गणतन्त्रलाई बदली गर्न सक्छ र राजतन्त्रले ?

त्यो दिन र रात अर्थात् २०६५ साल जेठ १५ गते काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र ( त्यतिबेलाको संविधानसभा ) मा बितेको थियो । गणतन्त्र घोषणा हुने खुसीयालीमा नागरिकहरु नाचगान गरिरहेका थिए । हामी भने दलका शीर्ष नेता र सांसदहरूले कतिबेला गणतन्त्र घोषणा गर्लान् र समाचार तयार पारौँला भनी कुरी बसेका थियौँ । नेताहरूले फेरि पनि मध्यराति घोषणा गरे गणतन्त्रको । त्यही दिनदेखि २४० वर्षको शाहवँशीय राजतन्त्र विधिवत् अन्त्य भयो । हाम्रा आँखा झिमिक्क पनि हुन पाएनन् । राष्ट्रिय समाचार समिति ( रासस) आएर समाचार तयार पार्दा उज्यालो हुन लागिसकेको थियो । समाचार लेखेर बल्ल एउटा अण्डा र चाउचाउले दुई छाक टारेको अस्ति भर्खरजस्तो लाग्छ । सायद त्यो दिन गणतन्त्र भित्र्याउने आतुरतामा हामीजस्तै धेरै नागरिक राम्ररी सुतेनन् । पेटभरि खाएनन् ।
लखन थापाको विद्रोहदेखि जनयुद्ध, जनआन्दोलनको जगमा टेकेर आएको गणतन्त्रमा केही न केही नयाँपन आउला भन्ने जनताको तीव्र आशा– भरोशा थियो । तर १६ वर्षमा पनि त्यसअनुसार काम हुन सकेन । कम्युनिष्ट पार्टीकै हातमा शक्ति हुँदा पनि जनपक्षीय निर्णय र काम गर्नुको सट्टा झगडामै बित्यो समय । झन् बेथितिहरू भित्रिए । कुशासन मौलायो । गुटउपगुटले मलजल पायो । त्यसबाट जनता निराश राजावादी उत्साहित हुँदै गए ।
यही बेथितिको चाङमा टेकेर राजावादीबाट टिनएजमै रहेको गणतन्त्रमाथि फेरि जवाफी हमला शुरू भएको छ । विभिन्न नाम र पेशामा छरिएर रहेका राजावादीहरूले एकसाथ यो हमला थालेका हुन् । राजा ल्याउने र नेपाललाई हिन्दू राज्य बनाउने उद्घोषसहित उनीहरूले यही फागुन २५ गते काठमाडौंमा दिउँसै प्रदर्शन गरे । त्यो पनि पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्केको बेला स्वागत गर्ने बहानामा । एयरपोर्टमा मानिसको बाक्लै उपस्थिति देखियो । सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो । सर्वसाधारणले भने त्यही बेला साह्रै दुःख पाए । वैदेशिक रोजगारी, अध्ययनका लागि बाहिर जान लागेका सन्तानलाई बाबा, आमा, आफन्तले विदाइ गर्न भित्र जान पाएनन् । आँखा रसाएका कोही कोही आफन्त भन्दै थिए, एकदिन राजा फर्कंदा त यस्तो दुःख, सधैंका लागि आए झन् कति दुःख पाइएला ? तर हिजोको पीडा भुलेको र अहिले यस्तो पीडामा नपरेको ठूलो जमात भने नारा लगाउँदै थियो– राजा आऊ देश बचाऊ ! हामीलाई राजा चाहिन्छ चाहिन्छ !! ....चोर देश छोड !!!
यस्ता आमाबुबाको घरघरमा गणतन्त्रविरोधी जनमत तयार हुँदैछ । त्यो भीड र यस्तो इमोसनलाई कम आँक्न हुँदैन ।
त्यो भीडमा समाजमा चिनिएका केही पत्रकार, वकिल, प्राध्यापक, खेलाडी, साहित्यकार, पूर्वसुरक्षाकर्मी, युट्युबबाट चर्चित बनेका माता, झाँक्री, ज्योतिष, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता/कार्यकर्र्ता, दुर्गा प्रसाईं समर्थक, राज्यको शासन शैलीबाट दिक्क भएकासहित तीन थरी मान्छे देखिन्थे । एक– पुराना राजावादी, राजाको पालामा अवसर पाएर आफ्नो घर पारिवारिक सम्बन्ध राम्रो बनाएका तर अहिले पुनः पद प्रतिष्ठा नपाएर तड्पिएका र यस्तो अवसरका लागि नेतृत्व नपाएको वर्ग । यो वर्ग सुझबुझले लागेको देखिन्थ्यो । दुई– गणतन्त्रप्रति माया, मोह भए पनि अवसर र क्षमताअनुसार काम नपाएको वर्ग । यो वर्ग बुद्धिविवेकले भन्दा पनि भावनामा बगेर लागेको देखिन्थ्यो । तीन– नेता, दलदेखि आक्रोशित भुइँमान्छेहरू । यी राजा र दुर्गा प्रसाईं आए तलब बढ्ने र ऋण चुक्ता हुने आशले लागेको पाइन्थ्यो ।
खासगरी आफ्ना लालाबाला विविध कारणले विदेशिनु परेको र बुढेसकालमा आफूहरू एक्लै जिउनुपरेको पीडाले प्रत्येक आमाबुबाको मन भाँचिएको छ । उनीहरूले यसको दोषी गणतन्त्र र यसलाई हाँक्ने पार्टी र तिनका नेतालाई देखेका छन् किनकि उनीहरूका स्मृति रेखाबाट हिजोको राजतन्त्रका विकृतिहरू मेटिँदै गएका छन् । त्यसैले नेताजीहरूले पत्याए पनि, नपत्याए पनि यस्ता आमाबुबाको घरघरमा गणतन्त्रविरोधी जनमत तयार हुँदैछ । समग्रमा जे जस्तो मानिस लागेका भए पनि त्यो भीड र यस्तो इमोसनलाई कम आँक्न हुँदैन । बरू राजावादी शक्तिहरू सल्बलाउनुको कारण खोजेर त्यसको सुधार गर्दै गणतन्त्रको राजमार्गमा हिड्नुपर्छ ।
जनताका माग संबोधन नहुनु : गणतन्त्र घोषणा भएलगत्तै गरिब, बिपन्न जनताका लागि राहतका कार्यक्रम घोषणा हुनुपर्दथ्यो । त्यसो हुनसकेन । दलहरू संविधान बनाउने रस्साकस्सीमै अल्मलिए । दुई पटकसम्म संविधानसभाको निर्वाचन गर्नुपर्यो । अर्कोतिर कृष्णलाई कंसले गर्भ या शिशुमै मार्न खोजेजस्तै पुनरूत्थानवादी र यथास्थितिवादी शक्तिले शिशु अवस्थादेखि नै गणतन्त्रको घाँटी निमोठ्न खोजे, जनयुद्ध, जनआन्दोलनको रापतापमा तत्काल त्यो सम्भव भएन । अहिले अवस्था बिग्रँदै गएपछि पुनः तीव्र प्रहार शुरू भयो ।
सरकारमा मात्रै ध्यान : गणतन्त्र स्थापनाको झण्डै १६ वर्षमा करिब १५ वटा सरकार बनाइए । २०४६ सालदेखि ०६५ सालसम्मको राजनीतिक अस्थिरता गणतन्त्र स्थापना भएदेखि आजसम्म कायम रह्यो । व्यवस्थाको आवरण फेरियो राष्ट्र र जनताको अवस्था र यसभित्रका विवरणहरू फेरिएनन् ।
भ्रष्टाचारीहरू हाई हाई : दलहरू भ्रष्टाचारमा चुर्लुम्मै डुबे । नाङ्गै लुटपाटमै उत्रिए । त्यत्रो वर्ष लडेको माओवादी पार्टीका कतिपय नेता नै अनैतिक र भष्टाचारजन्य काण्डमा मुछिए । यसले जनतामा आक्रोश बढायो । अझ कतिपय दलका सरकारको आफ्ना भ्रष्ट नेता/कार्यकर्र्ता जोगाउने र विरोधी पार्टीका नेता, कार्यकर्र्तालाई जबर्जस्ती भ्रष्टाचारमा फसाउने प्रतिशोधपूर्ण रवैयाले जनता निरास र आक्रोशित भए । यसले जनतामा सरकारप्रतिको विश्वास घटायो । असन्तोष बढायो । यसले राजावादीहरूको मनोबल मात्रै बढाएन, विरोधका लागि मसला प्रदान गर्यो । गणतन्त्रमाथि गर्भदेखि नै प्रहार हुँदै आए पनि गणतन्त्रवादी भनिएका दल र नेता राजावादी सडक प्रदर्शनमा उत्रँदासम्म खुलेर बोलेनन् । मौन या निष्क्रिय भएर बसे । यसले गर्दा राजावादीहरू उत्साहित भए ।
सेवामा सहजीकरण हुन सकेन : गणतन्त्र स्थापनापछि तीन तहको सरकार र संघीय शासन प्रणाली कायम भए पनि, दूरदराजमा समेत सिंहदरबार पुगे पनि जनताले सेवा प्रवाहमा सहजीकरण महसुस गर्न पाएनन् । दलहरूको झगडा र खुट्टा तानातानले यत्तिका वर्षसम्म प्रदेश कानुन बन्न सकेनन् । नागरिकले राहत भन्दा आहत महसुस गरे । कर्मचारीतन्त्रमा हावी लालफित्ताशाही प्रवृत्ति कायमै रह्यो । यसले गर्दा जनताले राजतन्त्र र गणतन्त्रको डेलिभरीमा कुनै नयाँपन महसुस गर्न पाएनन् । यस्तो शैली र व्यवहार अहिले पनि कायम रहेकाले यसले असन्तुष्टि बढाउँदै लग्यो ।
पत्रकार र मिडिया : अधिकांश पत्रकार र मिडियाले गणतन्त्रलाई बलियो बनाउने विषयमा भन्दा गणतन्त्रमा केही हुँदै भएन भन्ने भाष्य निर्माणमा जोड दिए । राजा र राजा पक्षधर पत्रकार, मिडिया, बुद्धिजीवी, माता, झाँक्री, ज्योतिष, पण्डित, आदिले विभिन्न युट्युब, मिडियाबाट राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा कटाक्ष गरिरहे ।
भ्रष्ट राजावादीलाई छुट : जसरी ०४६ सालको प्रजातान्त्रिक सरकारहरुले मल्लिक आयोगले दोषी ठहर्याएका भ्रष्टहरूलाई कारबाही नगरी चोख्याए, त्यसरी नै गणतन्त्र स्थापनापछिका कुनै पनि सरकारहरूले भ्रष्ट दोषीमाथि कुनै कारबाही गर्न सकेनन् । बरू राजावादी शक्तिसँगै मिलेर संविधान बनाए । सँयुक्त सरकार चलाए । यति मात्रै होइन, सिद्धान्तै भुली मिलेर चुनावै लडे । यसले गर्दा ती शक्तिको आत्मबल बढ्यो ।
तैपनि गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन । समयलाई पछाडि फर्काउन सकिँदैन । राजतन्त्रभित्र गणतन्त्रवादी अटाउन सक्दैनन् । बरू गणतन्त्रभित्र राजतन्त्रवादीहरू अटाउन सक्छन् । राजतन्त्रको बारेमा बहस गर्नुमात्रै पनि समय खेर फाल्नु हो । त्यसैले राजावादीहरूले व्यवस्था फेर्ने होइन, गणतन्त्रभित्रै प्रतिस्पर्धा गर्नुपर्छ । राजनीति गर्ने चाहना हो भने राजाले पनि यही व्यवस्थाभित्र प्रतिस्पर्धा गर्नुपर्छ । नभए चुप लागेर बस्दा बेस् । गणतन्त्रलाई बलियो बनाउन गणतन्त्रवादीहरूले निम्न कुरामा ध्यान दिनुपर्छ :
शासन प्रणाली सुधार : संघीयतालाई जनताको स्थानीय घरदैलोमा पुर्याउनुपर्छ । प्रदेश कानुनहरू बनाउनुपर्छ । कानुन बनाउन सम्भव नभए र कार्य सम्पादन गर्न नसके प्रदेशहरू जारी राख्न आवश्यक छैन । यसको सट्टा स्थानीय सरकारलाई बढी बलियो र जवाफदेही बनाउनुपर्छ । प्रशासनिक ढाँचा परिवर्तन गरी सेवा प्रवाहलाई सहज बनाउनुपर्छ । राजनीतिक स्थायित्व र जवाफदेहितामा जोड दिनुपर्छ । सुशासन कायम गर्न भ्रष्टाचारीलाई हदैसम्म कारबाहीको व्यवस्था हुनुपर्छ ।
जनतालाई गणतन्त्र, लोकतन्त्रको महत्तत्व र आवश्यकता बुझाउनुपर्छ । यसका लागि नागरिक सचेतना र सहभागिता बढाउनुपर्छ । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा व्यवसायको नाममा हुने लुट तुरुन्त रोक्नुपर्छ । स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्छ । यस्ता विषयमा गणतन्त्रवादी मिडिया, पत्रकार, बौद्धिक वर्ग र नागरिक समाजले सकारात्मक सन्देश फैलाउनुपर्छ । खासगरी युवा पुस्ता र नवपुस्तामा यस्तो सन्देश पुर्याउनुपर्छ । अतः शान्तिपूर्ण प्रदर्शनलाई सकारात्मक रूपमा लिएर गणतन्त्रवादी दल र पार्टीहरूले आफूलाई सुधार्दै लैजानुपर्छ । यो प्रदर्शनलाई गणतन्त्रलाई सही व्यवस्थापन गर्ने मौकाका रूपमा लिनुपर्छ ।
टिप्पणीहरू