जुन कुरा विद्याले बोल्न पाउनु भएन

जुन कुरा विद्याले बोल्न पाउनु भएन

आलोचनात्मक चेतयुक्त कार्यकर्तालाई कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो पुँजी मानिन्छ । स्वस्थ आलोचनाले कमजोरी आत्मसात गर्दै नेतृत्वलाई सही मार्गमा अघि बढ्न अभिप्रेरित गर्छ । तर, नेपाली राजनीतिमा भने आलोचना होइन प्रशंसामा रमाउने प्रवृत्ति हावी छ । विशेषतः कम्युनिष्टहरू यो मामिलामा अगाडि छन् ।

वरपर प्रशंसकहरूको भीड जम्मा पारेर कर्णप्रिय भनाइ सुन्न लालायित रहने नेतामध्ये एक हुनुहुन्छ, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली । विरोध पचाउन नसक्ने नेताको परिचय बनाउनुभएका उहाँ उखान–टुक्का जोडेर आलोचकमाथि तिखो र चोटिलो प्रहार गर्न खप्पिस हुनुहुन्छ । पार्टीभित्रै फरक मत राख्नेप्रति कठोर हुने ओलीको स्वभाव हो । चट्टानी अडान लिने नेताको रूपमा प्रचारित उहाँ आफूसँग असहमति राख्नेहरूको विरोध गर्न निकै रुचाउनुहुन्छ ।

प्रधानमन्त्रीका रूपमा ओलीको यो कार्यशैली देश र जनताका लागि जति घातक छ, एमालेको आन्तरिक जीवनमा पनि कम हानिकारक छैन । नवौँ महाधिवेशनबाट नेतृत्वमा आउनुभएका र एघारौँ महाधिवेशनपछि अध्यक्षमा तेहेरिने तयारी गरिरहनुभएका उहाँको नेतृत्व क्षमतामाथि प्रश्न उठिरहँदा नेकपा हुँदै एमाले विभाजनको दोषबाट मुक्त हुनुहुन्न । एमालेमा अहिले पनि अध्यक्षको रुचि प्रतिकूल बोले ‘भीम रावल’ होइन्छ भन्ने ठूलो त्रास र उकुसमुकुसको अवस्था देखिन्छ । ओलीको स्वास्थ्य स्थिति र उमेरबारे टिप्पणी गरेकै कारण कुनै समयका अन्ध समर्थक गोकुल बाँस्कोटा कर्नरमा पारिए । भाटभटेनीका मालिकसँग हात थपेर पार्टी कार्यालय बनाउने निर्णय पुनर्विचारको माग गरेबापत बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाले निलम्बनको सजायँ भोगिरहेका छन् ।

१० भाइ समूहका नेताहरूले खेप्नुपरेको सौतेनी व्यवहारको चर्चा बेलाबखत भैरहन्छ । कोमल वली, दुर्गा प्रसाईंजस्ता नवप्रवेशीलाई सिधै केन्द्रीय कमिटीमा उकालेर झापा आन्दोलनका पुराना नेता नरेश खरेल, धर्म निरौलाहरूलाई कसरी कत्लेआम गरियो भन्ने फेहरिस्त लामै छ । त्यही भएर एमालेमा ओलीको आलोचना गर्ने आँट कमैले गरेको पाइन्छ । अपवादबाहेक पदाधिकारी तहका नेताले समेत सिधा आँखा जुधाएर बहस गर्ने हिम्मत जुटाउँदैनन् । यो पृष्ठभूमिमा विरोध, आलोचना र फरक मतबाटै राजनीतिमा स्थापित भएका ओली समर्थक, शुभचिन्तक र कार्यकर्ता पंक्तिबाट प्राप्त रचनात्मक सुझावलाई कसरी अस्वीकार गर्नुहुन्छ भन्ने यौटा दृष्टान्त हेरौँ :

फागुन १९ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन कार्यक्रम आयोजना गरिएको थियो । अध्यक्षको जन्मदिन (फागुन ११) को अवसर पारेर प्रेस चौतारीका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेले निकालेको पाँच सय पृष्ठको पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विमोचन हुँदै थियो । कार्यक्रम हलमा एमाले कार्यकर्ता त भरिभराउ हुने नै भए, सामाजिक जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका मुर्धन्य व्यक्ति–व्यक्तित्व पनि उपस्थित थिए ।

डाक्टर भगवान कोइरालादेखि उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्य, हिमाल मिडियाका कनकमणि दीक्षित, बैंकर अशोक शेरचन र वरिष्ठ पत्रकार, लेखक तथा विश्लेषक कृष्णमुरारी भण्डारीसम्म निम्त्याइएको कार्यक्रममा लोकदोहोरी गायक प्रकाश सपुत र नायिका केकी अधिकारीजस्ता युवा पुस्ताले चिन्ने अनुहारलाई पनि सामेल गराइएको थियो । आफ्ना त यसै पनि छँदै छन्, परायाबाट पनि प्रशंसायुक्त कुरा भन्न लगाउने भित्री योजनाअनुसार बोलाइएका उनीहरूले त्यसैगरी बोले पनि । तर, एउटा यस्तो भाषण, जसले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई बीचैमा कार्यक्रम छोडेर हिँड्न बाध्य पारिदियो ।

ओलीले नरसिंहा बजाएर आरम्भ गरेको कार्यक्रममा वक्ताहरूले पुस्तकमाथि टिप्पणी गर्दै थिए । त्यसैक्रममा पत्रकार कृष्णमुरारी भण्डारीले ओलीको आलोचना गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री पद छोड्न सुझाव दिए । नयाँ पुस्तालाई नेतृत्व छोड्न सल्लाह दिँदै उनले अहिलेको जटिल परिस्थितिको सामना ओलीबाट नहुने आशयको चोटिलो अभिव्यक्ति दिँदा हलबाट समर्थनमा ताली बज्यो । कांग्रेससँग गठबन्धन गरेर चौथो पटक सिंहदरबार छिरेका ओलीलाई उनले ‘कुरा हैन काम’ गरेर देखाउन सुझाए ।

एमाले नेताहरूका अनुसार पूर्वउपाध्यक्ष प्रमुख अतिथि भएर आफू विशिष्टको आसनमा बस्न यसै पनि ओलीले ‘कम्फर्टेबल’ महसुस गर्नुभएको थिएन । त्यसमाथि कृष्णमुरारीको कुरा नमिठो लाग्नु स्वाभाविकै हो ।त्यसदिन पूरै समय कार्यक्रमस्थलमा बसेका उनी भन्छन्, ‘प्रमुख अतिथि विद्या भण्डारीसहित कनकमणि र निलाम्बरहरू बोल्न बाँकी नै थियो तर उहाँ कार्य व्यस्तता देखाएर हतारिंदै निस्किनुभयो । आफ्नै मञ्चमा आफ्नाबाट यस्तो आलोचना होला भन्ने शायद उहाँले सोच्नुभएको थिएन ।’ त्यसो त, उक्त कितावमा पनि कृष्णमुरारीले कडै टिप्पणी गरेका छन् । ‘ओलीमा आलोचनात्मक चेत’ शीर्षकअन्तर्गत चार हजार शब्दको टिप्पणीमा

विगतको समीक्षा, वर्तमानको अवस्था र भविश्यको सम्भावनाबारे प्रकाश पारिएको छ । कृष्णमुरारी ओलीको प्रशंसकमध्यकै एक हुन् । २०७४ सालको चुनावताका बानेश्वरको अल्फाबिटामा आयोजित एउटा कार्यक्रममा उनीसहित श्रीकृष्ण अनिरुद्र गौतम र विजयकुमार पाण्डेले ओलीको चर्को प्रशंसा गरेका थिए । उनको त्यो बेलाको भाषण ‘म प्रधानमन्त्री छँदा’ भन्ने किताबमा समेत समेटिएको र चुनावको बेला प्रयोग गरिएको थियो । ओलीकै पालामा उनी गोरखापत्र संस्थानको अध्यक्ष बन्नुलाई धेरैले त्यो घटनासँग जोडेको पाइन्छ ।

ओलीको आलोचनामा विद्या उत्साहित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन इच्छुक रहेको विषय अब नयाँ रहेन । पोहोर वैशाखमै पार्टी सदस्यता नवीकरण गराएको अवस्थाले उहाँ राजनीतिमा पुनरागमनका लागि उपयुक्त समयको पर्खाइमा रहेको बुझ्न सकिन्छ । दुई कार्यकाल गरी झण्डै साढे सात वर्ष देशको सबैभन्दा माथिल्लो पद सम्हालेकी विद्या पछिल्लो समय देश दौडाहामा हुनुहुन्छ । मदन भण्डारी फाउण्डेशनका कार्यक्रममा नियमित सहभागिता जनाउने उहाँ पार्टीका कार्यक्रममा पनि उपस्थित हुन थाल्नुभएको छ ।

राजनीतिमा फर्किन हतारिएको सन्देश दिए पनि विद्याले मुख खोलिसक्नु भएको छैन । भनिंदैछ, राजनीतिक पुनरागमनबारे उहाँका दुईवटा विकल्प छन् । ओलीसँग अन्तरसंघर्ष चर्काएर नभई सहमतिमै पार्टीमा फर्किएर नेतृत्व लिने पहिलो विकल्प हो । त्यो सम्भव नहुँदा चुनावी प्रतिस्पर्धाका लागि पनि तयार हुँदै जाने बुझिन्छ । पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तकसँग आन्तरिक भेटघाटमा यसबारे खुलेरै कुरा राख्ने उहाँले ओलीको पुस्तक विमोचन समारोहमा पनि त्यस्तो संकेत दिनुभयो ।

ओलीको प्रशंसाबाट मन्तव्य शुरु गर्नुभएकी विद्याले अडान र निष्ठाको प्रतिमूर्तिका रूपमा ओलीको चरित्र चित्रण गर्दै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टाको संज्ञा दिनुभयो । तर, अन्तिममा कम्युनिष्ट एकताको प्रसंग निकालेर दिन खोजेको सन्देश भने अर्थपूर्ण मानिएको छ । एमालेकै एकथरी नेता–कार्यकर्ताले यसलाई ओलीको नेतृत्वप्रति पूर्व राष्ट्रपतिको घुमाउरो असन्तुष्टिका रूपमा अथ्र्याइरहेका छन् । रोचक कुरा चाहिँ ओलीको आलोचना गर्ने कृष्णमुरारीले पूर्व राष्ट्रपतिबाट प्रशंसा पाए । कार्यक्रमस्थल बाहिर भेटेर विद्याले ‘मैले बोल्ने कुरा तपाईंले पो बोल्दिनुभयो’ भन्दै प्रसन्नता प्रकट गर्दा बालुवाटारका मान्छे नजिकै सुनिरहेका थिए ।
 

टिप्पणीहरू