एउटा तुलको करामत

एउटा तुलको करामत
सुन्नुहोस्

योगी आदित्य नाथ
राज संस्था पुर्नः स्थापना गरौँ
हिन्दु वादी प्रदिप विक्रम राणा

तुलमा यही लेखिएको थियो । यहाँ नेपाली भाषा वा वर्णविन्यासको हरिबिजोग कसले हेरोस् ! बरु गत फागुन २५ गतेको भिडमा कुनै मिडियाले विदेशी नेता र राजकीय पदाधिकारीको तस्बिर देख्यो र चर्चा पनि विस्तारै चल्न थालिहाल्यो । 

फागुन ७ गतेको नेपालको ७५ औँ प्रजातन्त्र दिवसका पूर्वसन्ध्यामा अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहले ‘...राष्ट्र जोगाउने हो भने,  राष्ट्रिय एकता कायम राख्ने हो भने...हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान’ गरेपछि नेपालको राजावादी संसद्मा १४ सदस्यसहित प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी उत्साहित भयो । अब सो सन्देशलाई कसरी मूर्त रूप दिने भन्ने उपाय खोजिरहेको सो दलले पर्यटकीय नगरी पोखरा घुम्न गएका पूर्वराजा शाहलाई काठमाडौँ फिर्ता हुँदा त्रिभुवन विमानस्थलमा स्वागत गर्ने निर्णय गर्यो र फागुन अन्तिम साताको सो दिन जुर्यो ।

ठूलै आन्दोलन जस्तै देखिएको थियो स्वागतसँगैको जुलुस र त्यहाँ देखिएको थियो नेपाली राष्ट्रिय झण्डाहरू । राप्रपा नेता–कार्यकर्तादेखि दुर्गा प्रसाईँ र उनका अनुयायी । धेरैलाई भ्रम के पनि पारिएको र परेको थियो भने राजा (नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाका अनुसार पूर्वराजा भन्न मिल्दैन) बेला बेला दक्षिणतिर गइरहने र त्यहाँका हिन्दूवादी नेताहरूलाई भेटिरहने  घटना र त्यसका समाचार मिडियामा आइरहन्थे । पूर्वराजाले भेट्नेमध्येकै एक हिन्दूवादी नेता तथा राजकीय पदाधिकारीको तस्बिर त्यत्रो हुलमुलमा देखिनु मिडियाको चलाखीमध्येकै एक मान्नुपर्छ । कुनै बेला नेपाल हिन्दू राष्ट्र थियो र नेपाली राजा पनि हिन्दू नै थिए । हिन्दूबाहेक अरू राजा हुन पाउँदैनथ्यो र जो राजा हुन्थ्यो, ती हिन्दू नै हुन्थे । गजबको पहिचान चाहिँ विश्वकै एक मात्र हिन्दू राष्ट्र थियो । 

ग्लोबल साउथ मात्र नभई कुनै विन्दुमा पूरै विश्वको नेतृत्व गर्ने इरादा राखेको भारत आफैँमा धर्मनिरपेक्ष राज्य छ तर त्यसको नेतृत्व भने १० वर्षदेखि हिन्दू, हिन्दुत्ववादी राजनीतिक दलले गरिरहेको छ । हुनतः तत्कालीन राजतन्त्रात्मक मुलुक नेपालमा कम्युनिस्टले पनि राज्य चलाए, सरकार हाँके । देश धर्मनिरपेक्ष तर दल एउटा धर्मको अनुयायी हुँदा दलले राज्यलाई आफ्नै धर्मको मान्यतानुरूप लिएर जान चाहन्छ, विधर्मी अर्थात् अर्काे धर्म र धर्मावलम्बीप्रति उसको बदला भाव स्वभावतः आउने नै हुन्छ । अल्पसङ्ख्यक, अर्काे धर्मावलम्बी, गोदीमिडियामा नअट्नेहरूमाथि उसको दमन नै देखिन्छ ।

नेपालमा एउटा भ्रम के पनि पर्न गएको छ भने यहाँ हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना अभियानमा भारतका केही समूह लागेका छन् तर प्रत्यक्ष रूपमा त्यस्तो देखिँदैन । समग्रमा भारतको हात रहेको आरोप लगाए पनि प्रमाण त्यस्तो भेटिँदैन । केही उपद्रव वा केही अनिष्ट वीजारोपण हुन लागेको वा आफ्नो सत्ता अवसान हुन लागेको देखियो वा भयो कि विदेशी शक्तिलाई देखाउने रोग नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा मजासँग नै देखिन्छ । 

सामाजिक सञ्जालमा यस्तो देखिन्छ कि भारतमा कसैलाई नेपाललाई हिन्दू राज्य कायम गराउन मन लागेको हो भने पहिले उसले नै धर्मनिरपेक्ष भारत बनाएर देखाओस् न त ! त्यसैले नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्र पुनःस्थापना गराउने ताकत बाहिरिया शक्तिमा नहोला । आन्तरिक रूपमा राप्रपाबाहेक नेपाली कांग्रेसमा पनि एउटा समूह भने  हिन्दूराष्ट्रका पक्षमा भएको देखिन्छ र पार्टीका भेला, सम्मेलनमा सो विषयमा हस्ताक्षर पनि चलेका छन् । तर विधिवत् छलफल भने भएको छैन । 

अस्ति बसेको एमालेको सचिवालय बैठकले ‘पूर्वराजा शाह र उनी पक्षधरको पछिल्लो सक्रियता र चलखेल कसैको उक्साहट र सुनियोजित ढङ्गले गणतन्त्र कमजोर बनाउने प्रयास भइरहेको’ भनी निकालिएको बैठकले पनि भारतलाई नै दोष लगाउने प्रयास गरेको छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पत्रकारसँग भनिन्, “फागुन २५ गते राजावादीको प्रदर्शनमा देखिएका तस्बिरहरूले नै पनि धेरै कुराको सङ्केत गर्छ ।” उनले नेपालको संविधान र चुच्चे नक्साप्रति एक पक्षको असन्तुष्टि रहेको र  सोही पक्ष अहिले पनि चलखेल गर्न उद्यत रहेको पनि  बताइन् ।

नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रेले भने अरू बेला भारतीय हस्तक्षेप भयो भन्दै कराउनेहरू आफैंँ भारतीय नेतालाई जोड्दै हिँडेकामा उदेक मान्छन् । “उनीहरूलाई हाम्रो आन्दोलनमा भारतीय नेतृत्वको पनि समर्थन छ भनी देखाउने चाहना होला । आखिर यथार्थ के हो भने भारतमा कुनै व्यक्तिको मनमा के छ भन्ने उसको आन्तरिक मामिला भयो, तर राज्यसंस्थापनले यस्तो कुरा बोकेको छैन ।”

एक अनलाइन न्युज पोर्टलमा दिइएको अन्तर्वार्तामा उनले त्यसबारे स्पष्ट पारेका छन् । नेपालमा कुन नयाँ कुरा स्थापित गर्नुपर्छ वा अहिलेकै ठीक भन्ने रोजाइ नेपालका नागरिकको भएको र भारतले नेपालको स्वतन्त्र छनोटलाई छिमेकीको नाताले सद्भाव राख्ने, सघाउने तर त्यसभन्दा बढ्ता सोच्नुपर्ने केही छ जस्तो नलाग्ने भन्ने पुरानै भाषा पनि प्रयोग गरे । उनी अहिले कुन दलसँग सम्बद्ध छन् या सरकारसँग निकट छन्, छैनन् भन्ने चासो नरहे पनि उनले भारतीय संस्थापनकै भाषा बोलेर नेपाल र नेपालीलाई आश्वस्त पार्न खोजेका छन् । 

नेपालका पूर्वराजा किन बेलाबखत उता जान्छन्, तिनै ५३ वर्षीय योगीसँग भेटघाट गर्छन् भन्ने कुरा नेपाली मिडिया, बुद्धिजीवी, नागरिक समाजले कोट्यारहेकाले फागुनको अन्तिम आइतबार एक तुलअङ्कित फोटो बोक्नाको आशय राम्ररी बुझिन्छ जसलाई राजतन्त्र पक्षधरहरू त्यति उछाल्न चाहँदैनन् । त्यो कुरा उप्कनेबित्तिकै आफू राष्ट्रवादी धार भनी अलापिरहेको एक नारा पनि गुम्न जान्छ ।

अझ कुरै उठे ती केसम्म भन्छन् भने कम्युनिस्टहरूका कार्यालय र घरमा माक्र्स, एंगेल्स, लेनिन, माओका फोटो हुन हुने, राजाको जुलुसमा नजिकको छिमेकीको किन नहुुुने ? माक्र्स, लेनिनवादी कुनै वाद वा दर्शन वा विचारधारासमेत दिने व्यक्तित्व भएको कुरासम्म बुझ पचाएर ती कुनै धर्मका अनुयायीलाई आफ्नो मानसपिता मान्छन् भने त मान्न दिऔँ । पूर्वराजदूत रेले भने जस्तै प्रदीपविक्रम राणालाई मन लाग्यो होला, आफूहरूको अभियानमा भारतको समर्थन  छ भन्ने देखाउन । तर यति मात्रैले दलहरू डराउनु पर्दैन र आफ्नो अर्को जुलुस देखाएर फागुन २५ को त्यति ठुलो प्रतिवाद गर्नुपर्दैन । गणतन्त्रवादी दलहरूले गणतन्त्रका पक्षमा र राजतन्त्रका विपक्षमा चार –पाँच उदाहरण दिए मात्र पुग्छ । राजा समर्थकहरू उफ्रिनाले एकलौटी गरिरहेका दलहरूलाई भने एकापसमा ङ्यार्रङुर्र गर्नाको साटो फेरि बालुवाटार होस् वा सिंहदरबारमा पुनः एकगठ हुने मौका दिएको छ र तिनमाथि जनताले ओकलिरहेको असन्तुष्टि केही समय ओझेलमा पर्न गएको छ ।

टिप्पणीहरू