आफन्त भनेर विश्वास गरे, तिनैबाट ठगिए

भनिन्छ नि, ‘शत्रु खोज्न टाढा जानै पर्दैन, आफ्नै घरभित्र हुन्छन् ।’ त्यस्तै भएको छ अशोक राजभण्डारीलाई । उनी आफ्नै नातेदारबाट ठगिएका छन् । जसलाई आफ्नो सम्झिएर ठाउँ दिए, त्यही व्यक्ति उनलाई ‘घर न घाट’ को बनाउन लागिपरेको छ । बाग्लुङ घर भई काठमाडौं बस्दै आएका उनलाई ज्यानकै खतरा छ । व्यापारिक कम्प्लेक्सका सञ्चालक उनी आफ्नै कम्प्लेक्सबाट बेदखल गरिएका छन् भने अदालत र प्रहरी प्रशासन धाउँदाधाउँदै हत्तु भइसकेका छन् । अन्य दुई शेयरधनी पनि तनावमा छन् ।
वि.सं. २०७२ सालको कुरा हो, उनले महाबौद्धमा व्यापारिक कम्प्लेक्स बनाएर सञ्चालनमा ल्याउने योजना बनाए । भक्तपुरका राजेश श्रेष्ठ, बाग्लुङका आकाश राजभण्डारी र काठमाडौंका केशवमान श्रेष्ठलाई शेयरधनीको रूपमा भित्र्याइयो । २०७२ भदौ २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘आकार कम्प्लेक्स प्रालि’ नामक कम्पनी दर्ता भयो ।
२८ आना जग्गामा फैलिएको कम्प्लेक्समा साढे दुई सय सटर छ । २०७४ सालमा आकाशले तीनै जनालाई निकालेर एकल सञ्चालक बने । रोचक प्रसंग के भने, आकाश अशोकको काकाका छोरा हुन् । आकाशले सम्बन्धको समेत ख्याल नगरिकन अशोकलाई हटाए र कम्प्लेक्स एक्लैले चलाए । व्यापारिक कम्प्लेक्सलाई ‘फेमिली कम्प्लेक्स’ बनाए । कम्प्लेक्सबाट मासिक ४५ लाख रूपैयाँ बराबर भाडा उठ्दै आएको थियो । आफैं भाडा उठाउने आकाशले प्रभु बैंकबाट लिएको दुई करोड १६ लाख रूपैयाँ किस्ता तिर्न चासो देखाएनन् । जब बैंकले लिलामी प्रक्रिया अगाडि बढायो, तब मात्र सञ्चालक र अन्य शेयरधनीले थाहा पाए । एकपटकका लागि उनीहरू छाँगाबाट खसेझैं भए ।
वार्षिक करोडौं भाडा उठाउँदै आएका आकाशले बैंकलाई किस्ता नतिर्नुमा बदनियत प्रष्ट थियो । बैंकले कम्प्लेक्स लिलाम गर्यो । छोराले किस्ता नतिरेर लिलामीमा गएको कम्प्लेक्स बुवा आनन्दप्रकाश राजभण्डारीले सकारे । त्यसपछि शुरु भयो कानुनी लडाइँ । आफूहरू अन्यायमा परेको भन्दै शेयरधनीहरू अदालत पुगे । अदालतले लिलामी प्रक्रिया रोक्न आदेश दियो । यता, आकाशले सरकारलाई बुझाउनुपर्ने करसमेत नतिरेपछि ठमेलस्थित कर कार्यालयले सबैको खाता रोक्का गर्यो । आकाशले यतिसम्म गरेकि, बिना लगानी सहोदर बहिनी आयसालाई कम्प्लेक्सको शेयर सदस्य बनाए । कम्पनी ऐन २०६३ ले कुनै पनि शेयर धनीले लिन कबुल गरेको शेयरमा हक लाग्नेछ, अन्य शेयरको हकमा सञ्चालक समितिको पूर्वस्वीकृतिबिना हक नलाग्ने व्यवस्था गरेको छ । तर, आकाशले एकल निर्णय गरेर शेयरधनीको अधिकारमा हेरफेर गरे ।
कम्पनीलाई हानिनोक्सानी पुर्याउने उद्देश्यले कानुनविपरीत काम गरेको भन्दै अशोक र राजेश प्रहरीकहाँ पुगे । जिल्ला प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न मानेन । त्यसपछि उनीहरूले जिल्ला सरकारी वकिलको कार्यालय गुहारे । कार्यालयको दबाबपछि बल्लतल्ल मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२१ अन्तर्गतको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा जाहेरी दर्ता भयो । जाहेरीमा आकाश, आयसा र उनीहरूको बुवा आनन्दलाई प्रतिवादी बनाइएको छ ।
आकाशले लेखा तथा व्यवस्थापन कब्जा गरी सञ्चालन गरेको, विपक्षीहरूको मिलेमतोमा कम्पनीको बहालबापतको रकम एकलौटी प्रयोग गरेको, बहाल रकम हिनामिना गरेको, कानुनविपरीतको कारोबारलाई ढाकछोप गर्न कम्पनीको बहालबापतको आम्दानी बुवा आनन्दले प्रभु बैंकमा जम्मा गरी सोही रकम कम्पनीलाई ऋणबापतको कर्जा भनी झुटो व्यहोरा खडा गरेको उनीहरूको आरोप छ । यता, आकाशले कम्पनीको युजर आईडी, पासवर्ड उपलब्ध गराई सञ्चालक समितिको नियुक्ति, शेयर लगत अभिलेख गर्न कम्पनी ऐन, २०६३ को दफा १७८ बमोजिम निर्देशनात्मक आदेश जारी गरिपाऊँ भन्दै कार्यालयमा उजुरी दर्ता गरे । सँगै बहिनी आयसाले पनि उजुरी दिइन् । रजिष्ट्रार महेश बरालको इजलासले आकाशलाई नै उक्त कम्पनीको युजरनेम र पासवर्ड उपलब्ध गराउन, एकल सञ्चालकको रूपमा उनलाई अभिलेख गर्न आदेश दियो ।
उक्त आदेश न्यायोचित नभएको भन्दै शेयरधनीहरूले उच्च अदालत, पाटन (वाणिज्य इजलास) मा पुनरावेदन गरे । काठमाडौं जिल्ला अदालतले ठगी कसूरमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत चैत ८ गते पुर्जी जारी भएपछि आनन्द र आयसा पक्राउ परेका थिए । तर, उनीहरूलाई सोही दिन छोडियो । यता, आकाश भने फरार छन् । अनुसन्धान नगरिकन छोडिएपछि केही चलखेल भएको हुन सक्ने अनुमान लगाइएको छ । उनीहरू छुटेपछि आफूहरूलाई खतरा भएको अशोक बताउँछन् । भन्छन्, ‘घाइते बाघले जतिबेला पनि झम्टिन सक्छ । हामी निकै त्रासमा छौं । प्रहरीले म्याद थपेर अनुसन्धान गर्नुपर्नेमा हाजिरी जमानीमा छोडिदियो । प्रहरीबाट अनुसन्धान भइरहेको आश्वासन प्राप्त भएको छ । ठगहरू कानुनको दायरामा आउँछन् र हामीले न्याय पाउँछौं भन्नेमा विश्वस्त छौं ।’
– उमेश रिजाल, आरबी कम्प्लेक्स, खिचापोखरी
टिप्पणीहरू