यसकारण कुलमानमाथि निरन्तर खनिएका छन् मन्त्री

यसकारण कुलमानमाथि निरन्तर खनिएका छन् मन्त्री
सुन्नुहोस्

केपी शर्मा ओलीको नेतृत्वमा गत असार मसान्तमा नयाँ सरकार गठन भएदेखि विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ‘हटाऊ अभियान’ जारी छ । विनोद चौधरीको आडमा ऊर्जामन्त्री बनाइएपछि संखुवासभाका कांग्रेस सांसद दिपक खड्काले कुलमानलाई हटाउन प्राधिकरणमै आफ्नो कार्यकक्षसमेत बनाएका छन् । 

पटक पटक स्पष्टीकरण सोध्दै विभिन्न बहानमा हुर्मत लिए पनि घिसिङले डराएर पद नछाड्ने अडान लिएपछि सरकार र मन्त्री खड्काले त्यसका लागि नयाँ योजना बनाउन थालेको अवस्था छ । एउटा सरकारी संस्थाको प्रमुख, त्यसमा पनि राम्रै क्षमता देखाइरहेकोलाई किन यसरी हुर्मत लिइएको होला ? एक जना कांग्रेस नेता भन्छन्, ‘भित्री कुरो मन्त्री खड्काको खस्कँदो आर्थिक अवस्था हो । सतहमा अरु बिस्कुन सुकाइएको देखिन्छ । अर्बौं लगानी तर लाखमा आम्दानी भएपछि आर्थिक अवस्थालाई ब्यालेन्स गर्न कुलमान हिषृथप् नबनेपछि रडाको मच्चिएको हो ।’

कुनै समय दिपकसँग आर्थिक कारोबार गर्ने एकजना घरजग्गा व्यवसायीका अनुसार अहिले उनले लिएको औपचारिक कर्जा मात्रै ५०० करोड अर्थात पाँच अर्ब रुपैयाँँ छ । विभिन्न बैंकबाट लिइएका ती ऋणबाहेक अन्य कम्पनी तथा व्यक्तिसँग लिएको रकम पनि उल्लेख्य छ । चुनावताका चैनपुर र खाँदबारीका होटलमा खाएको भातखर्च अहिलेसम्म तिरिएको छैन । कतिपय कर्जा घरजग्गामा, कतिपय सेयरमा लगानी गरिएकाले आम्दानीभन्दा खर्च बढी हुँदै गएको र त्यसमा सहयोग पु¥याउन गरिएको घुमाउरो आग्रहलाई कुलमानले अर्को कानले उडाइदिएपछि ‘काजी’ को कन्सिरीको रौं तातेको प्रष्ट छ । खड्कालाई सबैभन्दा धेरै ऋण नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले उपलब्ध गराएका हुन् । तत्कालीन नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृत हुँदा ढुंगानाले ठूलो गुन लगाएका थिए । अहिले उनी विनोद चौधरीको बैंक भनेर चिनिने नबिल बैंकमा सिइओ छन् । उता खड्का पनि चौधरीका हाइड्रो पार्टनरको रूपमा परिचित छन् ।

साढे दुई दशक अघिसम्म सामान्य अवस्थाका यिनी वैदेशिक रोजगार भन्दै जापान हान्निए । केही वर्षको ‘घण्टे’ परिश्रमबाट जोगिएको अलिकति पैसा झापा र काठमाडौँँका घरजग्गामा लगानी गरे । राजनीतिक माहौल त्यस्तै भएकाले केही वर्षमा जग्गाबाट राम्रै आम्दानी गरे । बूढानीलकण्ठ क्षेत्रमा गरिएको धेरै प्लटिङमा उनको साझेदारी थियो । सोही क्रममा कांग्रेसीसँग हिमचिम बढ्यो । सबैभन्दा धेरै सशांक कोइरालासँग दोस्ती जमेपछि उनलाई प्रायः साँझको ‘रमाइलो’ गराउने दिनचर्या नै बन्यो । जग्गाबाट प्राप्त केही आम्दानी हाइड्रो र होटलमा लगानी गर्न थाले । त्यसबीच लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर पार्टी प्यालेस सञ्चालन गरे । भाडा हालसम्म तिरेको देखिँदैन तर, खड्काको आर्थिक अवस्थाको ‘व्यालेन्स सिट’ लरखराउन थालेपछि ऊर्जा मन्त्रालयको जिम्मेवारीलाई अचुक अस्त्र ठानेको एकथरीको विश्लेषण छ । खड्काको वित्तीय अवस्था भनेको विभिन्न क्षेत्रमा लगानी गरियो, बैंकको अर्बौं ऋण लिइयो, आम्दानी सोचेभन्दा कम भयो र स्काउटलाई तिर्नुपर्ने रकम तिरिएन । यसबीच बूढानीलकण्ठमा पाँचतारे होटल फरेष्ट इन ठड्याइएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले केही महिनाअघि संयुक्त रूपमा उद्घाटन गरेको सो होटल सञ्चालनमा छ । 

झापाको धुलाबारीमा बनाइएको होटल इष्टर्न नेपालको उदघाटन आगामी दशैंमा गरिँदैछ । दुबै होटलमा गरेर झण्डै पाँच अर्ब रुपैयाँँ खन्याइएको छ । संखुवासभाको मेन्छियम हाइड्रोपावरका अध्यक्ष पनि हुन् । यता स्काउटलाई जग्गाको भाडाबापत हर्जनाबाहेक पाँच करोड २० लाख तिर्न बाँकी छ । 

कांग्रेस नेता शेखर कोइराला रुष्ट भएपछि नेतृ आरजूसँग एकाएक निकट भएर संखुवासभाका अरु कांग्रेसलाई लतार्दै सांसद बनेका खड्का एकैपटक ऊर्जामन्त्री बन्न सफल भएका हुन् । लगानी संकटमा परेपछि पैसाको निम्ति मन्त्री बनेपनि उपाय नष्ट भएपछि कुलमानमाथि खनिनुको विकल्प रहने कुरै भएन । तिनै जिल्लाबासी भन्छन्, ‘कुलमानले आफूलाई खड्काले पेलेको पेल्यै गर्नुको भित्री कारण सम्भवतः अवकाशपछि खोल्छन् ।’ 

यता, विनोद चौधरीसँग मिलेर जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा सेटिङ गरेको गम्भीर आरोप खड्कालाई कांग्रेसभित्रै लागेको छ । उनले किमाथाङ्का अरुण र मुगु कर्णाली हाइड्रो पावरमा पनि चलखेल गरेको आरोप लागेपछि संसद बैठकमा कुरो उठेको थियो । चौधरीको स्वार्थ जोडिएको डोल्पामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट)  निर्माण कार्यको ठेक्का आह्वानमा घाँटी जोडिएका धेरै वटा प्रमाण जनआस्थामा यसअघि नै प्रकाशित भइसकेको छ । संखुवासभाका जलविद्युत परियोजनामा चौधरीहरूसँग मिलेर लगानी गरेका उनले केही महिनाअघि बिचौलिया समूहसँगै हेलिकोप्टरमा गएर एउटा जलविद्युत उदघाटन गरेका थिए । उनै मन्त्रीले संसद बैठकमा कुलमानको रिस गर्दै भारतका कारण नेपालमा लोडसेडिङ हटेको सगर्व बताउने गरेका छन् ।
 

टिप्पणीहरू