सुरक्षा दिन आउँदा उल्टै ढुंगा ?

गत शुक्रबार राजधानीको तीनकुनेमा राजावादी समूहको आन्दोलनपछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । शान्ति–सुरक्षाका निम्ति खटिएका तल्लो दर्जाका प्रहरी कर्मचारीको मलीन अनुहार देख्दा जो–कोहीलाई पनि माया लाग्छ । उनले बोलेका एक–एक शब्दले मुटु कटक्क खान्छ । सुरक्षा गर्न आउँदा ढुंगा खानुपरेको दुखेसो पोख्दै उनले भनेका थिए, ‘छैन दाइ छैन, विकल्प छैन, केही छैन । विदेशिनुबाहेक विकल्प केही छैन । जति गरे पनि न सरकारले हेर्छ न जनताले नै बुझ्छन् । सुरक्षा गर्न आयो ढुंगाले हान्छन् ।’
उनले आफ्नो हात र खुट्टाको चोट पनि देखाए । ‘यहाँ लाग्यो । अझ कति खाइने हो, थाहा छैन । यस्तै रहेछ कर्म, के गर्ने ?’ उनको सो भिडियोमा लाखौं भ्यूज आएको छ । प्रहरीको सो अवस्था देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारप्रति आक्रोश पोखिरहेका छन् । नेताका कारण जनताले कहिल्यै सुःख नपाएको राजेश श्रेष्ठको आरोप छ ।
उनले लेखेका छन्, ‘बिचरा यी पुलिसको पनि आफ्नै दुःख छ । खै त नेताहरूले बुझेको ? जनताले सुख पाएको भए यो दिन आउँदैनथ्यो ।’ त्यसैगरी, अर्को एक जनाले प्रहरी कर्मचारी पीडामा हुँदा सम्बन्धित निकाय सुतिरहेको आरोप लगाएका छन् । ‘लुट्नेले देश लुटेको लुट्यै छ । सम्बन्धित निकाय, सुरक्षाकर्मी सबै सुतेको सुत्यै छ । मर्ने नेपाली, मार्ने नेपाली’, उनले भनेका छन् ।
मोहनकुमार बराल उनको पीडाले मन छोएको बताउँछन् । लेख्छन्, ‘बिचरा भाइ, कति पीडा छ, मन छोयो ।’ सामाजिक सञ्जालमा भेटिएको छ, ‘नेता आफ्ना छोराछोरीलाई अमेरिका र युरोप लगेर पढाउँछन्, हामी गरिबको जिन्दगी खाडीमा बित्यो ।’ हातमा लौरो, एउटा शिल्ड र हेल्मेटको भरमा सरकारले उनीहरूलाई भीड नियन्त्रण गर्न पठाउँछ । उनीहरूलाई आवश्यक सुरक्षा सामग्री छैन । यिनै कारण प्रहरी संगठनमा तल्लो तहका कर्मचारीले जागिर छोड्ने क्रम बढेको छ ।
टिप्पणीहरू