आफ्नै दाहिने भइदिँदा अख्तियार

अख्तियारमा सरुवा हुन निजामती कर्मचारीबीच किन होडबाजी चल्छ ? कारण स्पष्ट छ, जागिरे जीवनमा आर्जित धनलाई त्यहाँ पुगेपछि ‘मिलाउन’ सकिने । धेरै पर जान पर्दैन, अख्तियारले मुद्दा चलाएका दुई सचिवको दृष्टान्त हेरौं, कसैले अख्तियारमा बसेकै आधारमा उन्मुक्ति पाएका छन् त कोहीचाहिँ त्यहाँ नबसेकै कारण भ्रष्टाचारको भड्खालोमा जाकिएका छन् । यसलाई संयोग मात्र त पक्कै मान्न नसकिएला !
पछिल्लो एक दशकमा नियुक्त सात जना अर्थसचिव, टंगालको रातो घरबाट जम्प गरेर ‘ढुकुटी मन्त्रालय’को हर्ताकर्ता बन्न आइपुगेका छन्, तीमध्ये २ जनाउपर भ्रष्टाचार मुद्दा चल्यो, एकले क्लिन चिट पाए, अर्काे भ्रष्टाचारी ठहरिएका छन् । अर्थसचिव भएमध्ये अख्तियारको ‘छानामुनि’ बसेर कहिल्यै काम नगरेका प्रशासक हुन् शिशिर ढुंगाना र मधु मरासिनी । अख्तियारले पनि यिनै दुई भाइमाथि मात्र मुद्दा चलाएको देखिन्छ । जसमध्ये मधु क्लिन चिट पाएर पनि १६ फागुनदेखि अवकाशमा गइसकेका छन् भने शिशिर वाइडबडी प्रकरणमा दोषी ठहर भएका छन् । सानो उदाहरण हो, नेशनल पेमेन्ट गेटवे प्रकरण, जसमा अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदीलाई समेत मतियार बनाइएको थियो ।
०६९ साल जेठ ७ गतेदेखि ७० चैत ३० सम्म अर्थमा रहेका उनी टंगाल पुगेर अर्थमै फर्किए । मधु मरासिनी जुन भ्रष्टाचार प्रकरणमा मुछिए, त्यसमा मतियारका रूपमा सुवेदी पनि जोडिएका थिए । बजेटको रातो किताबमा नपरेको योजनालाई आर्थिक वर्षको अन्त्यमा निकासा गर्न भूमिका खेल्ने आफू मातहतका मधुकुमार मरासिनीलाई सघाएको भन्दै अख्तियारले ‘मतियारको कसुर गरेको’ दाबी गरेको थियो तर, पछि अख्तियारमा बसेर अख्तियारलाई सघाएको भन्दै उनीमाथि मुद्दा चलाइएन । पछि अख्तियारको निर्णयमा भनिएको छ, ‘बजेट विनियोजनका सन्दर्भमा मधुकुमार मरासिनीको भूमिका र संलग्नता स्पष्ट पारी बयान गरी, आफ्नो भए गरेको व्यहोरा सत्य खुलाई अनुसन्धानमा सहयोग गरेको हुँदा सजायँको मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेश गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।’
शिशिर ढुंगाना भ्रष्टाचारी ठहर्याइएको मुद्दामा विशेष अदालतले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटनसचिव शंकरप्रसाद अधिकारी, र पर्यटन सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी देखाएको छ । विशेषले ढुंगाना र लामिछानेलाई १ वर्ष ९ महिना कैद र १२ करोड २५ लाख ९० हजार ४५६ रूपैयाँ ९० पैसा बिगो, त्यति नै जरिवाना असुल गर्ने फैसला सुनाएको छ । ०७६ माघमा अर्थसचिव बनेका ढुंगाना त्यसअघि सुदूरपश्चिमको क्षेत्रीय प्रशासक थिए । भन्सार विभागको डिजी रहेका उनी पछि अर्थ मन्त्रालयमा छिरे भने महालेखा नियन्त्रक रहेका मरासिनीको सिधै अर्थ सचिवमा पोष्टिङ भएको थियो ।
यसरी अख्तियारमा ओत लाग्न नपुगेका मधु र शिशिरबाहेक राजन खनाल, कृष्णहरि पुष्कर, रामेश्वर दंगाल, डा. रामप्रसाद घिमिरेदेखि हालै मात्र घनश्याम उपाध्यायसम्म अख्तियारबाट अर्थमा पसेका हुन् । सचिव मात्र होइन सहसचिवको समेत अख्तियारबाटै अर्थ र गृहतिर फड्को मार्ने क्रम जारी छ । ईश्वरीप्रसाद अर्याल, नरहरि घिमिरे, माधवप्रसाद पोखरेल यसरी त्यहाँबाट गृह मन्त्रालयमा भित्रिएका छन् । यसअघि अख्तियारमा बसेका श्यामप्रसाद भण्डारी अर्थ मन्त्रालयमा प्रवक्ता छन् ।
यसअघिका अख्तियार प्रवक्ता भोला दाहाल गृहमा छन् । तुलसी सिटौला अख्तियार हुँदै सडकको डिजी भए । त्यहाँ हुँदा बदनामीमा मुछिए पनि उनीमाथि मुद्दा चलेन । खानेपानीको महानिर्देशक हुँदा ईश्वरी पौडेल खुलेआम उठाउँथे । सह–सचिव हुँदा अख्तियारमा बसेका उनी रक्षासचिव हुँदै निर्वाचन आयुक्त बने । त्यहाँ रहँदासमेत विद्युतीय मेसिन खरिदको लफडामा मुछिए । उनीहरूझैँ अधिकांश सडक, सिँचाइ, खानेपानी, सम्पत्ति शुद्धीकरण, आन्तरिक राजश्वलगायत कमाउ अड्डामा बसेकाहरू कुरा मिलाएर अख्तियारमा पुग्ने र आफूविरुद्धका उजुरीहरू तामेलीमा हाल्ने गर्दै आएका देखिन्छन् ।
टिप्पणीहरू