युवराज पारसमाथि ढुंगामुढा हुँदा कारबाही भोग्ने म

काठमाडौँ जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आइरहेको बेला मिति २०६२ साल मंसिर १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ सडकमा नेकपा (एमाले)ले आयोजना गरेको आमसभा भई सम्पन्न भइसकेको थियो । यसैबीच, विदेशबाट फर्किरहनुभएका राजा ज्ञानेन्द्रको स्वागतका लागि त्रिभुवन विमानस्थल जाँदै गर्दा युवराज पारसमाथि बानेश्वर–मीनभवन सडक खण्डमा ढुंगा बर्साउने काम भयो । एमालेको पूर्वघोषित उक्त कार्यक्रम सो स्थानमा गर्न नदिन विभिन्न चरणमा बैठक बसी निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत भएको अवस्था थियो तर दरबारका पदाधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिएपश्चात् निषेधित क्षेत्र घोषणा फिर्ता भयो।
सो दिन मलाई भिभिआइपी सुरक्षामा नखटाई जुजुस व्यवस्थापन र सो दिउँसो ३ बजेसम्म सभा सकाउने विशेष जिम्मेवारी थियो। तसर्थ सवारी ड्युटीमा मेरो संलग्नता हुने कुरै भएन । यो आमसभामा भाग लिन आउनेहरू काठमाडौँको विभिन्न स्थानबाट बिहानैदेखि निस्कन र धेरैजसो डिल्लीबजारमा भेला भई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमपट्टि सडक, जहाँ मञ्च पनि बनाइएको थियो, त्यसतर्फ जाने बाटो निर्धारण गरियो । विशाल जनसहभागिता हुने अनुमान गररे मलगायत सशस्त्र प्रहरीलाई समेत बाटो र समारोहस्थल व्यवस्थापनको जिम्मा दिइएको थियो ।
आयोजकहरूसँग अघिल्लो दिनदेखि नै समन्वय गरी सोहीअनुसार खटन–पटन गरको थिएँ। सभा सञ्चालक नेताहरूसँग बारम्बार सम्पर्क र समन्वय भइरहेको र सोको रिपोर्टिङ कमाण्ड पोष्टलगायत सम्बन्धित अधिकारीहरूलाई दिँदै आइरहेको थिएँ। राम्रो समन्वय हुन सकेको कारणले नै निर्धारित समयमा आमसभा सम्पन्न भयो। शान्त तवरले आमसभा सम्पन्न गराएको भनेर तत्कालीन कार्य विभाग प्रमुख राजेन्द्रबहादुर सिंहबाट ड्युटीमा खटिइएका अधिकृत तथा जवानलाई धन्यवाद भनेर सञ्चार सेटबाट जानकारी आयो । आमसभाबाट बाहिरिने क्रममा ठूलो भीडलाई पुरानो बानेश्वरतर्फ र मीनभवन तर्फबाट जाने सानो समूहलाई भने त्यतैबाट पठाउने व्यवस्था मिलाउँदै ठूलो भीड भएतर्फ म टोली लिएर अघि बढ्दै थिएँ ।
विशिष्ट व्यक्तिको सवारी अह्रन–खटन भइसकेपछि त्यसको कार्यान्वयन हाम्रो सञ्चार सेटको नम्बर १ च्यानलमा हुने गथ्र्याे । हामी भीडमा खटिनेहरू २ च्यानलमा काम गर्ने हुनाले कन्ट्रोल वा आवश्यक पर्दा मात्र नम्बर १ च्यानलमा गइन्छ । युवराजाधिराजको सवारी दरबारबाट छुट्ने बेलामै केही आन्दोलनकारी रत्नपार्क बिजुली अड्डानजिक (पुरानो बसपार्क) सिंहदरबार माइतीघर नयाँबानेश्वर चोकमा जम्मा भएका रहेछन् । रत्नपार्क, पुरानो बसपार्क, माइतीघर मोडमा पनि हुटिङ भएको रहेछ ती स्थान छिचोल्दै नयाँबानेश्वर– मीनभवन सडक पुग्दा ढुंगा बर्साइएको रहेछ ।
बिजुलीबजार क्रस गररे नयाँबानेश्वरतर्फ अगाडि बढिरहेको र ठाउँ–ठाउँमा डिस्टर्ब भइरहेको खबर ट्राफिकको सेटबाट सुनेपछि खटिएका डिएसपीले मलाई भनेको हुँदा पुरानो बानेश्वरतर्फ अगाडि बढिरहेको म आफूसँग भएको केही मद्दतसहित फर्केर दगुर्दै मीनभवनतर्फ गएको हुँ । म नपुग्दै सवारी कारकेडमा ढुंगामुढा हुँदै थियो । तत्काल सामान्य बल प्रयोग गरी सवारी विमानस्थलतर्फ चलाएको र पछि सोही बाटो हुँदै राजालगायत राजपरिवारका सदस्यहरू फिर्ता हुँदासम्म सोही स्थानमा तैनाथ रही अवस्था सामान्य भएपश्चात् कार्यालयमा फर्की आएको हुँ ।
राजकीय भ्रमणमा सुरक्षाका विशेष बन्दोबस्त मिलाइएको हुन्छ तर सुरक्षाका कुनै उपाय त्यसदिन अवलम्बन गरको देखिएन पाइएन । सबै सुरक्षा निकायबाट सवारी मार्गको अवस्थाबारे जानकारी लिई ठीक भन्ने रिपोर्ट प्राप्त गरिसकेपछि सैनिक प्रहरीले प्रमुख एडिसीलाई जाहेर गरी ओके भएपछि मात्र भिभिआइपीको सवारी चलाउने गरिन्छ ।
यी सबै कुरा हुँदाहुँदै कुनै मापदण्ड अवलम्बन नै नगरी सवारी चलाइयो र वास्तविकतालाई पन्छाई सवारीमै नखटाइएको/नखटिएको एसपीलाई काठमाडौँ प्रहरी प्रमुख भनेर निलम्बन । सो घटनालाई लिएर २ दिनपछि मंसिर १८ गते राजाको अनौपचारिक कार्यक्रम ज्ञानेश्वरमा ड्युटी गरिरहेको बेला बोलाई मलाई निलम्बन गरियो भने २०६३ वैशाख महिनामा लोकतन्त्रको बहालीपश्चात् सो निलम्बन फुकुवा भयो। काठमाडौँ जिल्ला प्रहरी प्रमुखमा ५ महिनापछि बहाली भएँ ।
टिप्पणीहरू