राजतन्त्रमा बन्दुक बोक्ने, अहिले गणतन्त्रलाई ठोक्ने

व्यवस्था बहुदलीय भएपछि हरेक नागरिकलाई आफ्नो रोजाइको दल, वाद र विचार रोज्ने स्वतन्त्रता हुन्छ तर कसैले पनि सरकारी सुविधा खाँदै व्यवस्था र संविधान पल्टाउने गतिविधि गर्न नैतिक र कानुनी दुवै हिसाबले मिल्दैन । यस मानेमा संविधानको रक्षा, देश र जनताको सुरक्षाका लागि लड्ने कसम खाएकाहरुको त झन् ठूलो जिम्मेवारी रहन्छ ।
नेपाली सेना देशको सबैभन्दा ठूलो अनुशासित र संवेदनशील सुरक्षा संयन्त्र हो । त्यहाँ कार्यरत रहँदा मात्र होइन, भूपू भइसकेकाहरुबाट पनि अनुशासन र मर्यादाको अपेक्षा गरिन्छ । तर, यी तमाम आचारसंहिताको घोर उल्लंघन गर्दै पेन्सन होल्डर हाकिमहरु खुलेरै व्यवस्थाको विरोधमा लागेको पाइएको छ । हालै पूर्वपञ्चहरुको पार्टी राप्रपाले गरेको शक्ति प्रदर्शनमा थुप्रै भूपूसैनिकहरु देखिए ।
यसबीच सेनापति अशोकराज सिग्देलले सेना सरकारको नभई जनताको भएकोसम्मको अभिव्यक्ति दिएजस्ता विषय बाहिरिएका छन् । जुनसुकै दलमा आबद्ध भए पनि सबैले संविधानको पालना गर्नैपर्छ । हिजो राजतन्त्रको बेला राजपरिवारको आलोचना गर्ने पत्रकार, बुद्धिजीवी, दलका कार्यकर्तालाई अहिले राजावादी जुलुशमा गणतन्त्रविरुद्ध नारा लाउने बर्दीधारीका इलाकातिर छुट थियो ?
पञ्चायतकालमा पनि भूपू सैनिक संगठन थियो । त्यसमा संलग्न भूपू सैनिकहरुलाई राष्ट्रिय पञ्चायत सदस्य बनाइन्थ्यो । अहिलेका दलहरुले पनि भूपू सैनिक संगठन बनाएका छन् । पेन्सन खाने निजामती कर्मचारी, सचिव, भूपू सैनिकहरु ती संगठनमा सक्रिय छन् तर दलमा लाग्ने छुट भए पनि उनीहरुले व्यवस्था पल्टाउने भनेका छैनन् ।
सैनिक संगठनमा गरिब देशको ठूलो लगानी छ । बंगलादेशमा सेनाकै सहयोगमा प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटियो । सेनाले साथ नदिएपछि अर्काको मुलुकमा शरण लिन बाध्य छिन् । भोलि नेपालमै पनि गणतन्त्रविरोधी गतिविधि भयो भने कसले रोक्ने र बोल्ने ?
गणतन्त्र मासेर राजतन्त्र फर्काउने घोषित अभियानमा भूपू मानार्थ दुईतारे जर्नेल भरत खड्का, कर्णेल रघुवर थापा (हाल पद्मकन्या कलेजका प्राध्यापक) लगायत दर्जनौं छन् । प्रमुख सेनानी थापा त फूलको गुच्छा लिएरै पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगेका थिए । महासेनानीद्वय राजेश चन्द र प्रकाशजंग कार्की पनि गणतन्त्र ढाल्न कस्सिएका छन् । चन्द भूतपूर्व आईजी रमेश चन्दका भाइ हुन् । कार्की राप्रपा भूपू सैनिक संगठनको अध्यक्ष हुन् ।
ललितपुरबाट बाग्मती प्रदेशसभामा उठेका पूर्वमेजर विनोद खड्का र लेफ्टिनेन्ट कर्णेल लवराज थापासँगै क्याप्टेनको जागिर छाडेर अष्ट्रेलिया पुगी फर्केका मुनिन्द्रराज राजभण्डारी पनि राजा फर्काउने मिशनमा संलग्न छन् । उनी बूढानिलकण्ठ स्कूलमा तत्कालीन युवराज दीपेन्द्रका सहपाठी थिए ।
राजा वीरेन्द्रको अंगरक्षक ताराबहादुर थापा र रुक्मांगद कटुवाल चिफ हुँदा उनको सचिवालयमा कार्यरत डिगबहादुरलगायत पनि गणतन्त्र सिध्याउने नै भन्छन् । डिगबहादुर तिनै अधिकृत हुन्, जसले मिसनका लागि सुडान जाँदा पल्टनकै पासपोर्ट बिर्सिएका थिए । काठमाडौंमै सबैको पासपोर्ट छाडेपछि सुडान पुगेको विमान फर्काउनुपरेको थियो । जसका कारण सेनालाई ठूलो नोक्सानी भयो । त्यसो त सिपाहीबाट अफिसरसम्मको यात्रा तय गरेका गोरखाका बोधबहादुर अधिकारी माओवादी केन्द्रमा सक्रिय छन् ।
सेनाबाट निवृत्त भएकाहरु दलबलमा लाग्ने क्रम पछिल्लो समय बढेको छ । एमालेको भूपूसैनिक सुरक्षाकर्मी संगठनमा नेतृत्व २५ बेसिकका एक तारे जर्नेल विनोद पाण्डेले नेतृत्व गरिरहेका छन् । बहुदलमा दल रोज्ने स्वतन्त्रता छ तर नागरिकको हैसियतमा ।
सेनाको जागिर छोडेपछि ऊ नागरिक हुन्छ । दलमा लाग्न पाउँछ तर संविधानविपरीत काम गर्न मिल्दैन । भूपू भएर पनि सरकारको नुन खाएकोले त झन् जिम्मेवार हुनुपर्छ । राष्ट्रविरोधी गतिविधि हुन लाग्दा सरकारलाई सूचना दिनुपर्छ, रोक्न पहल गर्नुपर्छ तर यहाँ त जुन सेनापति आए पनि कुरा मात्रै, भूपू सैनिक संगठनको सम्पत्ति दुरुपयोग गरे पनि भयो, संस्थालाई धारेहात लाए पनि भयो ।
– कुमार केसी, हाल : न्युयोर्क
टिप्पणीहरू