लिङदेनको गाउँमा सडक खनेर खेत

– यदुनाथ बञ्जारा
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेपाल र नेपालीका लागि न्याय दिलाउने आन्दोलनको नेतृत्व गरेर हिँडिरहेका छन् । राजा आऊ देश बचाऊ भन्ने नारासहित सक्रिय उनै अध्यक्ष लिङ्देनको गृहनगर हल्दिबारी झापाका नागरिक भने अन्यायको भुमरीमा परेर रन्थनिएका छन् । लिङ्देनका भाइ रवीन्द्रले गाउँपालिका अध्यक्षमा जितेको वडा नम्बर ३ का केही नागरिकले न्याय निसाफ नपाएर भौंतारिन परेको गुनासो गरेका छन् । डढुवा बजारस्थित हुलाकी सडकछेउका स्थानीयले एक दशकदेखि प्रयोग गरिआएको सडक गायब पारेर आवागमन बन्द गरिँदा पनि पालिकाले आफ्ना नागरिकलाई न्याय गर्न सकेको छैन ।
उक्त बजारबाट जनकल्याण प्रतिष्ठानको निर्माणाधीन भवन जाने सडक मासेर खनजोत गरिँदा स्थानीयले निकास नपाएर सास्ती ब्यहोर्न परेको छ । केही महिना अगाडिसम्म फिल्डमा २० फिटको बाटो भएको ठाउँ गुगल म्यापले पनि देखाउँछ तर अहिले सडक पुरेर खेत–बारी बनाउने काम गरिएको छ ।
उक्त बाटो सार्वजनिक नै हो भन्ने पर्याप्त प्रमाण छ । २०७६ सालदेखि स्तरोन्नति गर्न बजेट छुट्याइएको र सडक ग्राभेल गरेको कुरा पालिकाको योजना किताब रातो बुकबाट खुल्न आएको छ । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र ) स्वयंले उक्त बाटो सार्वजनिक भएको स्वीकार गरेका छन् । व्यक्तिगत द्वन्द्वका कारण बाटो मासिएको र त्यो समस्या जनप्रतिनिधिले समाधान गर्न सक्ने उनको भनाइ छ ।
०६८ सालदेखि स्थानीयले प्रयोग गर्दै आएको सडकमा चालु आवमा समेत नेपाल सरकार समानीकरण अनुदानबाट यातायात पूर्वाधार शीर्षकमा एक लाख बजेट विनियोजन गरिएको छ । बाटो विस्तारका लागि पालिकाले ५० घण्टाभन्दा बढी समय जेसिबी र ब्याकोलोडर प्रयोग गरेको रेकर्ड छ । बाटो अवरोध गर्ने व्यक्ति सावित्री खत्रीलगायतलाई स्वार्थ समूहले प्रयोग गरेको स्थानीय पीडित समूहले बताएको कुरा त्यहाँ घटाइएको कुटपिट र असमाञ्जस्य अवस्थामा सहभागी पात्रको अनुहारबाट चित्रण हुन गएको छ ।
नागरिकको पक्षमा त्रिपक्षीय सम्झौता नभएको भने होइन । तथ्य र प्रमाणले स्थानीय पीडितलाई बाटो खुलाउनुको विकल्प छैन तर कहिले ?गाउँपालिकाको प्राविधिक टोली (अमिन), जनप्रतिनिधि र स्थानीय नागरिकले २०८० चैत्र ११ गते फिल्ड नापजाँच गर्दा बजारदेखि इश्वरा तिवारीको जग्गासम्म २० फिटको बाटो भोगचलनमा रहेको मुचुल्का प्रमाणित गरिएको छ । यता, विवाद समाधानको लागि पालिका अध्यक्ष रवीन्द्र लिङ्देनको अध्यक्षतामा भएको पुस २० गतेको त्रिपक्षीय सहमतिमा पनि साविकमा भोगचलन भइरहेको पुरानो बाटो निरन्तर प्रयोग गर्ने भनिएको छ । सहमति ४ महिना भइसक्दा कार्यान्वयनमा आउन नसकेको पीडितमध्येकी एक इश्वरा तिवारीले बताइन् । अध्यक्ष रवीन्द्र लिङ्देन र वडा नम्बर ३ का विष्णुप्रसाद ओलीसँग सम्पर्क गर्न खोज्दा दुवैको मोबाइल उठेन ।
टिप्पणीहरू