शंकाको सुइ सोझिएपछि सुइँकुच्चा

स्थानीय तहका अयिमितता र भ्रष्टाचारको मुद्दाका निम्ति धेरै चर्चित नागार्जुन नगरपालिकामा लहरो तान्दा पहरो थर्कने देखिएको छ । नगरप्रमुख मोहनबहादुर बस्नेतले भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेसँगै स्वतः निलम्बित भएका छन् भने अनुसन्धानमा अन्य धेरै मुद्दा थाँती रहेका छन् । दर्जनौं मुद्दा अनुसन्धानमै रहेका बेला बस्नेतका सबैभन्दा विश्वासिला मानिने कर्मचारी नारायण तिमल्सिनाले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
गाविस कर्मचारीबाटै आएका तिमल्सिना बस्नेत मेयर भएसँगै उनको सचिवालय, प्रशासन शाखा र जिन्सी शाखामा लामो समय बसेका थिए भने मेयरको भित्री बाहिरी धेरै काम मिलाउनेमा पर्दथे । निलम्बनपछि पनि मेयरका तर्फबाट नगरपालिकाभित्रका धेरै कागजपत्र मिलाउनेदेखि भित्रका सूचना बाहिर लाने र नगरपालिकाभित्र दबाब सिर्जना गर्ने काममा सक्रिय भएपछि आलोचना बढेको थियो । छैटौं तहका अधिकृत तिमल्सिनाले बस्नेतको अनुसन्धान लम्बिने र मिलेमतोकाहरुको पनि अनुसन्धान बढ्ने सम्भावना भएकाले राजीनामा गरेको हुनसक्ने नगरपालिकाकै एक कर्मचारीले बताए ।
यता राजीनामा गरेसँगै तिमल्सिनाले अमेरिका जाने तयारीमा कागजपत्र बनाइरहेका छन् । जनआस्थाले यसअघि नै मेयर बस्नेतको नगरपालिकाभित्रका प्रशासनिक, खरिद तथा योजनासम्बन्धी गतिविधि र बाह्य व्यवस्थापकीय काममा समेत तिमल्सिनाको भूमिका महत्वपूर्ण रहेको समाचार प्रकाशित गरेको थियो ।
टिप्पणीहरू