पूर्वराजा भारतबाट रिसाउँदै फर्केको खबर

राजावादी नेताहरुलाई सुरक्षा खतरा बढेको ठहर

पूर्वराजा भारतबाट रिसाउँदै फर्केको खबर

राप्रपाले पूर्वराजालाई पोखराबाट काठमाडौँ फर्कंदा स्वागतका नाममा गरेको प्रदर्शनपछि नेपालका राजनीतिक विश्लेषकहरूले मन्थन गरिरहेको विषय हो, के भारत अब नेपालमा राजतन्त्र स्थापित गर्न सक्रिय बनेकै हो ? नेपालमा राजतन्त्र फर्कन सम्भव छ ? राप्रपा सम्बद्ध एक उच्च स्रोत भन्छ, ‘उल्लेखित दुवै प्रश्नको सिधा जवाफ हो– ‘होइन र छैन ।’ त्यसोभए अहिले राजा आऊ, देश बचाऊको नारासहित भइरहेको घटना के हो त ? यसबारे प्रश्न गर्दा नेपालमा भारतीय गतिविधि सञ्चालन गर्दै आएको खुफिया एजेन्सीसँग निकट स्रोतका अनुसार भित्री लक्ष्य भनेको नेपाललाई पुनः हिन्दु राज्य बनाउने मात्रै हो । 

भारत हिन्दु राज्य बनाउने खेलमा मात्रै लागेको कुराको हेक्का राप्रपाभित्र नरहेको पनि होइन । शीर्ष नेताहरूले आपसमा छलफल गर्दा भन्ने गरेका छन्, ‘भारतको २०४६ सालमा राजाविरुद्ध दलहरूलाई उठाएर राजालाई घुँडा टेकाउने र आफ्नो उद्देश्यअनुसार चल्न बाध्य पार्ने रणनीति थियो । त्यो सम्भव भएन । ०६२/६३ सालमा त भुटान नै बनाउने योजना रह्यो । त्योसमेत सम्भव भएन । त्यसैले अहिले राजा उठाएर भारतले दलहरूसँग के अपेक्षा गरिरहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्छ ।’

राप्रपाका केही नेता भने सबै राजावादी एकै ठाउँ मिल्न सके राजा पुनस्र्थापित गर्न सकिन्छ भन्ने विश्वासमा रहेका छन् । तर, कमल थापालाई राजेन्द्र लिंगदेनले नमान्ने, लिङ्गदेनलाई केशरबहादुर बिष्टले गन्ती नै नगर्ने भएका कारण यी सबैलाई एक ठाउँमा ल्याउने कसले भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा नवराज सुवेदी अहिले चर्चाको केन्द्रमा आएर चरम विवादमा समेत परिसकेका छन् । ज्ञानेन्द्रले नवराज सुवेदीभन्दा अघि पशुपति समशेरलाई राजावादी शक्ति मिलाउन अनुरोध गरेका थिए । तर, उनले राजाको प्रस्तावपछि दुई दिने भारत भ्रमण पूरा गर्दै त्यो जिम्मेवारी नलिने बताएपछि निकै महिना फकाएर नवराज सुवेदीलाई अगाडि सारिएको हो । स्मरण रहोस्, पशुपति समशेरका सालाको छोरा ज्योतिरादित्य राव सिन्धिया अहिले भारतीय जनता पार्टीबाट मध्यप्रदेशमा मन्त्री छन् । त्यसैले, भारतबाट फर्केर पशुपति समशेरले राजावादीहरूको संयोजक बन्न अस्वीकार गर्नुलाई सामान्य रूपले हेर्नु हुँदैन । यसले गरेको संकेत के हो भने भारतीय संस्थापन पक्ष अहिले नेपालमा राजतन्त्र नभएर हिन्दु राज्य पुनस्र्थापना गर्ने उद्देश्यसहित सक्रिय बनेको छ । राजावादीहरूको अहिलेको सक्रियता रोक्ने शर्तमा भारतले संसदवादी दलहरूलाई हिन्दु राज्य स्थापनाको प्रस्ताव अघि बढाउन सक्छ ।

स्रोतका अनुसार बिजेपीको भातृसंगठन आरएसएस शेरबहादुर देउवा र केपी ओलीलाई च्यापेर नेपाललाई हिन्दु अधिराज्य घोषित गर भन्ने, त्यसपछि पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट भन्दै बोलाउने र अभिनन्दन गर्ने, नेपालको राजगद्दीमा भने उनलाई नराख्ने लाइनमा जान सक्छ । किन भारत यसरी पूर्वराजालाई झुक्याउँदै छ त ? जवाफमा स्रोत भन्छ, ‘खासमा ज्ञानेन्द्रलाई भारतीयहरू चीनको मान्छे भनेर चिन्छन् । सार्कलाई थला पार्ने कारकका रुपमा चीनलाई पर्यवेक्षकका रुपमा छिर्ने वातावरण बनाएको भनेर उनीहरू अझैसम्म ज्ञानेन्द्रसँग रुष्ट छन् । चीन छिरेपछि नै हो भारतले सार्कलाई निष्क्रिय बनाउन सक्रियतापूर्वक भूमिका खेलेको । 

एक जना पूर्व पञ्चले राजालाई भारतले मन नपराएको प्रमाण पेश गर्दै भने, ‘बिजेपीको खम्बा भनेर चिनिने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का उपल्ला नेताहरू नेपाललाई हिन्दु रिपब्लिक भन्ने गर्छन् । पोहोर साल उनी भारत गएका बेला अब राजसंस्थाको मुद्दा छोड, हिन्दुराज्यको मात्र कुरा गर भन्ने प्रस्ताव राखिँदा ज्ञानेन्द्र रिसाएर फर्केका थिए ।’ त्यसो त तिनै भारतीय नेताहरूले नेपालका राजतन्त्रवादीहरूलाई ‘तुम्हारा राजा तो चीनका अपना खास है’ भन्दै ज्ञानेन्द्रलाई मन नपराउने गरेको प्रष्ट पार्दै आइरहेको बताइन्छ । त्यसमाथि ज्ञानेन्द्रले भारतमा गएर ‘आई डन्ट नो हिन्दी’ भनेको पनि उताकालाई मन परेको छैन । त्यसैले कतिपय राजावादी भन्छन्, ‘भारतले राजतन्त्र फर्काइदिने भन्नु मूर्खले गर्ने कल्पना मात्र हो । ज्ञानी मान्छेले त्यस्तो सोच्न पनि सक्दैन ।’

हुन पनि नेपाली कांग्रेसलाई इन्टरनेशनल डेमोक्रेटिक युनियन (आईडियु) नामक विश्वभरका दक्षिणपन्थीहरूको संस्थामा भित्र्याउन भारत लागिपरेको छ । जबकि त्यो संस्थामा नेपालबाट लामो समयसम्म राप्रपाले प्रतिनिधित्व गर्दै आएको छ । यहाँसम्म कि श्रीलङ्कामा सन् २०१६ मा सम्पन्न एशिया प्यासिफिक क्षेत्रको बैठकमा भारतीय जनता पार्टीले प्रष्ट भाषामा प्रस्ताव नै राख्यो, ‘नेपालबाट नेपाली कांग्रेसलाई यसको सदस्य बनाउनुपर्छ ।’ त्यो संस्थाको नियम के छ भने कुनै मुलुकको नयाँ दललाई भित्र्याउने हो भने पहिले नै सदस्य रहेको संस्था वा दलले स्वीकृति दिनुपर्छ । यसरी भारतले एकाएक प्रस्ताव राखेपछि राप्रपाले कांग्रेस सोसलिष्ट इन्टरनेशनलको सदस्य रहेको प्रमाण पेश गरेको थियो । राप्रपाको बुझाइ भारतीय संस्थापन पक्ष अझै पनि नेपाली कांग्रेसलाई बलियो बनाउने सोचमा रहेको भन्ने छ । त्यसैले ऊ राजसंस्था फर्काउने दिशामा जानै सक्दैन । बरु राप्रपाको सिधा बुझाइ त के पनि छ भने भारतीयहरू नेपालमा जसरी हुन्छ कम्युनिष्टहरुलाई कमजोर बनाउन उत्तिकै जोडतोडले लागिरहेका छन् । 

यसरी भारतले भित्रैबाट नचाहेको हुँदाहुँदै पनि किन राजावादीहरू हौसिरहेका होलान् ? कारण हो, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिएको आश्वासन । उनले सबैलाई भन्ने गरेका छन्, ‘मोदीजी कन्भिन्स्ड है, नेपालमे हर तरहसे राजसंस्था पुनस्र्थापित होगा ।’ त्यसो त सबै राजावादीलाई एकजुट बनाउन जुट्नुपर्ने राप्रपा आफैं अहिले आन्तरिक कलहको चपेटामा छ । समाचार स्रोतका अनुसार राप्रपाको पछिल्लो आन्दोलन परिचालन समितिमा सशक्त नेतृत्व गर्न धवलसमशेर जबरा प्रयासरत थिए । उनलाई अध्यक्ष राजेन्द्र लिङ्गदेनले सो कामको जिम्मेवारी आफूलाई दिने विश्वास थियो तर लिङ्देन स्वयंले नै त्यसको नेतृत्व गर्ने गरी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराए । धवलको नेतृत्वमा पनि एउटा समिति त बन्यो तर त्यसलाई कुनै प्रकारको आर्थिक तथा अन्य अधिकार थिएन । यसरी आफूलाई बिना हतियारको शिकारी बनाएको कुराले धवलसमशेरको मन कुँडियो । राप्रपाको बैठकमा एकजना नेताले भनेका थिए, ‘हाम्रो आन्दोलन न हाँसको चाल न कुखुराको चाल भयो भन्छन् मानिसहरु । आन्दोलन परिचालन प्रभावकारी भएन भन्छन् बाहिरका मानिसहरू । यसबारे अध्यक्षज्यूको धारणा के छ, सुन्न पाऊँ ।’ 

राजावादीहरूसँग आक्रोशित बन्दै माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक मन्तव्य दिएपछि राप्रपाभित्र आफ्ना शीर्ष नेताहरूको सुरक्षाबारे पनि चिन्ता बढेको छ । बैठकमै यसबारे चर्चा भएको थियो । एक जना नेताले विगतको दृष्टान्त दिँदै भने, ‘राजावादी भर्सेज गणतन्त्रवादीको ध्रुवीकरण अब बढ्दै गयो । २०४६ सालमा पनि हामीमाथि आक्रमण भएकै थियो । महोत्तरीमा आक्रमण गरे । दाङमा मार्नै खोजे । तत्कालीन नेता सूर्यबहादुर थापालाई बनेपामा सिध्याउन गाडी जलाइदिए । त्यसैले हाम्रा वरिष्ठ नेताहरूलाई सुरक्षा दिनुपर्छ । माओवादीहरू खतरनाक छन् । प्रचण्डले बोलि नै सके । सचेत बन्नुपर्छ ।’

 

टिप्पणीहरू