विनोद चौधरीले ज्ञानेन्द्रलाई सिध्याइदिने संकेत

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिन लागेको खबर केही अनलाइनसहित सामाजिक सञ्जालमा भाइरल छ । राष्ट्र बैंकको रिक्त हुनै लागेको गभर्नरमा विनोद चौधरीको उम्मेदवारका रुपमा अघि सारिएका ढुंगाना यतिखेर अनिवार्य वार्षिक बिदामा बस्दा उनले राजीनामा दिएको हल्ला गरिएको छ ।
तर,एउटा बैंक तथा वित्तीय संस्थामा कार्यरत सिइओ तथा अध्यक्ष अर्को बैंक तथा वित्तीय संस्थामा जाँदासमेत कम्तीमा छ महिना कुलिङ पिरियड रहने हुँदा गभर्नरको निम्ति सहजै उम्मेदवार बन्नसक्ने अवस्थै छैन । काँग्रेस कोटाबाट उम्मेदवार हुनसक्ने आकलन गर्दै उनै ढुंगानाले केही दिनअघि बूढानीलकण्ठ पुगेर सम्भावित प्रतिस्पर्धीहरुको बारेमा चुक्ली लगाएका थिए । यता,गभर्नरको निम्ति उम्मेदवारी तयारी भन्दै राजीनामाको प्रचार गरेका उनीबारे स्वयम् नबिलका हाकिमहरु अनिवार्य बिदामा बसेको हो भनिरहेका छन् । एकजना विभागीय प्रमुखले भने,‘वरिष्ठ डिसिईओ मनोज ज्ञवाली सर बिदा बस्नु भएको थियो । उहाँ हाजिर भएपछि सिइओ बिदामा बस्नु भयो । राजीनामा साजीनामा केही होइन ।’
सरकारले गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाएपछि प्रचारमा आएका उम्मेदवारहरुबारे अनेक चर्चा छ । राष्ट्र बैंकका पूर्व गभर्नरहरु बैंक तथा वित्तीय संस्थाका सिइओ तथा अध्यक्षले नियमनकारी निकायको जिम्मेवारी ताक्नु आफैँमा शंकास्पद रहेको बताउँछन् । गभर्नर सिफारिस समितिमा रहेका भूतपूर्व गभर्नर विजयनाथ भट्टराई निजी क्षेत्रका सक्रिय बैंकरलाई केन्द्रीय बैंकको नेतृत्व सम्पनु र बिरालोलाई दूधको तर दिनु उस्तै हुने बताउँछन् । भन्छन्, ‘वित्तीय र नियमनकारी अनुशासनका लागि त्यस्तो प्रयास मुलुक र केन्द्रीय बैंकलाई दुर्भाग्यपूर्ण हुन्छ ।’
गभर्नर बन्ने आकांक्षीमध्ये केहीले बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिसँग इच्छा व्यक्त गरिसकेका छन् । तीमध्ये ढुंगाना पनि एक भएको स्रोतको दावी छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भेटको निम्ति समय मागे पनि हालसम्म कसैले नपाएको अवस्था छ । बालुवाटार निवासबाट समय नपाएपछि केहीले गभर्नर सिफारिस समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेल,सदस्य भट्टराईसँग भेट गरेर आफ्ना कुरा राखेका छन् ।
गभर्नर बन्नैको लागि सिइओबाट राजीनामा दिएको भन्दै समाचार प्रकाशित गर्ने एउटा अनलाइनमा प्रतिक्रिया जनाउँदै गजेन्द्रमान श्रेष्ठ लेख्छन् : विनोद चौधरीका बलमा गभर्नर बन्ने सपनामा छन्,ढुंगाना । सम्झना रहोस्,चौधरी आफ्नो मतलब पूरा भएपछि आँपको खोयाजस्तै चुसेर मिल्काउनमा माहिर छन् ।’
टिप्पणीहरू