ऊर्जा सम्झौतालाई नै ठूलो उपलब्धि मानेर भट्टयाइरहन्थे । उनी जनतामा गएका थिएनन्, भारत गएका थिए र भारत, भारत सरकार, भारतीय प्रधानमन्त्रीको गुनगान त कति गाए, गाए ! अझ, उनी त म भारत जान्छु, म भारत जान्छु भन्दै अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरे जस्तै भनिरहन्थे र प्रधानमन्त्री भएको पाँच छ महिनापछि बल्ल निम्तो पाएर गएका थिए ।
अँ अनि ३२ नम्बरको जादुले उनले आमनिर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेसलाई धोका दिएर बालकोट गई पहिलो सरकार बनाए । दोस्रो पटक राष्ट्रपतिसमेत कांग्रेसलाई ख्वाई उसैसँग मिलेर अर्काे सरकार बनाए । अनि फेरि नेकपा (एमाले) ले त्यताबाट फुत्काएर ल्यायो र तेस्रो सरकार बनाए । तिनवटा सरकार त उनले विसं २०७९ को आमनिर्वाचनपछि नै बनाए । त्यसअघिको दुई प्रधानमन्त्रीकाल पनि प्रधानसेनापति, पशुपतिका मूल भट्टलगायत अनेक काण्डमै बिताए ।
जनतासँग जोडिएर सङ्गठन बनाउने, तिनका सुझाव लिने र तिनसँग पार्टी नेतृत्वको सम्बन्ध विस्तार गर्ने जस्ता उद्देश्य बोकेर हुलाकी राजमार्ग अभियान चलाएको माओवादी केन्द्रले सहिद परिवारलाई भेटेर गोहीको आँसु बगाउँदै तिनकै घरमा भान्छा गरेको कस्तो नसुहाएको !
ओली–शेरबहादुर देउवा सहमतिबाट ओली प्रधानमन्त्री हुनुअघिसम्म आफ्नू अन्तिम पटक प्रधानमन्त्री हो भन्दै फलाकिरहेका उनी तिमीहरू नै खाऊ, हामी प्रतिपक्षमै बस्छौँ पनि कति पटक भने, भने । अहिले आएर त उनी के भन्छन् भने, ‘८४ सम्म म जनतासँगै रहन्छु, प्रधानमन्त्री खान्न ।’ यसको अर्थ ८४ पछि त पाए खाने रैछन् नि त ! हेर्दै जाऔँ, यिनले अन्तिम पटक कहिलेसम्म भनिरहने हुन् ।
वि.सं. २०६४ को आमनिर्वाचनमा भावी राष्ट्रपतिको घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालपछि बहुमत नआए पनि प्रधानमन्त्री खान अघि सरिहाले । आफ्नो राष्ट्रपति पद त भित्तेराष्ट्रपतिमा सीमित भएको देखेको नदेख्यै गरेका यिनले कुन मुखले प्रधानमन्त्री खाएका हुन्, उनै जानून् । उनी प्रधानमन्त्री भएपछि ठूलै क्रान्तिबाट सफलता प्राप्त भए जस्तो काठमाडौँ उपत्यकाका टोल, गाउँमा जुलुस पनि निकाले कार्यकर्ताले । पहिले त एमालेसँग मिलेर सरकार बनाएका उनी काग्रेस र एमालेलाई हरुवा, हरुवा भन्दै गिज्याइरहन्थे । यिनको बोली बिचबिचमा किन फुत्किरहन्छ भने उनी भावुक छन् रे । हालै ज्ञानेन्द्रलाई मूर्तिचोर, सुन तस्कर र भाइमारा भन्दै अप्रमाणित आरोप लगाएको पनि प्रधानमन्त्री भइसकेका मान्छेलाई कत्ति पनि सुहाएन । भन्नलाई मात्र भनिदिने हो यिनको बानी, प्रमाणित गर्न त कहाँ सक्थे र !
ओली आफैँले कति पटक माओवादी केन्द्र र तिनका अध्यक्ष दाहाललाई दुत्कारे, कतिका उखान लगाएर भन्नुनभन्नु आरोप लगाए, आखिर २०७० का आमचुनावपछि उनकै समर्थनमा प्रधानमन्त्री खाएको सबैले देखेकै छन् । त्यही उखान मात्र उनीसँग मिलेको छर्लङ्गै छ । विसं २०७४ मा पार्टी एकीकरण गर्ने भनेर नै दुवैले मिलेर चुनाव लडी ओलीले फेरि प्रधानमन्त्री खाए । सग्लो नेकपा फुटाएर फेरि उनैलाई भए भरको सत्तोसराप गर्ने उनको अनुहार देखिएकै पनि हो । अनि २०७९ को चुनावपछि उनैले दाहाललाई समर्थन गरेर कति पटक प्रधानमन्त्री बनाए भन्ने कुरा त दोहोर्याउनै परेन ।
अहिले फेरि देउवा–दाहाल मिल्न लागे रे भन्ने सुनेपछि, पढेपछि त नेपाली राजनीतिका विश्लेषक भनाउँदाहरूको समेत मथिङ्गल त कति रिँगायो होला ! अब ओली हुत्तिए भने पनि तिनै जनतामा जाने त होला नि, हैन र ? हरे, नेपाली जनता, कठै कति सहनशील, कति उदार, कति नेताप्रेमी, तिम्रा घैँटामा घाम पनि कहिले लाग्ने हुन् कुन्नि ?
टिप्पणीहरू