येशुको नाममा, सेन्ट जेभियरभित्र जे पाक्दैछ

विदेशी मिसनरीअन्तर्गत सञ्चालित ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कूलले विद्यार्थीलाई मर्का पर्नेगरी क्यान्टिन सञ्चालन सम्झौता गरेको पाइएको छ । इसाईं धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय संस्था ‘सोसाइटी अफ जिसस’ द्वारा सञ्चालित स्कूलले विद्यार्थीले खाने एक छाकमा ५० रुपैयाँँ बढाएको छ ।
विनोद चौधरीको ‘द चाँदबाग स्कूल’ मा क्यान्टिन चलाउँदै आएकी निरन्जना कार्कीसँग सेन्ट जेभियर्सले क्यान्टिन सञ्चालनको सम्झौता गरेको छ । बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा कब्जा गरेर निर्मित स्कूल गोकर्णेश्वर नगरपालिका ६, जोरपाटीतिर सरेपछि कार्की यत्तिकै बसेकी थिइन् । उनले आगामी शैक्षिक वर्षमा त्यहाँको क्यान्टिन सञ्चालन गर्नेछिन् ।
रोचक प्रसंग के भने, उनीभन्दा धेरै कम शुल्कमा खाना खुवाउनका लागि दरखास्त परेको थियो । तर, स्कूलले उनैलाई छनौट गर्यो । जावलाखेलकै सेन्ट मेरिजमा क्यान्टिन चलाउँदै आएकाले प्रतिदिन ७८ रुपैयाँँमा खाना खुवाउनेगरी दरखास्त दिएका थिए । विद्यालयले भने १२५ मा खाना खुवाउनेलाई एक वर्षका लागि जिम्मा दिएको छ ।
कार्कीको कम्पनीले १५० रुपैयाँँमा दरखास्त दिएकोमा विद्यालयले घटाएर १२५ मा सम्झौता गरेको बताइन्छ । यस्तोमा नयाँ शैक्षिक वर्षदेखि विद्यार्थीका अभिभावकले मासिक एक हजार तीन सय रुपैयाँँ बढी तिर्नुपर्ने हुन्छ । त्यति रकममा विद्यार्थीलाई भरपेट दाल, भात र तरकारी खुवाइन्छ । चारवटा शनिबार कटाएर अभिभावकले मासिक एक हजार ९५० रुपैयाँँ तिरे पुग्थ्यो । अब मासिक तीन हजार २५० रुपैयाँँ तिर्नुपर्ने अवस्था छ । स्रोतका अनुसार खानाको मूल्य बढाएकोबारे अभिभावक र विद्यार्थीलाई कुनै जानकारी छैन । वैशाख महिनाको बिल आएपछि मात्र उनीहरूले थाहा पाउने छन् ।
७८ रुपैयाँँमा खाना खुवाउनका लागि दरखास्त पर्दा विद्यालयले किन १२५ लाई चुन्यो होला त ? एक छाक खानामा ४७ रुपैयाँँ बढी तिराउनुको तुक के ? येशुको नाम लिएर विद्यार्थीलाई लुट्ने काम नगरिदिए हुन्थ्यो ।
खानाको शुल्क बढाइयो, भाडा घटाइयो
स्कूलले खानाको शुल्क बढाइरहँदा क्यान्टिन सञ्चालकसँग लिनुपर्ने भाडा भने घटाएको छ । यसअघि भाडाबापत एक लाख ७० हजार रुपैयाँँ बुझाइरहेकोमा १० हजार घटाएको पाइएको छ । ‘एकातिर खानाको शुल्क ह्वात्तै बढाइदियो, अर्कोतिर भाडा घटाइदियो– उनीहरूबीच केही सहमति भएरै यसो गरिएको होला’, स्रोतले भन्यो । यता, व्यवस्थापन हेर्दै आएका प्रशासन शाखाका कर्मचारी श्याम श्रेष्ठले कार्कीलाई क्यान्टिन चलाउन दिने निर्णय कमिटीको भएको बताए । नयाँ क्यान्टिन सञ्चालकले धेरै परिकार खुवाउने भएकाले मूल्यवृद्धि गरिएको उनको भनाइ छ । विद्यालयले पैसाभन्दा पनि खाना बनाउनेको अनुभव र परिकार हेरेको श्रेष्ठ बताउँछन् ।
भन्छन्, ‘हामीले कन्ट्याक्टमा भएका सबै कम्पनीसँग कुराकानी गर्यौं । उहाँको अनुभव धेरै रहेछ । फेरि विद्यालयको क्यान्टिन चलाउने कुरा क्याटरिङ चलाउनेजस्तो होइन । अनुभव सबैभन्दा महत्वपूर्ण हुन्छ । उहाँले आइटम पनि धेरै राख्नुभएको छ । फादरहरूको कमिटीले छनौट गरेको हो ।’
सन् १९५१ मा स्थापित सेन्ट जेभियर्स स्कूलको सिद्धान्त ‘लिभ फर गड, लिड फर नेपाल’ हो । यो एक नाफारहित संस्था हो । कक्षा १ देखि १२ सम्म पढाइने यस स्कूलले कोरोना महामारीताका मुलुकभर भएको लकडाउनको समेत शुल्क उठाएपछि चर्को विरोध भएको थियो ।
लकडाउन अवधि र अनलाइन कक्षाको शुल्क एकमुष्ठ तीन महिनाको फि खातामा जम्मा गर्न सूचना जारी गरिएको थियो । विद्यालयको भर्ना प्रक्रियालाई लिएर पनि बारम्बार प्रश्न उठ्दै आएको छ । सर्वसाधारणले प्रक्रिया पारदर्शी नभएको गुनासो गरेपछि ललितपुर महानगरपालिकाले २०७९ सालमा भर्ना रोकेको थियो । उच्चपदस्थका सन्तानलाई कोटा छुट्याएर बाँकी रहेको सिट मात्र सर्वसाधारणका सन्तानको लागि खुला गर्ने गरेको आरोप उक्त स्कूलमाथि लाग्दै आएको छ ।
टिप्पणीहरू